
नेपालगन्ज, २१ असाेज – बाँके जिल्ला विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति र समुदायहरूको साझा फुलबारीका रूपमा चिनिएको जिल्लामा पछिल्लो समय धार्मिक आस्थामाथि आक्रमण भएको घटनाप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन जिल्ला कार्यसमिति बाँकेले गम्भीर ध्यानाकर्षण गराएको छ।
अध्यक्ष युवराज शाहीले जारी गरेको विज्ञप्तिमा असोज १७ गतेका दिन हिन्दु धर्मावलम्बीहरूले नवदुर्गा भवानीको प्रतिमा (मूर्ति) बिसर्जन गर्न जाँदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाका १९, ६, १४ र १५ नम्बर वडाका विभिन्न स्थानहरूमा केही समूह र व्यक्तिहरूबाट धार्मिक आस्थामाथि गरिएको सांघातिक आक्रमणप्रति संगठनले घोर निन्दा र भर्त्सना गरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, “व्यक्तिगत स्वतन्त्रता र धार्मिक आस्थामाथि भएको यो जघन्य अपराधिक घटना नेपालको संविधान २०७२ को मर्म रभावना विपरीतको गम्भीर र आपत्तिजनक घटना हो।”
युवा संगठनले घटनामा संलग्न दोषीहरूलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न बाँके जिल्ला प्रशासन कार्यालयको गम्भीर ध्यानाकर्षण गराएको छ। साथै, जिल्लामा शान्ति, सुरक्षा र अमनचयन कायम राख्न सम्बन्धित निकायलाई विशेष आग्रह गरेको छ।
संगठनले राजनीतिक स्वार्थका लागि धार्मिक आस्थालाई खेलवाड नगर्न सबै राजनीतिक दल र नेताहरूलाई सचेत गराउँदै भनेको छ, “धार्मिकआस्था जस्तो संवेदनशील विषयमा कसैले पनि नजरअन्दाज नगरोस्, राजनीतिक स्वार्थ र चुनावी फाइदाको हिन भावनाबाट मुक्त रहोस्।”
त्यसैगरी, बाँके जिल्लाका सबै जातजाति, धर्म, भाषा र संस्कृतिहरूले परापूर्वकालदेखि मान्दै आएका रीतिरिवाज, चाडपर्व, मूल्य–मान्यता र धार्मिक परम्पराको संरक्षण, सम्बर्द्धन र जगेर्ना गर्नु सबैको साझा जिम्मेवारी भएको ठहर संगठनले गरेको छ।
अध्यक्ष शाहीले अपिल गर्दै भनेका छन्, “बाँके जिल्लावासी दाजु–भाइ तथा दिदी–बहिनीहरूले जस्तोसुकै कठिन परिस्थिति आए पनि आपसीमेलमिलाप र एकताको भावनाबाट बिचलित नहुन र संयमित रहनुहोस्।”
विज्ञप्तिको अन्त्यमा संगठनले चेतावनी दिएको छ कि, यदि दोषीहरूलाई ढाकछोप गर्ने वा बचाउने प्रयास भयो भने राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन बाँके चुप लागेर नबस्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्नेछ जानकारी समेत गराइएको छ।