
– रमेश चन्द्र कुमाल
नेपालगन्ज, ३१ जेष्ठ – नोभल कोरोना भाइरस कोभिड–१९ को संक्रमणको कारण २ महिनादेखि निषेधाज्ञा र लकडाउन छ । यस निषेधाज्ञा र लकडाउनको कारण जनताको आर्थिक अवस्था कमजोर बनेको छ । अहिले जनतालाई २ छाक टार्न गाह्रो परी रहेको समय सामाजिक संस्थाहरु गरीब, निरीह र विपन्न वर्गको ज्यान जोगाउन सक्रिय भएका छन् ।

फाईल फोटो
नेपालगञ्ज मुस्लिम समाज, बाँके र गुरुद्वारा कमिटी लगायतले त्यस्ता वर्गलाई खाना उपलब्ध गराउनतर्फ लागेका छन् । सरकारी निकायले यस्ता वर्गलाई राहत दिन कुनै चासो राखेको छैनन् । विगत वर्ष नेपालगञ्ज उमनपाका विभिन्न वडा समितिबा केही खाद्यान्न राहत स्वरुप बाँडिएको थियो यस पटक त्यस्तो कार्य नगरिएकोले नागरिक घरभित्रै भोकभोकै बस्न बाध्य छन् यस कारण अब उनीहरुले हार गुहार गर्न थालेका छन् धेरै भयो सरकार अब निषेधाज्ञा लकडाउन खुकुलो पारी देउ सरकार ।
अहिले यही स्थिति छ अधिकांशहरुको कारोबार यहाँ ठप्प रहेकोले उनीको घरमा चुलो बल्न छाडेको छ । यसमा केहीहरु यस्ता छन् जसको अगाडितर्फको पसलको शटरमा लकडाउन छ तर पछाडि घरको ढोकाबाट निर्वाध ढंगले कारोबार चली रहेको छ । यस प्रकार केहीहरुको लागि निषेधाज्ञा वरदान र अधिकांशको लागि अभिषाप जस्तो बनेको छ ।
नेपालगञ्ज उमनपाभित्र संचालित किराना, खाद्यान्न, औषधि, तरकारी, फलफूलको पसल दिउँसो १२ बजेसम्म संचालन हुन पाएको छ । यिनीहरु उल्लेख्य रुपमा कारोबार गरी मालामाल बनेका छन् तर विभिन्न कपडा पसल, रेडिमेड कपडा, सुनचाँदी पसल, भाडाकुडा, कस्मेटिक लगायतको पसल भने खुल्न पाएको छैन यस्ता पसलको अगाडिको शटरमा लकडाउन रहने गर्छ तर जसको पसलको पछाडि पट्टि ढोका छ उनीहरु महँगो मूल्यमा सरसामान बिक्री गरी लाभान्वित बनेका छन् ।
त्यसो त नगरको विभिन्न पसलहरु अगाडि भागको थोरै शटर खोलेर बसेका हुन्छन् कुनै ग्राहक देखापर्दै नै बोलाई भित्र लगी सरसामान बिक्री गर्दै आएको देखिएको छ । यसरी नेपालगञ्ज उमनपाभित्रको निषेधाज्ञा र लकडाउन एउटा नौटंकी जस्तो साबित भएको छ । बाहिरबाट देख्दा पसल बन्द र भित्र थुप्रै ग्राहक सरसामान खरीद गरी रहेको पाइन्छ । यस निषेधाज्ञा र लकडाउनबाट सोझासाझा नागरिक प्रताडित बनेका छन् । आफ्नो कारोबार पूर्ण रुपले बन्द गरेका यस्ताहरुको आर्थिक अवस्था बिग्रिएको छ ।
कोरोनाबाट समस्यामा पर्ने अधिकांश मजदूर, श्रमिक वर्ग रहेका छन् । उनीहरुको रोजगार गुमेको छ । सरकारसँग राहत पाउने आशा हटेको छ । यस कारण अब त्यस्ताहरु कहिले निषेधाज्ञा, लकडाउन हट्ने बाटो जोहदै छन् ।
यहाँ आजसम्मको निषेधाज्ञा, लकडाउन छ । नेपालगञ्जमा कारोना घटेको छ तर निषेधाज्ञा, लकडाउन हटेको छैन तर पनि नागरिकहरु अब यो हट्नुपर्ने सोच राखेका छन् । तसर्थ, अब सरकारले लकडाउन, निषेधाज्ञा केही खुकुलो पार्ने जरुरी भई सकेको देखिन्छ ।

