
मधुमेह सचेतना महिना नोभेम्बर उत्तरार्धमा छ । यसै अवसरमा देश तथा विदेशमा मधुमेह सम्बन्धी विभिन्न कार्यक्रम गरिए । हामीकहाँ पनि पछिल्लो समयमा मधुमेह लगायत अन्य थुप्रै नसर्ने दीर्घरोगको संख्या र चासोमा उल्लेखनीय वृद्धि देख्न सकिन्छ ।
मधुमेहका बिरामी लगभग हरेक घर–परिवारमा भेटिने अवस्थासम्म आइपुग्दा पनि यस रोगसम्बन्धी जनमानसमा रहेको चेतनाको स्तर खासै उपयुक्त र पर्याप्त भएको भने पाइँदैन । अझै पनि धेरै मान्छेहरुमा मधुमेह रोगप्रति आ–आफ्नै पूर्वाग्रही धारणा रहेका
छन् । स्वयं मधुमेहका बिरामीले पनि यस रोगको बारेमा पर्याप्त जानकारी र परामर्श नपाएको हो कि भन्ने महसुस हुन्छ ।

यसै अवस्थामा, मधुमेह सम्बन्धी आम मानिसमा रहेका मान्यता र प्रमाणित तर्कहरुका माध्यमले ती मान्यताको विश्लेषण गर्ने कोसिस यो लेखद्वारा गर्न खोजिएको छ ।
धारणा १ ः मधुमेह वृद्ध अवस्थामा मात्र वा उमेर बढ्दै जाँदा मात्र लाग्ने रोग हो ।
विश्लेषण ः साधारण रुपमा बुझ्दा मधुमेहमा दुई अवस्था हुन्छन् पहिलो, इन्सुलिन नामक रसायन पर्याप्त मात्रामा अग्नासयले निकाल्न नसकेको अवस्था र दोस्रो, अग्नासयले निकालेको इन्सुलिनलाई शरीरका कोषले उपयुक्त रुपमा उपयोग गर्न नसकेको अवस्था ।
पहिलो प्रायः टाइप–१ मधुमेहमा हुन्छ भने दोस्रो मुख्यतस् टाइप–२ को विशेषता हो । हामीकहाँ धेरै देखिने र मान्छेलाई धेरै थाहा भएको चाहिँ टाइप–२ मधुमेह हो । टाइप–२ मधुमेह उमेर बढ्दै जाँदा, विशेषगरी खानपान र जीवनशैलीका कारणले, वयस्कहरुमा लाग्ने रोग हो । तर टाइप–१ मधुमेह भने सानै उमेरदेखि नै देखिने गर्छ ।
बालक अथवा किशोर अवस्थामा पनि मधुमेह लाग्छ भन्ने सुन्दा कतिलाई अचम्म पनि लाग्न सक्छ । तर विश्वभरि यस रोगका बिरामीमा धेरै बालबालिका र किशोरकिशोरी पनि पर्ने गर्छन् । टाइप–१ मधुमेहका अधिकांश बिरामीलाई इन्सुलिनको सुईको आवश्यकता पर्ने गर्छ ।
त्यस्तै, कुनै पनि उमेरका गर्भवती महिलामा पनि कहिलेकाहीँ अचानक मधुमेह देखिने हुनसक्छ । यसलाई ‘जेस्टेसनल डायबिटिज’ भन्ने गरिन्छ । हाल विश्वमा नवजातमा देखिने मधुमेह जस्ता विभिन्न खालका मधुमेहका पहिचानले मधुमेह केही सीमित उमेर समूहमा मात्र लाग्छ भन्ने धारणाको खण्डन गर्छन् ।
धारणा २ ः धेरै चिनी खाएका कारण मान्छेलाई मधुमेह लाग्छ ।
विश्लेषण ः हामी मधुमेहलाई सामान्य तरिकाले ‘चिनीरोग’ वा ‘सुगर’ भनेर चिन्ने गर्दछौं । नामकै कारणले पनि होला, मधुमेह लाग्नुको कारण चिनी वा गुलियो खानेकुराको बढी सेवन गर्नु हो भन्ने पनि धेरै मानिसलाई लाग्छ । मधुमेह लागिसकेपछि गुलियो कुराहरु कम खानु वा खाँदै नखानु भन्ने जानकारीले पनि यो मान्यतालाई अझै दृढ बनाएको पाइन्छ । ‘चिकित्सकले ‘तपाईलाई मधुमेह भएछ’ भन्दा धेरैजसोको पहिलो रेस्पोन्स नै ‘तर डाक्टरसाब, म त त्यति चिनी नै खाँदिन’ भन्ने हुनसक्छ । तर यो मान्यता सरासर गलत हो ।
टाइप–२ मधुमेह लाग्नुको मुख्य कारण मोटोपन, शारीरिक व्यायामको कमी र अन्य जीवनशैली सम्बन्धित कार्यहरु हुन् भने टाइप–१ मधुमेह चाहिँ अहिलेसम्म वंशाणुगत कारणले नै हुने गरेको बताइन्छ । मधुमेहको पुष्टि भइसकेपछि रगतमा चिनी वा ग्लुकोजको मात्रा अचानक धेरै नबढोस् भन्ने हेतुले चिनीजन्य खाना नखान उचित मानिए तापनि चिनी खाएकै कारण मधुमेह लाग्छ भन्ने धारणा वास्तवमै गलत हो ।
धारणा ३ ः मधुमेह आलु र भात खानु नहुने रोग हो ।
विश्लेषण ः मधुमेह वास्तवमा के खानु र के नखानु भन्दा पनि के खानु र कति खानु भन्ने विषयसँग बढी सम्बन्धित अवस्था हो । हामी मधुमेह भयो भने आलु र भात चाहिँ खाँदैनौं तर बाहिर रेस्टुरेन्टमा गएर मजाले जंक खाजा खाइदिन्छौं । जसले गर्दा हामी आफूलाई मैले राम्रोसँग आफ्नो खानपिन मिलाइरहेको छु जस्तो लागे पनि वास्तवमा स्वास्थ्यलाई हानि पु¥याइरहेका हुन्छौं ।
मधुमेहका लागि सबैभन्दा उचित उपाय भनेको कोही दक्ष न्युट्रीसनिस्टसँग लगातार सल्लाह लिने, कुन खानामा कति कार्बोहाइड्रेट हुन्छ भन्ने कुरा राम्ररी बुझ्ने अनि आफूले दिनभरिमा कतिकति र केके खाएँ भन्ने कुराको लेखाजोखा राख्ने बानी बसाल्नु नै हो । आलु र भात त्याग्नुभन्दा पनि हरेक दिन सबै पोषण तत्व मिलाएर ब्यालेन्स्ड डाइट खानु मुख्य आवश्यकता हो ।
आलु र भात बढी ग्लाइसेमिक इन्डेक्स भएका खानेकुरा मध्येका हुन् । यस्ता खानेकुरा खाएपछि अति छिटो रगतमा चिनीको मात्रा बढाइदिने हुँदा नखाने वा कम खाने सल्लाह दिइन्छ, जुन धेरै हदसम्म ठिक पनि हो । तर दिनभरि खाने अरु खानेकुराको मात्रा र समय मिलाउने हो भने यस्ता खाने कुराहरु पनि केही हदसम्म आफ्नो दैनिक खानामा समावेश गर्न भने अवश्य
सकिन्छ । यसो गर्दा मन पर्ने खानेकुरा त्याग्नै पर्ने बाध्यताबाट मधुमेहका बिरामी बच्न सक्छन् । उचित ढंगले, सोचेर अनि आफ्नो शरीर बुझेर खाने बानी बसाल्नाले मधुमेहीलाई मात्र नभएर सबैलाई फाइदा नै पु¥याउँछ ।
धारणा ४ ः फलफूल राम्रा खानेकुरा हुन् र जति खाए पनि नराम्रो गर्दैनन् ।
विश्लेषण ः हुन त फलफूल स्वास्थ्यका लागि असाध्यै राम्रो खानेकुरामा पर्दछन् । मधुमेहका बिरामीलाई पनि फलफूल खाने सल्लाह दिइन्छ । तर अघि भनेजस्तै सबैभन्दा महत्वपूर्ण कुरा भनेको कति खाने भन्नु नै हो । फलफूल प्राकृतिक गुलियोपनाले भरिएको हुन्छ । धेरै फलफूल मात्र खानाले रगतमा चिनीको मात्रा अचानक बढाइदिन सक्छ । चिकित्सकहरुले पनि त्यसै कारणले दिनमा एउटा मात्र फलफूल खाने सल्लाह दिने गर्छन् ।
मेवा, खर्बुजा, भुइँकटहर जस्ता फलफूल चाहिँ एक चिरा मात्र खाने सुझाव दिइन्छ । अघि भनेझैँ ब्यालेन्स्ड डाइट खाना खानलाई दिनहुँ एउटा फलफूल आफ्नो दैनिक आहारमा समावेश गर्न सकिन्छ । तर फलफूल राम्रो हो भन्दैमा धेरै मात्रामा खानु वा फलफूल मात्र खानु मधुमेहीको लागि राम्रो सावित हुँदैन । फलफूल खाँदा पनि आँप, अंगुर, केरा, अनार जस्ता धेरै गुलिया फलफूल भन्दा स्याउ, एभोकाडो, इस्ट्रबेरी, मेवा, अमला, जामुन जस्ता फलफूल रोज्दा अझै लाभदायी हुन्छ ।
धारणा ५ ः इन्सुलिनको सुई लगाउनु भनेको मधुमेहको अन्तिमरसबैभन्दा भयावह स्टेज हो ।
विश्लेषण ः इन्सुलिन विशेषगरी टाइप–१ मा चाहिने भए पनि टाइप–२ का केही बिरामीले पनि इन्सुलिनको प्रयोग गर्नु परेको पाइन्छ । इन्सुलिन, सुईको माध्यमबाट शरीरमा लगाइन्छ र यसको डोज चिकित्सकको सल्लाह अनुसार फेरबदल गरिन्छ ।
मान्छेलाई इन्सुलिन लगाउने व्यक्तिप्रति अनावश्यक दया वा विचरा भाव उत्पन्न हुनसक्छ । दिनदिनै सुई लाउनुपर्ने भन्दा शरीरभरि घाउ होला भनेर अनुमान गर्न सक्छन् । तर वास्तवमा इन्सुलिन लगाउने एउटा अति पातलो सुई बनाइएको हुन्छ, जसले बोसोमा खोप्दा अनुमान गरिएजस्तो घाउ पनि हुँदैन र पीडा पनि हुँदैन ।
त्यस्तै, इन्सुलिन त अन्तिम अवस्थामा लगाउने हो भन्ने अनुमान पनि मुलतः भ्रमित अनुमान हो । चिकित्सकको सल्लाह अनुसार इन्सुलिन लगाउनु खाइने ट्याब्लेटभन्दा अझै सुरक्षित र मधुमेहलाई नियन्त्रणमा राख्न अझै बढी उपयोगी भएको कुरा अनुसन्धानले देखाएका छन् । इन्सुलिन अन्तिम स्टेजमा मात्र नभएर रगतमा ग्लुकोजको मात्रा चाँडै र सुरक्षित ढंगले नियन्त्रणमा ल्याउनको लागि कुनै पनि समयमा उपयोग गर्नुपर्ने हुनसक्छ । यसमा डराउने, आत्तिनुपर्ने कुरा खासै हुँदैन ।
धारणा ६ ः एलोप्याथी औषधि सेवनभन्दा आयुर्वेद, होमियोप्याथी आदि वैकल्पिक उपचार प्रणालीबाट मधुमेह ठिक पार्न सकिन्छ ।
विश्लेषण ः अहिलेसम्म मधुमेहलाई चिकित्सा विज्ञानले निको पार्न नसकिने तर उचित खानपिन, नियमित औषधि र पर्याप्त शारीरिक व्यायामले नियन्त्रण भने गर्न सकिने अवस्थाको रुपमा व्याख्या गरेको छ । तर त्यसो भनिरहँदा, आयुर्वेदिकजस्ता अन्य वैकल्पिक उपचार प्रणालीहरुले आक्कल–झुक्कल योग, जडिबुटी र विशेष केही घरेलु उपाय अपनाउनाले मधुमेह ठिक हुनसक्ने बताइरहेको पनि नसुनिने भने होइन ।
तथापि, वैज्ञानिक अनुसन्धान र ठोस प्रमाणका अभावमा यिनलाई आधिकारिक र भरपर्दो मानिहाल्न चाहिँ मिल्ने आधार तत्काल देखिंदैन । निको पार्ने नै कुरामा सत्यता पुष्टि नभए तापनि मधुमेह नियन्त्रणमा चाहिँ घरेलु उपाय, विशेष बोटबिरुवारफलरपात वा विशेष योगरआसन केही हदसम्म उपयोगी हुने कुरा पनि विभिन्न अनुसन्धानले नै पुष्टि गरेको पाइन्छ । जस्तै, जामुन, मेथीका दाना जस्ता खानेकुराको सेवन र कपालभाती, मंडुकासन जस्ता योगाभ्यासले समेत मधुमेह नियन्त्रणमा सहयोग पु¥याउने केही अनुसन्धानले समेत देखाएका छन् । तर मधुमेह च्वाट्टै निको पार्छ भन्ने कुरा चाहिँ सत्य होइन ।
भ्रम र तथ्य त विभिन्न अनुसन्धान हुँदै जाँदा, औषधि र उपचारका विधिको आविष्कार बढ्दै जाँदा आखिर परिवर्तन हुँदै नै जान्छन् । अहिले उपलब्ध जानकारी अनुसार, सन्तुलित आहार, पर्याप्त शारीरिक व्यायाम, नियमित परीक्षण र विज्ञसँगको नियमित परामर्शका साथै नियमित औषधि सेवन र उच्च आत्मविश्वास नै मधुमेह नियन्त्रणका मुख्य सूत्र हुन् । कोभिड कहरमा अझै बढी जोखिम रहेको हुँदा मधुमेहीहरु अझै सचेत र आत्मविश्वाशी बन्नु पनि उत्तिकै आवश्यक छ ।
मधुमेह सचेतना महिनाको सबैमा शुभकामना१ चेतना फैलाउनु र भ्रम मेटाउनु हामी सबैको कर्तव्य हो ।
(स्रोतः स्वास्थ्यखबरबाट)
