
नेपालगन्ज, २० श्रावण – नाइस अवार्ड २०२५ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ निवासी वातावरण संरक्षण अभियन्ता हेमन्तराज काफ्लेलाई प्रदान गरिएको छ ।
नाइस नेपालगन्जले पाचौं नाइस अवार्ड २०२५ नगद १० हजार, सम्मान पत्र सहित काफ्लेलाई प्रदान गरिएको हो । नाइस नेपालगन्जको आयोजनामा आज मंगलबार नेपालगन्जमा आयोजित नाइस अवार्ड २०२५ प्रदान बिशेष कार्यक्रमका बिच कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उपप्रमुख सिता कार्की, कार्यक्रमका अतिथि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, गैसस महासँघका केन्द्रीय सचिब तथा नाइस नेपालगन्जका सल्लाहकार नमस्कार शाह, नाइस अवार्ड २०२३ प्राप्त गर्न सफल बरिष्ठ पत्रकार झलक गैरे, नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरी, बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्मा, एनआइसी एसिया बैंकका लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश प्रमुख मनोहर ठगुराठी, मंगल प्रसाद माबिका प्रधानाध्यापक सन्ध्या शर्मा र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा अवार्ड प्रदान गरेका थिए ।
अवार्ड प्रदान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिति प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले समाजमा राम्रो काम गरिरहेका ब्यक्तिहरुका लागि अवार्ड उत्प्रेरणा भएको बताए । उनले वातावरण संरक्षणमा कार्य गरिरहेका ब्यक्ति काफ्ले सम्मानीत भएकोमा बधाई ज्ञापन गर्दै संस्थाले उत्कृष्ट ब्यक्तिलाई छनौट गरेको बताए ।
कार्यक्रमका अतिथि सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले नाइसले गरेको कार्यहरुको बारेमा अवगत भएको जनाउँदै असल कार्य गर्ने ब्यक्तिलाई सम्मान गर्नुले समाजमा सकारात्मक सन्देस प्रवाह भएको बताए । यसैगरी कार्यक्रमका अतिथि गैसस महासँघका केन्द्रीय सचिब तथा नाइसका सस्थापक अध्यक्ष नमस्कार शाहले निश्वार्थ रुपमा हरियाली प्रबद्र्धन मार्फत समाजमा लागि परेका ब्यक्तिलाई गरेको सम्मानले असल कार्य गर्ने ब्यक्तिलाई उत्प्रेरणा थप्ने बताए । उनले नाइस अवार्ड २०२५ को घोषणा समेत गरेका थिए ।
कार्यक्रममा बोल्दै अतिथि नेपाल पत्रकार महासँघ बाँकेका अध्यक्ष नविन गिरीले नाइसले गरेका कार्यहरुको बारेमा जानकार रहेको बताए । उनले समाजमा असल कार्य गर्ने संस्था निकै कम रहेकोमा आगामी दिनमा उत्कृष्ट सामाजिक संस्थाको रुपमा कार्य गर्दै अगाडी बढ्ने विश्वास ब्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
यसैगरी कार्यक्रमका अतिथि बरिष्ठ पत्रकार झलक गैरेले प्रकृती संरक्षणमा अग्रसर ब्यक्तिलाई नाइस अवार्ड प्रदान गरिनुले समाजमा सकारात्मक सन्देस प्रवाह भएको बताए । सम्मानले राम्रा काम गर्ने ब्यक्तिहरुलाई हौसला थपेको उनको भनाई थियो ।
यसैगरी कार्यक्रमका अतिथि सन्ध्या शर्माले समाजलाई सकारात्मक दिशामा डोर्याउन नाइस अग्रसर रहेकोमा खुसी लागेको बताइन् । नाइसले गरेको असल काममा सहभागि हुन पाएकोमा खुसी लागेको उनको भनाई थियो । कार्यक्रममा बोल्दै बास नेपालका केन्द्रीय अध्यक्ष शिवकुमार वर्माले नाइसले गरेको काम प्रशंसनिय भएको बताए ।
नाइस अवार्ड २०२५ ग्रहण पश्चात बोल्दै सम्मानीत हेमन्तराज काफ्लेले नाइस अवार्ड जस्तो गर्विलो अवार्डबाट सम्मानीत भए पश्चात जिम्मेवारी थपिएको बताए । निरन्तर बिरुवा अभियानमा लागिपरेको पुरस्कारको रुपमा नाइस अवार्ड प्राप्त गरेको बताउदै आगामी दिनमा समेत वातावरण संरक्षणमा थप कार्य गर्ने उनले प्रतिबद्धता गरे ।
नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन नाइस नेपालगन्जका सचिब कमल शाहीले गरेका थिए भने कार्यक्रममा स्वागत नाईस नेपालगन्जका उपाध्यक्ष शोभा थापा मगरले गरेका थिए ।
कार्यक्रममा नरैनापुर गाउँपालिका, राप्ती सोनारी गाउँपालिका, जानकी गाँउपालिका, एनआइसी एसिया बैंक र बास नेपालले सहकार्य गरेको थियो । कार्यक्रममा सहयोग तथा सहकार्य गर्ने संस्थाहरुलाई प्रशंसा पत्र प्रदान गरिएको थियो । कार्यक्रममा सरकारी निकाय, गैरसरकारी संस्था र युवाहरु गरी ६० बढीको सहभागिता रहेको थियो ।
कार्यक्रमको अवसरमा कर्मचारी सम्मानीत संस्थाको छैठौं बार्षिकोत्सबको अवसरमा संस्था मार्फत सञ्चालीत विभिन्न परियोजनामा कार्यरत तिन जना कर्मचारीलाई प्रशंसा पत्र मार्फत सम्मान गरिएको छ ।
कार्यक्रमको उद्धेश्य परिपूर्ती, संस्थागत विकास तथा बाँके जिल्लामा सामाजिक सद्भाव र युवा परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत जोशिना थारु, राष्टि बुढा मगर र तपेन्द्र बहादुर मलातीलाई प्रशंसा पत्र सहित सम्मान गरिएको थियो । उक्त सम्मान कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समितिका प्रमुख ज्ञानेन्द्र कुमार चौधरी, उपप्रमुख सिता कार्की र नाइस नेपालगन्जका अध्यक्ष हेमराज भट्टले संयुक्त रुपमा प्रदान गरेका थिए ।
नाइस अवार्ड २०२५ प्राप्त गर्न सफल काफ्ले को हुन ?
डेढ दशकभन्दा बढी समयदेखि वृक्षारोपण, जैविक विविधता संरक्षण र वातावरणीय जनचेतना अभिवृद्धिका क्षेत्रमा कार्य गर्दै हजारौँको संख्यामा बिरुवाहरू उत्पादन तथा वितरण गरिसकेका छन् । जन्मदिन, वैवाहिक वर्षगाँठ, व्रतबन्ध र चाडपर्वका अवसरमा बिरुवा उपहार दिने संस्कृति स्थापित गर्दै उनले वातावरणप्रति आम जनचासो जगाउने काम गरेका छन् । यस कार्यमार्फत उनले नेपालगन्जको मात्रै नभई नेपालमै हरियाली आन्दोलन फैलाउने अभियानलाई जीवन्त बनाएका छन् ।
उनको विशेष अभियानहरूमध्ये सितलचिनी अभियानले स्वस्थ्य चेतना दिएको छ र अर्को “कल्पवृक्ष अभियान“ अत्यन्त प्रभावशाली अभियान हुन् । यस अन्तर्गत जर्मनी लगायत अन्य देशहरूबाट प्राप्त बीउहरू प्रयोग गरी तयार पारिएका बिरुवाहरू पशुपतिनाथ (काठमाडौँ), देउती बज्यै मन्दिर (सर्खेत), छत्रेश्वरी (सल्यान), स्वर्गद्वारी (प्यूठान), हनुमान मढी (नेपालगन्ज) लगायतका धार्मिक स्थलहरूमा रोपिएका छन् ।