
– सन्दीप कुमार अग्रवाल
नेपालगन्ज, १८ असोज – महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा न्याय माग्न हिँडेको बाँकेको टोली पैदल राजधानीतर्फ अघि बढ्दै गएको छ ।
असोज १ गते नेपालगन्जबाट पैदल हिँडेको टोली बुधवार दिन नवलपरासीको बर्दघाट पुगेको थियो भने शनिवार दिन चितवन पुगेको छ । यसअघि सो टोली बुटवल पुगेर लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परषिदको कार्यालय अगाडि धर्ना प्रदर्शन गरेको थियो । अहिलेसम्म उनीहरुलाई न्याय मिल्ने आश्वासन मिलेको छैन जसको कारण उनीहरुले मंगलवार राती नवलपरासीको बर्दघाट बजारको बाटोमा साइडमा रात व्यतीत गरेका थिए । अब टोली न्याय माग्न राजधानीतर्फ बढ्न शुरु गरेको छ । धर्ना प्रदर्शन गरी रहेको टोली महिला हत्या बन्द गर, दोषीलाई कारवही गर, मौन बस्ने सरकार खबरदार बन्ने किसिमको नारा लगाई अघि बढी रहेको छ ।
गत साउन ६ गते जानकी गाउँपालिका वडा नं. २ नेवाजी गाउँकी नन्कुन्नी धोबीको उनीको पति र जेठाजु लगायतबाट हत्या र नेगउमनपा १७ नं. वडा परसपुर बस्ने निर्मला कुर्मीको अपहरणपछि हत्या घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई सजायँ दिलाउन महिला अधिकारकर्मी रुबी खानको नेतृत्वमा३ हप्तासम्म निरन्तर रुपले बाँके जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएकाथियो । न्याय नपाएपछि उनीहरु असोज १ गते नेपालगन्जबाट पदल राजधानी तर्फ हिँडेका थिए ।
