Tuesday, March 31सत्यम खबर
Shadow

‎मेयर कप क्रिकेटमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयको शानदार जित, सुनिल भण्डारीको विस्फोटक शतक

नेपालगन्ज, २ चैत्र – नेपालगन्जमा जारी मेयर कप पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सम्पन्न खेलमा ब्राइटल्यान्ड माध्यमिक विद्यालयले उत्कृष्ट प्रदर्शन गर्दै नेपालगञ्ज मोडेल एकेडेमीलाई ९८ रनले पराजित गरेको छ। एम.पी. स्कुल मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा ब्राइटल्यान्डले ब्याटिङ र बलिङ दुवै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै प्रभावशाली जित हात पारेको हो।

‎खेलमा टस जितेको नेपालगन्ज मोडेल एकेडेमीले पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो। त्यसपछि ब्याटिङमा उत्रिएको ब्राइटल्यान्ड माध्यमिक विद्यालयले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रनको ठूलो योगफल खडा गर्‍यो। टोलीको विशाल स्कोर बनाउने क्रममा सुनिल भण्डारीले उत्कृष्ट ब्याटिङ प्रदर्शन गरे।

Oplus_16908288

‎ब्राइटल्यान्डका प्रमुख ब्याट्सम्यान सुनिल भण्डारी ले आक्रामक शैलीमा ब्याटिङ गर्दै ५७ बलमा ११९ रनको शानदार शतक प्रहार गरे। उनले आफ्नो इनिङ्समा १४ चौका र ६ छक्का प्रहार गर्दै मैदानमा उपस्थित दर्शकलाई रोमाञ्चक खेलको अनुभव दिलाए। उनको उत्कृष्ट इनिङ्स ब्राइटल्यान्डको जितको मुख्य आधार बन्यो।

‎त्यसैगरी टोलीका लागि साजाद बागवान ले ३७ बलमा ४२ रनको महत्वपूर्ण योगदान दिए। अन्य खेलाडीमध्ये युबराज शर्मा ५ रनमा आउट भए भने रोहन केसी रन बनाउन नसकी पेभिलियन फर्किए। गौतम कनौजियाले पनि रन जोड्न सकेनन्। अन्त्यतिर पार्टिक गिरि ले १६ बलमा १७ रन बनाउँदै टोलीको स्कोर मजबुत बनाए भने प्रिन्स वाल्मिकी ४ बलमा २ रन बनाएर अविजित रहे। अतिरिक्तबाट पनि टोलीले २० रन प्राप्त गरेको थियो।

‎बलिङतर्फ नेपालगन्ज मोडेल एकेडेमीका राजु खान ले ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे। अन्य बलरहरूले पनि विकेट लिए पनि ब्राइटल्यान्डका ब्याट्सम्यानलाई ठूलो स्कोर बनाउनबाट रोक्न सकेनन्।

‎२०६ रनको कठिन लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालगञ्ज मोडेल एकेडेमी को सुरुवात राम्रो हुन सकेन। नियमित अन्तरालमा विकेट गुमाएको टोली अन्ततः १४ ओभर १ बलमा १०७ रनमै समेटियो। टोलीका लागि अन्जिल घिसिङ ले सर्वाधिक ३५ रन बनाए। त्यस्तै पराश देवकोटा ले २१ बलमा १६ रन बनाए भने शिवा केसी ले ९ रनको योगदान दिए। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

‎ब्राइटल्यान्डका बलरहरूले सशक्त बलिङ गर्दै विपक्षी टोलीलाई दबाबमा राखे। बलिङतर्फ पार्टिक गिरि ले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। त्यस्तै निखिल धनकुटा र सुनिल भण्डारी ले समान २–२ विकेट हात पारे। सुरेश बुढाथोकी र सुनील भण्डारी ले पनि विपक्षी ब्याट्सम्यानलाई दबाबमा राख्दै महत्वपूर्ण योगदान दिए।

ब्याटिङ र बलिङ दुवै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेका सुनिल भण्डारी खेलको उत्कृष्ट खेलाडी घोषित भए।‎

Leave a Reply

Your email address will not be published. Required fields are marked *