
विद्रोही
नेपालगन्ज, २५ श्रावण – दाइजोको कारण एक महिलाको हत्या उनको पति र जेठाजु लगायतले मिलेर गरेको कुरा सार्वजनिक भएको छ ।
बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँमा बस्ने नन्कुन्नी धोबीलाई उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतवारी धोबी लगायतले मिलेर हत्या गरेको आरोप रहेको छ ।
दाइजोबाट पीडित नन्कुन्नी धोबीलाई उनका श्रीमान, जेठाजु लगायतले प्रताडित गर्न थालेपछि नन्कुन्नी धोबीका भाई माता प्रसाद धोबी, बुवा छोट्टन धोबीले जोगागाउँ प्रहरी चौकीमा उजुरी गरेका थिए । जसमा प्रहरीको पहलमा मिलापत्र गराई नन्कुन्नी धोबीलाई उनको पतिसँग बस्ने व्यवस्था मिलाइएको थियो । सोपछि नन्कुन्नी धोबीका पति लगायतले आफ्नो माइतीबाट मोटरसाइकल दाइजोमा लिएर आउ भनि दबाव दिँदै आएका थिए ।

विद्रोही
नन्कुन्नी धोबीका भाई र बुवाले छोरीको बिहे हुँदा धेरै दाइजो क्षमता अनुसार दिएका थिए अहिले उनको आर्थिक अवस्था बिग्रेको हुँदा मोटरसाइकल माग अनुसार दिन सकेनन् अहिले २०७८ श्रावण ६ गते नन्कुन्नी धोबीलाई पासो लगाई हत्या गरिएको छ ।
उनको शरीरभरी नीलडाम परेको देखिन्छ तर प्रहरी भने यसलाई ढाकछोप गर्ने प्रयासमा लागेको देखिन्छ । न्याय पाउन पीडित परिवार बाँके जिल्ला प्रहरी कार्यालयमा पुगी जाहेरी दर्ता गराउन जाँदा प्रहरीले जाहेरी दर्ता गरेन उल्टै अधिकारकर्मी रुबी खान, मृतक महिलाको भाई माताप्रसाद धोबी, बुवा छोट्टन धोबीलाई धकेली अपमान गरी फिर्ता पठाएको छ ।
गत हप्ता पीडित परिवारले नेपालगन्जमा एक प्रेस सम्मेलनको आयोजना गरी संचारकर्मीहरु समक्ष न्याय दिलाई पाउन गुहारेका छन् । दाइजोको कारण मृतक नन्कुन्नी धोबीलाई २०७८ असार ७ बाट प्रताडित पार्ने काम शुरु भएको थियो । मृतक महिलाको बिहेपछि कुनै सन्तान नभएको कारणले पनि प्रताडना बढेको बुझिएको छ ।
नेपालगन्जमा यो हत्या घटनालाई प्रहरीले आत्महत्या घटना देखाउने प्रयास शुरु गरेपछि यसको यहाँ चर्काे विरोध हुन शुरु भएको छ ।
