
बुटवल, १५ मंसिर – अर्थमन्त्रीसमेत रहेका सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य क्षेत्र सुदृढ बनाउन सरकार लागि परेको बताएका छन् ।
आज स्थानीय तहहरूमा ३ सय ९६ अस्पताल शिलान्यास गर्न लागिएको उल्लेख गर्दै मन्त्री पौडेलले सरकारको अहिलेको ध्यान स्वास्थ्य क्षेत्र बलियो बनाउने रहेको बताए ।
‘स्वास्थ्य क्षेत्रलाई सुदृढ बनाउनेतर्फ केन्द्रीत भएर आज देशका तीन सय ९६ वटा पालिकामा अस्पताल शिलान्यास गरिँदैछ,’ उनले भने । उनले यो कुरा सोमबार रूपन्देही उद्योग संघको ४३ औं स्थापना दिवसमा आयोजित कार्यक्रममा भर्चुअल सम्बोधनमा भनेका हुन् ।

पौडेलले आर्थिक, पर्यटन, उद्योग र सामाजिक गतिविधिका हिसाबले देशकै अग्रस्थानमा रूपन्देही स्थापित हुने पनि बताएका छन् । नेपाली उद्योगी तथा व्यवसायीले उठाउँदै आएका औद्योगिक क्षेत्रको विकास, विद्युत डिमाण्ड शुल्क, ट्रन्कलाइनलगायतको समस्या प्रति आफ्नो ध्यान केन्द्रीत भएको उनले बताए ।
संघका अध्यक्ष बाबुराम बोहोराले औद्योगीक क्षेत्रको अभावमा महँगो जग्गा लिएर उद्योग संचालन गरेका उद्योगीलाई प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम ल्याउनुपर्ने बताए । कार्यक्रममा संघका पूर्वअध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
त्यस्तै ३५ हजार राशिको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार २०७६ बाट पत्रकार कृष्ण खनाललाई सम्मानित गरिएको छ ।
