
सप्तरी, २८ असोज – कञ्चनपुर–कमला खडक परियोजनाको ठेक्का पाएको चाइना रेल्वे इन्जिनियरिङ्ग २ ले आफूहरुको श्रमशोषण गरेको छ । दैनिक ८ घण्टा खटाएर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक ज्यालासम्म पनि नदिएको मजदुरहरुले बताएका छन् ।
बिचौलियाको चलखेलका कारण सडक परियोजनाले मजदुरलाई दैनिक ५५०, फोरम्यान, इन्जिनियर, सुपरभाइजरलाई दैनिक ८३३ रुपैयाँ उपलब्ध गराउने गरेको एक मजदुरले बताए । दिनभरी ८ घण्टा काममा खटाएर ज्याला भने ५५० रुपैयाँ मात्र दिने गरेको मजदुरको भनाइ छ ।
अर्का मजदुरले भने, झगाउँकै सुपरभाइजरले कम्पनीको काम हो, राम्रो हुन्छ भनेको थियो । शुरुमा दैनिक ४५० ज्याला दिएको थियो,’ उनले थपे, ’नौ महिनापछि एक सय थप गरि ५५० पुर्यायो ।’
ज्याला बढाउनभन्दा कामबाट निकाल्ने धम्की दिने गरेको उनको दुखेसो छ । बिचोलियाहरुको चलखेलले न्यूनतम ज्यालामा पनि घटाएको मजदुरको आरोप छ ।

’हामी दिनभरी सडकमा खट्नुपर्छ,’ एक इन्जिनियरले भने, ’दैनिक ८३३ रुपैयाँ दिँदै आएको छ । योजनाका प्रमुखलाई चाप्लुसी गर्ने दर्जनौंले कामै नगरी घरमा बसेर हामीसरह तलब बुझ्छन् । काममा नआउनेको मासिक तलब हुन्छ । तर खट्नेलाई दैनिक ज्यालादारीमा खटाउने गरेको र काममा आएको दिनकोमात्र ज्याला दिने गरेको एक सुपरभाइजरले सुनाए ।
काम गरे ज्याला दिन्छौं नगरे पाउँदैन भन्दै चाडपर्वमासमेत विदा नदिने गरेको मजदुरहरुले गुनासो गरे । रोजगारीको अभाव तथा तलब बढ्ने प्रलोभन देखाएकाले न्यूनतम ज्यालामा खट्न बाध्य भएको मजदूरहरुको भनाइ छ ।
चाइनिज रेल्वे इन्जिनियरिङ्ग २ मा विभिन्न क्षेत्रमा गरि दुई हजार भन्दा मजदूरहरु कार्यरत रहेका छन् । मजदुर ठगिएकोबारे कुनै पनि निकायले ध्यानाकर्षण भएको छैन । चिनियाँ ठेकेदार कम्पनीले मधेसमा यसरी आतंक मच्चाउँदा प्रदेश २ सरकार भने मौन छ ।
प्रदेश २ मा उपेन्द्र यादवको पार्टी जसपाको सरकार छ । मुख्यमन्त्री लालबाबु राउत छन् । तर यो प्रकरणमा कुनै एक्सन लिएका छैनन् ।
चीननिकट मानिने उपेन्द्र यादवले नै चुप बस्न तथा नजरअन्दाज गर्न लगाएको आशंका गरिएको छ । (नेपालपाना)
