Monday, April 20सत्यम खबर
Shadow

गैर जिम्मेवार नेपालगन्ज उद्योग वाणिज्य संघ !

अजय कुमार गुप्ता
मितिः २०८३ बैशाख ७ गते, सोमबार
नेपालगन्ज उद्योग वाणिज्य संघको गतिविधि विगतदेखि नै गैर जिम्मेवारपूर्ण रहेको छ । सानो व्यापारी समस्यामा पर्दा नदेखे जस्तो गर्ने, ठूलो व्यापारी समस्यामा पर्दा सक्रिय हुने त्यसको नानीदेखि लागेको बानी हो । पूर्वका संघ अध्यक्षहरु अच्युतप्रसाद प्रसाई, शतिस चन्द्र अग्रवाल, दामोदरप्रसाद आचार्य, सुनिल शर्मा, कृष्णप्रसाद आचार्य, अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ लगायतको कार्यकाल केही सन्तोषपूर्ण थियो । तर वर्तमान कार्यसमिति आफ्नो असक्षमता देखाउँदै आएकोले यस प्रति अधिकांश व्यापारीहरुमा असन्तोषको भावना व्याप्त छ । केही वर्षदेखि नेपालगन्जको बजार सुक्दै गएको छ । यो बजारलाई बचाउन अहिलेसम्म संघले कुनै प्रकारको ठोस पाईला चालेको छैन । अधिकांश समय संघको कार्यालयमा बसी वर्तमान समयका पदाधिकारीहरु सुख सयल गर्दै आएका छन् । मुलुकमा बालेन शाह नेतृत्वमा नयाँ सरकार अस्तित्वमा आएपछि यो सरकारले भारतबाट एक सय मूल्य बराबरको सरसामान खरीद गरी ल्याउँदा अनिवार्य रुपमा भन्सार शुल्क तिर्नुपर्ने प्रावधानले गर्दा विषेशकर दैनिक उपभोग्य सामग्री, घरायसी प्रयोजनको लागि भारतबाट ल्याउनेहरु मर्कामा परेको देखिन्छन् र भारी संख्यामा रहेका निम्न वर्गको व्यक्ति यसको प्रत्यक्ष मारमा परेको समेत देखिन्छन् । निश्चित नै नेपालगन्जको बजार सुक्दै गएको छ र सीमापारी भारतीय बजार फस्टाएको छ ।

यस कुरामा कोही पनि दुईमत हुन सक्दैन । यो नेपालगन्जको बजार सुक्न नदिने तमाम उपायहरु छन् । जसलाई कार्यान्वयनमा ल्याए सकारात्मक परिणाम आउन सक्छ । नेपालगन्ज उपमहानगरपालिकाका व्यापारीहरुमा ईमान्दारिताको खाँचो रहेको पाईन्छ । हरेक सरसामान चर्को मूल्यमा बिक्री गर्ने उनको पुरानो बानी हो । यसलाई कालो बजारी भनेमा कुनै अतिश्योक्ति नहोला । एउटै सामान यहाँ फरक–फरक मूल्यमा बिक्री हुने गरेकोले नेपालगन्जको व्यापारी माथि नेपाली उपभोक्ताहरु सहजै विश्वास नगरी अधिकांशहरु सीमापारी भारतीय बजारबाट सरसामान किनमेल गर्न रुचाउँछन् ।

यसमा यस्तो पनि छैन यहाँका सबै निकायका व्यापारीमा ईमान्दारिताको खाँचो छ । नेपाल जडिबुटी व्यावसायी संघले दैनिक रुपमा विभिन्न जडिबुटीको मूल्य सार्वजनिक गर्दै आफ्नो कार्यालयमा हेल्पलाईन डेस्कको व्यवस्था गरेको छ । नेपाल सुन–चाँदी व्यवसायी संघले पनि दैनिक रुपमा सुन–चाँदीको मूल्य सार्वजनिक गर्दै आएको छ । आज सोमबारदेखि रानीतलाउ तरकारी मण्डीले तरकारीको मूल्य दैनिक रुपमा सार्वजनिक गर्ने सूचना जारी गर्दै यस बारे सर्वसाधारणलाई जानकारी गराउने भनेको छ । तर नेपालगन्ज उद्योग वाणिज्य संघ अहिले सरसामान ल्याउन कडाई गरिएपछि सस्तो लोकप्रियता पाउन खोजेको देखिन्छ । संघका अध्यक्ष टंकप्रसाद धामीले सस्तो लोकप्रियता पाउन यसै साता नेपाल–भारत सीमामा पुगी भारतबाट कुनै प्रकारको सरसामान ल्याउन कसैले खोजे त्यसको सरसामान जफत गर्ने भनाई राखेको देखियो ।

शनिबार दिन संघले एक कार्यक्रम बीच सीमानाका कडाई गरिएको कार्यप्रति आफ्नो समर्थन जनाएको छ । सबैले जाने बुझेको कुरा हो । सीमा क्षेत्रमा खटिएको प्रहरीले चेकजाँचको क्रममा सोझै सर्वसाधारणको सामान खोस्ने कार्य विगतदेखि नै गर्दै आएको छ । पक्राउ गरिएको सरसामानको सिजर रसिद अहिलेसम्म कसैलाई दिईएको देखिदैन । प्रहरीले पक्राउ गरिएको सरसामान आफैले उपभोग गर्छन् । संघले नेपालगन्जको बजारलाई बचाउन खोजेको छ भने पहिले त सरकारसँग सरसामानको भन्सार मूल्य घटाउने मांग गर्नु पथ्र्यो । साथै विभिन्न व्यापारिक प्रतिष्ठानले आप्mनो सरसामानको मूल्य सूची आफ्नो पसल अगाडी लगाउने, कसैले यसमा अटेर गरेको पाईएमा संघको सदस्यता हटाउने जस्तो कडा प्रावधान ल्याउन सक्नु पथ्र्यो । नेपालगन्ज उद्योग वाणिज्य संघको सोच धमिलो पानीमा माछा मार्ने रहेकोले त्यसको कार्य शुन्य अवस्थामा छ ।

मौकामा चौका मार्ने बानीले गर्दा संघको लोकप्रियता र विश्वासनियता घटेको पाईन्छ । अहिले नेपाल–भारत सीमामा कडाई गरिएपछि यसबाट भारतीय क्षेत्रका व्यापारीहरुमा ठ्रूलो आक्रोश छ । यस्तै स्थिति अझै केही दिन विद्यमान रही रहने हो भने रुपैडिहा, बाबागञ्ज, नानपारा, बहराईच यहाँसम्म की ठूलो शहर मध्येको लखनऊ र दिल्लीका व्यापारीले नेपालमा रहेका ठूला व्यापारी र ठूला व्यापारिक प्रतिष्ठानहरुलाई कुनै प्रकारको सरसामान बिक्री नगर्ने तयारी रहेकोले अब भारतबाट नेपालतर्फ मालसामानले भरिएको ट्रक लोड भई नआउने अवस्था बनेको छ । जसको कारण अगामी समय यहाँ विभिन्न मालसामानको भारी कमी हुने वातावरण बन्न थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *