
नरैनापुर, २६ कार्तिक – बाँकेको नरैनापुर गाउँपालिका–४ स्थित चुरे पहाडको काखमा अवस्थित गोबर्धनधाम यतिबेला धार्मिक आस्था र श्रद्धाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित हुँदै गएको छ । प्रत्येक वर्ष गाईपूजादेखि भाइटीकासम्म यहाँ लाग्ने भक्तजनको घुइँचोले यस क्षेत्रको धार्मिक महत्त्वलाई झल्काउने गरेको छ । तीन दिनसम्म चल्ने धार्मिक कार्यक्रमको अन्तिम दिन भाइटीकामा आयोजना हुने विशाल भण्डारामा सहभागी हुन भक्तजनको मानव सागर नै उर्लिने गर्दछ ।

प्राकृतिक सुन्दरता र धार्मिक आस्थाको संगम बनेको गोबर्धनधाममा गाईपूजाको दिनदेखि नै धार्मिक गतिविधि सुरु हुन्छन् । भजनकीर्तन, पूजापाठ र भक्तिमय वातावरणले धाम परिसर गुञ्जायमान बन्ने गर्दछ । गोबर्धन पूजाको दिन विधिपूर्वक गोबर्धन पूजा गरिन्छ भने तेस्रो दिन अर्थात् भाइटीकाका दिन विशाल भण्डाराको आयोजना गरिन्छ । तीन दिनसम्म सञ्चालन हुने यस धार्मिक आयोजनामा भक्तजनहरू आफ्नो अनुकूलताअनुसार आउने–जाने गरे पनि अन्तिम दिन प्रसाद ग्रहण गर्न आउनेहरूको संख्या उल्लेख्य हुने गरेको छ ।
गोबर्धनधामको धार्मिक आकर्षण नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा मात्र सीमित छैन । भारतको सीमावर्ती जिल्ला श्रावस्ती, बहराइच र बलरामपुरबाट समेत ठूलो संख्यामा श्रद्धालु भक्तजन यहाँ पुग्ने गरेका छन् । नेपाल–भारत सीमापारिको धार्मिक सम्बन्ध र सामाजिक सद्भावलाई समेत यस धामले बलियो बनाउँदै आएको छ । वर्षेनी बढ्दै गएको भक्तजनको उपस्थितिले गोबर्धनधामलाई सीमावर्ती क्षेत्रकै महत्वपूर्ण धार्मिक गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावना देखाएको छ ।

धार्मिक आयोजनासँगै गोबर्धनधामको अर्को महत्वपूर्ण विशेषता यहाँ सञ्चालित गौशाला पनि हो । धाममा पाँच सयभन्दा बढी गाईगोरुको संरक्षण तथा सेवा हुँदै आएको छ । गौशालाबाट दैनिक करिब दुई सय लिटर दूध उत्पादन हुने गरेको छ । गाईको संरक्षण, सेवा र धार्मिक परम्पराको निरन्तरतासँग जोडिएको यस व्यवस्थापनले गोबर्धनधामको महत्त्वलाई थप विशिष्ट बनाएको छ । यहाँको गौशाला धार्मिक आस्थाको केन्द्र मात्र नभई पशुपालन र गौसंरक्षणको उदाहरणसमेत बनेको छ ।
अधिवक्ता रामकुमार दीक्षित, प्रमोदकुमार शर्मा, कामता मौर्यलगायत स्थानीय अगुवाहरूका अनुसार गोबर्धनधामको धार्मिक तथा पर्यटकीय सम्भावना निकै ठूलो छ । तर, सम्भावना अनुसार भौतिक पूर्वाधार र व्यवस्थापकीय विकास हुन सकेको छैन । धामसम्म पुग्ने बाटोको स्तरोन्नति, परिसरको सरसफाइ, आवश्यक संरचना निर्माण, आकर्षक श्रृंगार तथा भक्तजनका लागि आधारभूत सुविधाको व्यवस्थापन गर्नुपर्ने आवश्यकता रहेको उनीहरूको भनाइ छ । धार्मिक कार्यक्रममा हजारौँ भक्तजन सहभागी हुने भएकाले खानेपानी, शौचालय, विश्रामस्थल र व्यवस्थित प्रसाद वितरणको प्रबन्धसमेत आवश्यक देखिन्छ ।

स्थानीयवासीले गोबर्धनधामको संरक्षण, प्रवद्र्धन र पूर्वाधार विकासका लागि संघीय, प्रदेश र स्थानीय तीनै तहका सरकारसँग बजेट विनियोजन गर्न माग गरेका छन् । धार्मिक आस्थाको केन्द्रलाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सके स्थानीयस्तरमा रोजगारी सिर्जना, व्यापार व्यवसाय विस्तार र आर्थिक गतिविधिमा समेत टेवा पुग्ने उनीहरूको विश्वास छ ।
धार्मिक तथा प्राकृतिक पर्यटनको सम्भावना बोकेको नरैनापुर ः बाँके जिल्लाको नरैनापुर गाउँपालिका धार्मिक तथा प्राकृतिक पर्यटनका दृष्टिले सम्भावना बोकेको क्षेत्र हो । यहाँ सन्तानेश्वर महादेव, गोबर्धनधाम, बर्फानी बाबा आश्रम, पन्नहवा देवी शक्तिपीठ, रानीमहल, मौजीदास आश्रम, करारीदास आश्रमलगायत अनेकौँ धार्मिक तथा दर्शनीय स्थलहरू रहेका छन् । यी स्थलहरूलाई एकीकृत धार्मिक पर्यटन मार्गका रूपमा विकास गर्न सके नरैनापुरलाई महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिने सम्भावना छ ।

तर पर्याप्त सम्भावना हुँदाहुँदै पनि राजनीतिक नेतृत्वको प्राथमिकता, सरकारी लगानी र योजनाबद्ध विकासको अभावमा नरैनापुरका धेरै धार्मिक तथा पर्यटकीय स्थलहरू अझै ओझेलमा छन् । सडक, यातायात, प्रचारप्रसार, पर्यटकमैत्री पूर्वाधार र व्यवस्थापनमा ध्यान दिन सके यस क्षेत्रले आन्तरिक तथा भारतीय पर्यटक आकर्षित गर्न सक्ने देखिन्छ ।

गोबर्धनधाममा प्रत्येक वर्ष उर्लिने भक्तजनको भीडले एउटा स्पष्ट सन्देश दिएको छ—यहाँ धार्मिक पर्यटन विकासको बलियो आधार छ । अब आवश्यक छ त केवल त्यसलाई योजनाबद्ध ढङ्गले संरक्षण, व्यवस्थापन र प्रवद्र्धन गर्ने इच्छाशक्ति । स्थानीयको आस्था, धार्मिक सम्पदाको संरक्षण र सरकारी लगानीलाई एकै ठाउँमा जोड्न सके गोबर्धनधाम नरैनापुरको मात्र नभई बाँके जिल्लाकै पहिचान बोकेको धार्मिक पर्यटन गन्तव्य बन्न सक्नेछ ।

