
नेपालगन्ज, २५ चैत – होटल पौवाले मानवसेवा आश्रममा आश्रय लिइरहेका आश्रयबिहिनहरुलाई खाना खुवाएर १० औ स्थापना दिवस बनाएको छ । पौवाको नेपालगन्ज शाखाले मानवसेवा आश्रम नेपालगन्जमा आश्रितहरुलाई खाना खुवाएर स्थापना दिवस मनाएको हो ।

स्थापना दिवसका दिन संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत जेष्ठ नागरिक, शारिरिक कमजोरी तथा मानसिक कमजारी रहेका आश्रितहरुलाई खाना प्रदान गरिएको होटल पौवाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले बताए । आश्रय बिहिनहरुका लागि ठुलो योगदान गरिरहेको मानवसेवा आश्रमको अभियानमा थोरै भएपनि जोडिन पाउनु पौवाका लागि गौरवको विषय भएको उनले बताए । अध्यक्ष भण्डारीले पौवाका २० वटै शाखाले स्थापना दिवसमा कुनै न कुनै सामाजिक उत्तरदायित्वको कार्य गरिरहेको जानकारी दिए ।

पौवा नेपालगन्जका महाप्रबन्धक गिरिराज पाण्डेले मानवसेवा आश्रममा आश्रित जेष्ठ नागरिक र आश्रित व्यक्तिहरुलाई खाना खुवाएर आशिर्वाद प्राप्त गर्न पाउँदा पौवा टिमलाई खुसी लागेको बताए । ग्राहकहरुलाई उत्कृष्ठ खाना खुवाएर पटक पटक सरकारबाट उत्कृष्ट र स्वस्थकर खानाको उपाधि पाएको पौवाको तर्फबाट आश्रममा आश्रितहरुलाई स्वस्थ र फरक स्वाद दिन स्थापना दिवसमा खाना खुवाउने कार्यक्रम राखिएको उनले बताए ।
मानवसेवा आश्रम नेपालगन्जकी सह संयोजक विष्णु घर्तीले पौवाले स्थापना दिवसमा मानवसेवा आश्रममा आश्रितहरुलाई खाना प्रदान गर्ने कार्यक्रम राखेकोमा साधुवाद प्रकट गरिन् ।

आश्रममा आश्रित ८० आश्रयकर्ता सहित सेवामा खटने स्वयम सेवकहरुलाई पौवाले आज बिहानको खाना प्रदान गरेको हो । खाना वितरण गर्न पौवा नेपालगन्जका शाखा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, शेयर सदस्य झबिन्द्र मरासिनी, शरण कर्माचार्य, वरिष्ठ शेफ दीपक भण्डारीलगायत पौवाका कर्मचारीहरु मानवसेवा आश्रम पुगेका थिए ।
