
कोरोना संक्रमितको मृत्युदरलाई विभिन्न माध्यम अपनाएर सकेसम्म कम गर्नु अहिलेको आवश्यकता हो । किनभने खोप उपलब्ध नभएसम्म यस्ता विकल्पहरू नै अपाउनु पर्ने हुन्छ ।
केही दिनयता मृत्यु भएकाहरूको उमेर समूह हेर्ने हो भने ६० वर्ष भन्दामाथिकाहरू नै बढी छन् । र, तीमध्ये अधिकांश दीर्घ रोग भएका छन् । हाल संक्रमितमा लक्षण नदेखिए वा सामान्य अवस्था देखिए ‘होम आइसोलेसन’ बस्न भनिएको छ ।

परिवारको कुनै सदस्यलाई संक्रमण देखिए संक्रमितलाई अलग्गै कोठामा राखिने गरिन्छ । यदि परिवारका वृद्धवृद्धा संक्रमित भए उनीहरू पनि छुट्टै बस्नुपर्ने हुन्छ । तर, त्यसरी छुट्टै बस्दा उनीहरूले परिवारका सदस्यलाई आफूले भोगेको समस्या तुरुन्त बताउँदैनन् । यही अवस्थाबाट परिवारका ज्येष्ठ सदस्य र अरू सदस्यबीच ‘कम्युनिकेसन ग्याप’ सुरू हुन्छ ।
कोरोना महामारीको सुरुवाती समयमा जो कोही संक्रमितलाई (लक्षणविहीन भए पनि) अस्पतालमा राख्ने गरिन्थ्यो ।
अस्पतालमा रहँदा स्वस्थाकर्मीहरूको निगरानी हुने भएकाले जटिल अवस्था हुने सम्भावना कम अथवा भए पनि तुरून्त उपचार पाउने गर्थे ।
तर, संक्रमितहरूको संख्या बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुँदा संक्रमितहरू सामान्य लक्षण हुँदा पनि घरमै बस्ने निर्देशिका बनाइयो । जसका कारण दुइटा समस्या निम्तिएको देखिन्छ । पहिलो संक्रमण पुष्टि भए पनि होम आइसोलेसनमा नबस्ने र दोस्रो भनेको परिवारबीच ‘कम्युनिकेसन ग्याप’ ।
केही दिनअघि एक व्यक्ति अस्पताल परिसरमा आएर हातमा बोकेको पर्चा देखाउँदै रिपोर्ट हेरिदिन अनुरोध गरे । रिपोर्टमा कोरोना पोजेटिभ थियो । सामान्यतः पोजेटिभ व्यक्ति छिटोभन्दा छिटो अलग्गै कोठामा बस्न सकोस् भनेर रिपोर्ट एसएमएसमार्फत् पठाइने गरिन्छ । तर, उनी होम आइसोलेसनमा नबसी अस्पतालसम्म आइपुगेका थिए ।
घरबाट अस्पतालसम्म आइपुग्न उनी सार्वजनिकस्थल, बस हुँदै आएका थिए । यसरी संक्रमितहरू खुलेआम हिँड्दा होम आइसोलेसनको उद्देश्य पूरा हुँदैन । यसको मुख्य कारण भनेको सम्बन्धित निकायबाट कडा अनुगमन नहुनु नै हो । यसको विकल्प तत्काल नसोचिए संक्रमणको चक्र निरन्तर रहन सक्छ । उमेर हदको कारणले वृद्धवृद्धाहरू, परिवारका अन्य सदस्यसँग निरन्तर कुराकानीमा खासै रूची दिएको पाइँदैन । र, घरका सक्रिय सदस्य पनि आफ्ना व्यापार व्यवसाय, कार्यालय काम र व्यस्तताले गर्दा वृद्धवृद्धाको अवस्था बुझ्न खासै चासो दिएको पाइँदैन ।
केही दिनअगाडि एक मित्रले आफ्नो छिमेकीको बुवा कोरोना पुष्टि भएपछि छुट्टै कोठामा बसेको तर स्वासप्रश्वासमा एकाएक समस्या भएपछि मात्र थाहा हुँदा अस्पताल लैजान ढिलो भएका कारण मृत्यु भएको सुनाएका थिए । उनका अनुसार बुवाले संक्रमित हुँदाको अवस्थामा श्वासप्रश्वासमा समस्या नआएसम्म परिवारका सदस्यलाई कुनै जानकारी नगराएको र परिवारका सदस्यले पनि बुवाले समस्या भए पनि आफैं भनिहाल्नुहुन्छ भन्ने सोचेको देखिन्छ । यहीँ नै संक्रमित र अन्य सदस्यबीच ‘कम्युनिकेसन ग्याप’ भएको देखिन्छ ।
जाडो महिना सुरू भएलगत्तै कोरोनाको कारणले मृत्यु हुनेहरूको संख्या ह्वात्तै बढेको छ । अस्पतालमा पनि मृत्यु हुनेमा अधिकांश ६० वर्ष भन्दामाथिका
छन् । मृत्युको संख्याले जाडो महिनाभरि यही गतिमा निरन्तरता पाउँछ वा मत्थर हुन्छ भनेर यकिनका साथ अहिले नै अनुमान गर्न सक्ने अवस्था छैन ।
जाडो महिनामा यसै पनि दीर्घरोगी तथा वृद्धहरूमा निमोनिया बढी हुने गर्दछ । सन् २०१९ मा काठमाडौंमा गरिएको एक अनुसन्धान लेखले अधिकांशमा निमोनिया गर्मीमा भन्दा जाडो मौसमा बढी हुने गरेको नतिजा देखाएको थियो । ती बिरामीहरूमा फ्लू तथा निमोनियाविरुद्धको खोप लगाइएको भने थिएन ।
कोरोना भाइरसको महामारी नभएको भए अहिले स्वस्थाकर्मीहरूले निमोनियाबाट विशेष गरेर दीर्घरोगी, वृद्धहरूलाई बच्न सचेत हुन आग्रह गरिरहेको हुन्थे होला । हाल होम आइसोलेसनमा बस्ने हजारौं सक्रमितहरूको प्रभावकारी अनुगमन हुनसकेको छैन र संक्रमितहरू घरबाहिर जथाभावी घुमिरहेका
छन् । जसले गर्दा संक्रमणको तीव्रतालाई ब्रेक लगाउन ठूलो चुनौती खडा भएको छ । यसको मुख्य कारण शारीरिक कमजोरी, दीर्घरोगका साथसाथै पारिवारिक ‘कम्युनिकेसन ग्याप’ भइदिँदा अस्पताल पु¥याउन ढिला भई मृत्युवरण गर्नु परेका छन् । यस्तो अवस्थामा आइसियूरभेन्टिलेटर पनि सहयोगी भएको देखिँदैन ।
होम आइसोलेसनको विकल्प तत्काल नहुने र पाका उमेरका व्यक्ति नै सबैभन्दा बढी कोरोनाको जोखिममा हुने गर्दा परिवारका अरू सदस्यहरूले उहाँहरूको स्वास्थ्य समस्याबारे निरन्तर चासो, संवाद गर्दा मृत्युको संख्यालाई धेरै हदसम्म कम गर्न
सकिन्छ ।
(पुन क्लिनिकल रिसर्च युनिट शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर हुन् ।)
स्रो.ः सेतोपाटी अनलाईनबाट)
