Wednesday, March 11सत्यम खबर
Shadow

अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनु पर्नेमा जोड

नेपालगन्ज, १७ मंसिर – अपाङ्गता भएका ब्यक्तिहरुलाई प्रदान गरिएका सेवा सुविधालाई ब्यवहारिक बनाइनुपर्नेमा आज नेपालगन्जमा आयोजित एक कार्यक्रमा जोड दिइएको छ । ३४ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सरोकारवालासंग अपाङ्गता भएका व्यक्तिहरुको सवालमा गरिएको संवाद कार्यक्रमका सहभागीहरुले कानुनमा उल्लेख गरिएका अधिकारहरु पनि ब्यवहारिक नभएकोले ब्यवहारिक बनाउन आवश्यक रहेको बताएका हुन ।

नेपालगन्ज उपमहानगरपालिका र नगर स्तरीय अपाङ्ग सञ्जालको आयोजना तथा सेभ द चिल्ड्रेन, एसडिएफ बाँके, नेपाल संरक्षक समाज, रेडियो कृष्णसार एफएम र डेक नेपाल लगायत आधा दर्जन बढि संघ संस्थाहरुले सहकार्यमा गरिएको कार्यक्रममा सहभागिहरुका प्रश्न माथि सवाल जवाफ र प्रतिबद्धता ब्यक्त गरिएको थियो ।

कार्यक्रमको प्यानल लिष्टमा जिल्ला प्रहरी कार्यालय बाँकेका इन्सपेक्टर रमेश विष्ट, जिल्ला ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रहरी नायव निरिक्षक रविन्द्रबहादुर बम, यातायात ब्यावसायी महासंघ बाँकेका बरिष्ठ सल्लाहकार शोभाकर पौडेल, नेपालगन्ज उपमहानगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख पवित्राकुमारी पुरी र अपांगता अधिकारकर्मी भावुक जंग थापा र गोकर्ण आचार्य रहनु भएको थियो ।

संवाद अघि कार्यक्रमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहनगरपालिकाका मेयर प्रशान्त बिष्टले गर्नु भएको थियो । उहाँले अपाङ्गमैत्री उपमहानगरपालिका बनाउने प्रतिबद्धता जनाउनु भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सचेतना, क्षमता बिकास तालिम लगायतका कार्यक्रम सञ्चालन गर्दै आएको पनि उहाँले बताउनुभयो । यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले अपांगताका क्षेत्रमा बनेका ऐन तथा कानुनको ब्यवहारिक कार्यान्वन नभएको पाइएमा उजुरी गर्न आग्रह गर्नुभयो । उहाँले राज्यका सबै निकायले अपांगतामैत्री भवन र सेवा प्रवाहा गर्नुपर्ने धारणा राख्दै कार्यान्वयनका लागि आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका महिला, बालबालिका तथा जेष्ठ नागरिक महाशाखाका प्रमुख पबित्र पुरीले अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि काम गर्दै आएको बतानुभयो । यस्तै यातायात व्यावसायी महासंघ बाँकेका बरिष्ठ सल्लाहकार शोभा पौडेलले अपाङ्गता भएका व्यक्तिहरुलाई यातायातका क्षेत्रबाट सम्बोधन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरिक्षक रमेश बिष्टले पनि अपाङ्गता भएका व्यक्तिहरुको लागि सहज सेवा प्रवाहलाई अझै प्रभावकारी बनाइने बताउनुभयो । कार्यक्रममा विभिन्न प्रकारका अपांगता भएका ब्यक्तिहरु, संघ संस्थाका प्रतिनिधिहरु तथा सरोकारवालाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *