
झापा, २ कार्तिक – सोमबार रातीदेखि लगातार आएको हावापानीले झापामा कम्तीमा ६० हजार मेट्रिकटन धान उत्पादन घट्ने कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
किसानका खेतमा धानको बोट पसाएको, पोटाएको र पाकिसकेको धान पानीमा चुर्लम्म डुब्दा उत्पादन खेर जाने केन्द्रका कृषि विज्ञ शालिकराम भट्टराईले बताएका छन् । चामल पसाएको र पोटाएको धानको बोट हावाले ढालेका कारण उत्पादनमा भारी गिरावट आउने जानकारी दिएका छन् ।

झापामा ८६ हजार ५ सय हेक्टरमा धान खेती भएको थियो । उनका अनुसार हावापानीले १३ हजार हेक्टरभन्दा बढी धान बाली भुइँमा लपटिएको अवस्थामा छ । झापामा १६ प्रतिशत धान बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाले जनाएको छ ।
धान रोपाइँ र क्षतिको विवरण हेर्दा एकै दिनको हावापानीले ६० हजार मेट्रिकटन धान सड्ने अवस्थामा पुगेको भट्टराईले बताएका छन् । पसाउन लागेको, पाक्न लागेको र काटेर खेतमा सुकाउन पाँजा बनाएर राखिएको धानमा क्षति पुगेको भट्टराईले बताए ।

’मंगलबार हामीले जिल्लाका अधिकांश पालिकामा किसानले लगाएको धानवालीको अवस्था हे¥यौं,’ उनले भने, ’क्षतिको अवस्था हेर्दा मन बुझाउने ठाउँ नै छैन् ।’ उनका अनुसार सबै पालिकाहरूमा क्षति बराबर भएको छ । हावापानी नरोकिएकाले क्षति अझ बढ्ने कृषि विज्ञ भट्टराईले जानकारी दिए ।
