
– रमेश चन्द्र कुमाल
नेपालगन्ज, २८ भाद्र – २० वर्षअघि नेपालगन्जमा हिन्दु जागृति ल्याउने व्यक्तित्व किरण सिंह बुढाथोकीको स्मृति दिवस भदौं २२ गते परेको थियो । स्व. बुढाथोकीको जन्म २०२२ असार २२ गते दिन भएको थियो ।
नेपालगन्जमा विगत समय उहाँले हिन्दु जनमानसमा ल्याएको हिन्दुत्वको जागृति अविष्मरणीय रहेको छ । २ दशकअघि उहाँले काठमाडौंबाट शिवसेनाको शाखा यहाँ ल्याई स्थापना गर्नु भएको थियो । नेपालगन्ज वडा नं. ७ मा रहेको फुल्टेक्रा ताल (शिव गउचर पानीघाट)को संरक्षण लगायत कार्य उहाँको प्रयासले नै सम्भव भएको थियो ।
अहिले नेपालको विभिन्न जिल्लामा कहि शिवसेना नेपाल नामको धार्मिक संगठन र कहिं नेपाल शिवसेना राजनीतिक दलको रुपमा कार्य गरी रहेको छ । यो देन या त राजधानीमा बस्दै आउनु भएका शिवसेना नेपालका तत्कालीन केन्द्रिय अध्यक्ष अरुण सुवेदीको थियो । या त किरण सिंह बुढाथोकीको देन हो ।
अहिले पनि नेपालगन्जमा शिवसेना नामको हिन्दुवादी संगठन छ । तर यो संस्था आफ्नो अग्रजको स्मरणमा कुनै प्रकारको कार्यक्रमको आयोजना आजसम्म गर्न सकेन । यो चाहिँ अत्यन्त दुर्भाग्यपूर्ण कुरा हो । वर्तमान समयको शिवसेनाले उहाँको योगदानको कदर गर्न नसकेपनि आजको सामना साप्ताहिकको लागि सदा चिरस्मरणीय रहेको साप्ताहिकले जनाएको छ ।
साप्ताहिकका अनुसार ‘आजको सामना साप्ताहिक पत्रिकाको उहाँ संस्थापक मध्येका व्यक्तित्व हुनुहुन्थ्यो’ भनी बताउनुभयो ।
साप्ताहिकले ‘स्व. किरण सिंह बुढाथोकीको अथक प्रयासबाट यो पत्रिका धेरै लोकप्रियता प्राप्त गरेको कदापि बिर्सन सकिँदैन । आजको सामना साप्ताहिक दिवंगत व्यक्तित्व स्व. किरण सिंह बुढाथोकीको आत्माको चिरशान्तिको कामना गर्दै उहाँप्रति हार्दिक श्रद्धाञ्जलीको पुष्प अर्पण गर्दछ’ बताउनुभयो ।

