
मिति २०७८ जेष्ठ ३ गते
“विद्रोही”

अहिले नोभल कोरोना भाइरसको दोस्रो वेभबाट नै हामीहरुको धेरै नै हानी नोक्सानी भई सकेको छ यसबीच कोरोनाको तेस्रो वेभ पनि आउने वैज्ञानिकहरुको अनुमान रहेकोले हामीमा थप डर त्रास बढेको छ । कोरोनाको पहिलो वेभ २०७६ मा आउँदा चैत्र ११ गते देखि सरकारले लकडाउन लगाएको थियो । यो लकडाउन कार्तिक सम्म रह्यो । मंसिर महिनातर्फ यहाँको जनजीवन साम्य बन्यो ३ महिनासम्म केही सन्तोषको स्थितिमा जीवन गुजार्ने मौका मिले पनि फेरी चैत्रदेखि नयाँ भेरियन्टको कोरोनाको दोस्रो वेभ आयो यसमा हामीले आफ्नो थुप्रै साथीभाई इष्टमित्र परिवार सदस्यलाई गुमाएका छौं ।
एउटा कुरा वास्तविक रुपमा भनियो भने पाइन्छ कि मंसिर महिनादेखि फागुनसम्म यति हामी निश्चिन्त भई बसेका थियौं कि अब कोरोना फेरी आउँदैन हामी निश्चिन्त भएर आ–आफ्नो कार्यमा लाग्यौं फेरी चैत्र लाग्दैनै नयाँ भेरियन्टको कोरोनाको दोस्रो वेभ आयो र सबैलाई नै अस्त व्यस्त पा¥यो ।
हामी पहिलेदेखि कोरोनाप्रति सचेत र सजग भएनौं सचेत र सजग भए यति हामी नोक्सानी झेल्नुपर्ने थिएन । हामीले पूर्व तयारीहरु गर्दै नेपाल भारत सीमा नाका नजीक क्वारेन्टाइनको स्थापना गर्नु पथ्र्याै तर गरेनौं भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोनाबाट भारी संख्यामा व्यक्तिहरुको मृत्यु भई रहेको थियो यस कुराको जानकारी पनि थियो तर भारतबाट आउनेहरुलाई नेपाल भारत सीमामा रोक्न सकेनौं । व्यक्ति सिटामोल, एण्टीबायोटिक औषधि खाई सीमामा पुग्दै रहे हामीकहाँ स्थापित हेल्प डेस्कले उनीहरुको शरीरको सामान्य तापक्रम लिई नेपालगञ्ज उमनपाभित्र पस्न दियो यसैको परिणाम आज सामुन्ने छ यहाँ कोरोना नियन्त्रण भन्दा बाहिर गई सकेको छ । आज कुनै यस्तो घर बचेको छैन जसको १ जना परिवार सदस्य संक्रमित नबनेको होस् । आज स्थिति यो छ कि १ घरमा ४–४ जना परिवार सदस्यको मृत्यु भएको छ । कतिपय व्यक्ति यस्तो पनि थिए जसको कोरोनाले मृत्यु भयो तर परिवार सदस्यले आफ्नो मृतक व्यक्तिको मुखसम्म हेर्न पाएनन् । यस्तो दुःखद स्थिति छ यहाँ ।
यस समयमा हाम्रो डाक्टर, नर्सहरु आफ्नो ज्यानको पर्वाह नगरी दिनरात बेरामीलाई बचाउन प्रयासमा लागी रहेको देखिए नर्सहरु आफे पनि संक्रमित रहे तर बेरामीको ज्यान बचाउने आफ्नो कर्तव्य पथमा हिँड्दै रहे तर भन्ने गरिन्छ कोरोना बेर अबेर एक दिन अवश्य नै जानेछ तर सबै भन्दा ठूलो कोरोना भाइरस हाम्रो सिष्टममा देखियो । पहिलो चरणमा भ्याक्सीन स्वास्थ्यकर्मी र सफाईकर्मी लाई लगाइयो त्यसपछि केही संचारकर्मी हरुलाई पनि प्राथमिकताको आधारमा लगाइयो त्यस्तै ६५ वर्ष भन्दा माथिका व्यक्तिलाई पनि भ्याक्सीन लगाउने भनिएको थियो तर ६५ वर्ष भन्दा माथि आयुका कमै जनालाई सो भ्याक्सीन लाग्यो पहिलो चरणमा आएको आएको भ्याक्सीन सहयोगमा आएको थियो ।
दोस्रो चरणमा यो भ्याक्सीन खरीद गर्न नेकपा एमालेको अति नजीक रहेका एक व्यापारीलाई स्वीकृति सरकारले दियो यो भ्याक्सीन खरीदमा १० प्रतिशत कमीशन माग गरियो जसको कारण भ्याक्सीन खरीद कार्यलाई रद्द गरियो । कमीशनको खेलको कारण यहाँ दोस्रो चरणको भ्याक्सीन लगाउन सकिएको छैन जसको कारण अनगिनत भारी संख्यामा नेपाली नागरिकको मृत्यु भइरहेको छ यसको दोषी को हो यो कुराको छानबीन गरी दोषीलाई कडा सजायँ दिलाउनु जरुरी छ । हाम्रो सिष्टममा ठूलो खराबी रहेकोले चारैतर्फ भ्रष्टाचार, घुसखोरी विद्यमान छ जसको कारण सबै भन्दा ठूलो कोरोना हाम्रो सिष्टममा खराबी रहेको बुझ्न सकिन्छ।
प्रधानमन्त्री भन्छन् भ्याक्सीन खरीदमा कमीशनखोरी भएको कुरा मलाई जानकारी छैन । कसैलाई सो कमीशनखोरको नाम थाह भए मलाई बताइ दिनोस् । उहाँको यो भनाई–चोर भन्दाखेरी चोरी भएको प्रमाण प्रस्तुत गर्नुपर्छ यो चोरीको प्रमाण छैन तर उहाँले भ्याक्सीन अहिले सम्म किन आएन यो बताई दिए ठीक हुन्थ्यो । कोरोनाको दोस्रो वेभले सबैलाई अस्त व्यस्त बनाई दिएको छ । अहिले को जिउँदो रहन्छ को मर्छ यसको ठेगान छैन । यहाँ रोजिन्दा १०–१२ जनाको मृत्यु भइ रहेको छ । हामी दोस्रो वेभको कोरोनाबाट नै अति थाकी सकेका छौं यस कारण तेस्रो वेभको कोरोनामाथि बढी अडकलबाजी किन गर्ने
त ? जब तेस्रो वेभको कोरोना आउँछ त्यससमय देखिनेछ अहिले दोस्रो वेभको कोरोनाबाट बच्ने प्रयास गरौं । यहाँ सरकारको उपस्थिति रहेको देखिँदैन । औषधि, बेड, अक्सीजन सिलिण्डर सबैको नै अभाव भई सकेको छ यस कारण अब आफूलाई बचाउन आत्मबल पैदा गरौं, कोरोनाबाट लड्ने क्षमता आफूमा पैदा गरौं डरको त्याग गरौं धेरै डर माने मुटुको ढुकढुकी बन्द हुने डर हुन्छ ।
यस कारण अहिले पनि समय छ एकान्तवास गरौं, सामाजिक दूरीको पालन गरौं, पटक पटक साबुन पानीले हात धुने बानी बसालौं । यति कर्म गरे कोरोनाबाट केही बच्न सकिन्छ सफाई, दवाई र कडाईको धेरै नै आवश्यकता छ । यो गर्न सके कोरोनाबाट बच्न सकिन्छ । बचेपछि तेस्रो वेभको कोरोनासँग लड्ने उपाय सोचौंला त्यसो पनि यो सरकारले जनताको ज्यान बचाउँछ यो नसोचे पनि हुन्छ ।
