Sunday, April 12सत्यम खबर
Shadow

नेपालगन्जमा गाईजात्रा महोत्सव भव्यताका साथ सम्पन्न

नेपालगन्ज, ७ भाद्र – बाँके जिल्लाका नेवार समुदायले वर्षभरि दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्ति, आत्माको शान्तिका लागि मनाइने गाईजात्रा पर्व आज सोमवार महोत्सवको रुपमा सम्पन्न भयो ।

बाँके जिल्लाका नेवारहरुको संगठन नेवाः पुचः बाँके, नेवाः देयः दवू बाँके र बाँके जिल्लामा रहेका ६ वटा विभिन्न गुठीहरुको संयुक्त आयोजनामा पहिलो पटक “गाईजात्रा विशेष महोत्सव” को रुपमा मनाइएको हो ।

नेपालगन्जको धम्बोझी चोकबाट यस वर्ष दिवंगत भएका नेवार समुदायका परिवारका सदस्यहरुबाट तयार गरिएका विशेष रुपमा सिंगारिएका गाईका प्रतिक बालबालिकाहरु, तायः मचा लगायतका झाँकीहरुले दिवंगतहरुको सम्झनामा तयार पारिएका निर्गुण, भजन र बाजा गाजाका साथ नगर परिक्रमा गरी बागेश्वरी मन्दिर परिसरमा विशेष कार्यक्रममा परिणत भयो ।

महोत्सवमा नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत बसोबास गर्ने वर्षभरी दिवंगत भएका व्यक्तिको सम्मान र सम्झनामा दिवंगत व्यक्तिको तस्वीर, विभिन्न झाँकी, तायः मचा समेत आफन्तजन, परिवारका सयौं सदस्यहरुको
सहभागितामा संयुक्त रुपमा निकालिएको गाईजात्राका सहभागीहरुले नगर परिक्रमा गरी बागेश्वरी मन्दिरमा दर्शन गरेर मन्दिर परिसरमा आयोजित कार्यक्रममा विभिन्न नेवार अगुवाहरुले गाईजात्राको महत्वको बारेमा प्रकाश पारेका थिए । नेपालगन्जका अतिरिक्त कोहलपुर, खजुरा र राँझामा पनि
व्यक्तिगत रुपमा गाईजात्रा निकालिएको थियो ।

र्याली प्रदर्शनपछि आयोजित समारोहमा प्रमुख अतिथि नेवाः पुच बाँकेका संस्थापक तथा पार्षद् पत्रकार पूर्ण लाल चुकेले गाईजात्रा नेपालमा मनाइने पर्वहरु मध्ये महत्वपूर्ण राष्ट्रिय साँस्कृतिक पर्व हो भन्दै यो पर्व नेवारी संस्कृति र संस्कारबाट प्रारम्भ भएकोले खासगरी काठमाडौं उपत्यकाका तीन शहर र पछि नेवारहरूको बसोबास भएका देशका अन्य शहर बजारहरूमा विशेष महत्वका साथ मनाइने गरेको बताए ।

नेवार समुदायमा वर्षदिन भित्र दिवंगत भएका पितृहरूको सम्मान, सम्झना तथा मुक्तिका लागि गाईजात्रा मनाउने प्रचलन रही आएको छ । प्रत्येक वर्ष जनैपूर्णिमाको भोलिपल्ट अर्थात् भाद्र कृष्णपक्ष प्रतिपदादेखि अष्टमीसम्म यो पर्व यसरी गाई जात्रा मनाउनुको रोचक ऐतिहासिक प्रशंगको चर्चा गर्दै ऐतिहासिक तथ्यका आधारमा मध्ययुग अर्थात् आज भन्दा ३८० वर्ष पूर्व विक्रम सम्वत् १६९८ मा तत्कालीन राजा प्रताप मल्लले गाईजात्रा मनाउने चलन बसाएको बताउँदै पार्षद् चुकेले मल्ल राजाका मृत्यु भएका छोराको शोकले विह्वल भएकी आफ्नी रानीलाई मानिस जन्मे पछि एक पटक मर्नै पर्छ भन्ने वोध गराउनका लागि अनेक उपाय गर्ने क्रममा काठमाडौं उपत्यकाका नेवारहरुलाई भाद्र कृष्णपक्ष प्रतिपदाको दिन आफ्ना मृतक सदस्यको सम्झनामा “गाईजात्रा” निकाली शहर परिक्रमा गर्न लगाएका थिए ।

गाईको भेषमा, विभिन्न देवीदेवताको रंगीचङ्गी पोशाक लगाएर सिंगारिएका बालबालिकाहरु हरेक मृतकका आफन्तहरू घर–घरबाट निस्किएर जात्रामा सहभागी बनेको देखेपछि रानीको शोक केही कम भएको र त्यसपछि हरेक वर्ष गाईजात्रा मनाउने परम्पराको शुरुवात भएको चर्चा पार्षद् चुकेले गरे । उनले पछिल्लो समयमा गाईजात्रा हाँस्यव्यंग्य विधालाई उजागर गर्ने पर्वका रूपमा पनि स्थापित हुँदै आएको र सो पर्वको अवसरमा नेपालका विभिन्न पत्रपत्रिकाले हाँस्यव्यंग्यका विशेषाङ्क प्रकाशित गर्ने गरेको र हाँस्य कलाकारहरूले समाज र राष्ट्रमा हुने गरेका विकृति– विसंगतिलाई व्यंग्यात्मक प्रहसन मार्फत् औंल्याउने गरेको पनि उल्लेख गरे ।

सो अवसरमा विशिष्ठ अतिथि नेवाः देयः दवू बाँकेका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले अहिलेसम्म नेवाः पुचः बाँकेको अगुवाईमा दिवंगत व्यक्तिका परिवारले निकाल्ने गरेको
गाईजात्राको साँस्कृति महत्वलाई उजागर गर्न र नेवार संस्कृतिको जगेर्ना गर्नका लागि नेवाः देयः दवू बाँके, नेवाः पुचः बाँके र गुठीहरुले संयुक्त रुपमा गाईजात्रालाई विशेष रुपमा मनाउने परम्पराको थालनी गरिएको बताउनु भयो ।
नेवाः पुचः बाँकेकी अध्यक्ष नन श्रेष्ठको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष जीतेन्दू जोशीले स्वागत भाषण र कार्यक्रम सञ्चालन विवेक श्रेष्ठले गरेका थिए ।

उल्लेखनीय छ, गाईजात्रामा नेवाः पुचः बाँकेका प्रमुख पार्षद् स्व. राम नारायण श्रेष्ठ, सल्लाहकार गिरिधर श्रेष्ठ, नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठका स्वर्गीय बुवा, सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठकी स्वर्गी पत्नी, सदस्य चन्द्र श्रेष्ठकी स्वर्गीय पत्नी लगायत दुई दर्जन दिवंगतहरुको सम्झनामा उनीहरुको आत्मा शान्तिको लागि मनाउने गरिन्छ । शान्तिका लागि गाईको भेषमा, विभिन्न देवीदेवताको रंगीचङ्गी पोशाक लगाएर सिंगारिएका बालबालिकाहरु सहितका झाँकीहरु प्रदर्शन गरिएको सल्लाहकार ज्ञानेन्द्र श्रेष्ठले बताए ।

काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ, म्याग्दी, सुनसरी, मोरङ लगायतका नेवार बाहुल्य भएको शहर बजारमा नेवारी परम्परा अनुसार गाईजात्रा मनाउने प्रचलन कायमै छ । नेवारहरुको छाता संगठन नेवाः देयः दवूको माग र दवावमा नेपाल सरकारले यस वर्ष गाई जात्रा पर्वलाई राष्ट्रिय साँस्कृतिक पर्वको रुपमा घोषणा गरी सार्वजनिक विदा दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *