
प्रहलाद विश्वकर्मा
नेपालगंज ३१ जेष्ठ, ‘रक्तदान गरौं, विश्वलाई चलायमान राखौं’ भन्ने मुलनाराका साथ विश्व रक्तदाता दिवस आज नेपालगंजमा मनाइएको छ ।
दिवसका अवसरमा नियमित त्रैमासिक संस्थागत रक्तदाता जनमत अर्धसाप्ताहिक, नेरेसो कोहलपुर उपशाखा, कोहलपुर जेसिस, ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर, कोभिड खाद्य बैंक कोहलपुर, कोहलपुर सृजनशिल रक्तदान समूह, र नेपाल भारत मैत्री संघ कोहलपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
यसैगरी दिवसको सन्र्दभ परेर साप्ताहिक रुपमा रक्तदान कार्यक्रम भैरहेको छ । साप्ताहिक रुपमा रक्तदान गर्ने निकायहरुमा कसौंधन वैश्य समाज बाँके, साहु समाज समिति बाँके र योङ्ग कम्निष्ट लिग बाँके रहेको छ । उक्त कार्यक्रममा ११ महिला र २ सय ३८ जना पुरुषले रक्तदान गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्र्धन सिंह सम्झनाले रगतको अभावमा कसैको मृत्यु न भएको र रगत आपूर्ति व्यवस्थापनका लागि रेडक्रस हरसम्भव प्रयासरत रहने बताउनु भयो ।
नेरेसो स्वास्थ्य समिति संयोजक राजकुमार वर्माले स्वयंसेवी र संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्दै कोभिड–१९ को जोखिम वर्तमान अवस्थामा विद्यामान रहेकोले जनस्वास्थ्य मापदण्ड सबैले पालना गर्न स्मरण गराउनु भयो ।
कार्यक्रममा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्वत, जनमत अर्धसाप्ताहिकका सम्पादक पूर्णलाल चुके लगायत स्वयंसेवी रक्तदाताहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।



