
नेपालगन्ज, १४ जेष्ठ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कपिलवस्तुमा हत्या गरिएका माओवादी केन्द्रका जिल्ला सदस्य दीपक पाण्डेको हत्यारालाई कानूनी दायरामा ल्याई हदैसम्म कार्यवाईको माग गरेका छन् ।
आज शुक्रबार विज्ञप्ति प्रकाशित गरी मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै अध्यक्ष प्रचण्डले प्रहरी हिरासतमा रहेका दोषीहरुलाई कानूनी कार्यवाई गर्न र फरार रहेको दोषीलाई चाडै अनुसन्धान गरी सार्वजनिक गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछु भनी उल्लेख गरिएकाे छ ।
गत बुधबार कपिलवस्तु नगरपालिकाको सडवा गाउँमा ३ जना हत्याराहरु मिलेर पाण्डेलाई गोली हानेका थिए । घाइते पाण्डेको भैरहवा र काठमाण्डौमा उपचारको क्रममा मृत्यु भएको छ ।
हत्याको आरोपमा लुम्बिनी प्रदेश सभा सदस्य सहसराम यादवका स्वकीय सचिव ओमप्रकाश यादव र सकीर अलि प्रहरीको हिरासतमा छन् भने घटनामा संलग्न एक जना फरार रहेको र अनुसन्धान भैरहेको कुरा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
