
नेपालगन्ज, ३ पौष – बढ्दो सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले ब्रीटिस इङ्लिस बोर्डिङ स्कुल नेपालगन्ज मा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय नेपालगन्जका हवल्दार कृष्णबहादुर खड्का र सहायक हवल्दार टेकराज अधिकारीले विद्यार्थीहरूलाई ट्राफिक नियम सम्बन्धी महत्वपूर्ण जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक बत्तीको अर्थ, सडक पार गर्ने सही तरिका, सवारी साधन प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी तथा हेल्मेट किन अनिवार्य रूपमा लगाउनु पर्छ भन्ने विषयमा व्यवहारिक र उदाहरणसहित सचेतना दिइएको थियो । विशेषगरी बालबालिकालाई सानै उमेरदेखि ट्राफिक नियमको ज्ञान भए दुर्घटना न्यूनीकरण गर्न सकिने र अभिभावकलाई पनि विद्यार्थीहरुले जानकारी दिनु पर्ने भने ।

ट्राफिक प्रहरीले हेल्मेटले टाउकोको सुरक्षा मात्र नभई जीवन रक्षा गर्ने महत्वपूर्ण साधन भएको बताउँदै नियमको पालना सबै नागरिकको दायित्व भएको उल्लेख गरेका थिए । विद्यार्थीहरूले कार्यक्रमलाई चासोका साथ सुनेका थिए र जिज्ञासाहरू समेत राखेका थिए ।
विद्यालयका प्रधानाध्यापक हेमन्त राज काफलेले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीमा अनुशासन, जिम्मेवारी र सामाजिक चेतना विकास हुने जानकारी दिए ।

