
नेपालगन्ज, १८ श्रावण – बागेश्वरी मन्दिर प्राङ्गणमा प्रत्येक सोमबार हुँदै आईरहेको आरती श्रावणमासमा थप भब्य र सब्य बनाउने तर्फ आयोजकद्वारा अग्रजता देखाईएको छ ।
यसै सन्दर्भमा आज आईतबार मन्दिर व्यवस्थापन समितिद्वारा प्रेस भेटघाट गरी प्रेस विज्ञप्ती निकालिएको छ ।
प्रेस विज्ञप्तीमा “बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ मा रहेको बागेश्वरी मन्दिर विश्वभरका शक्तिपीठ मध्ये एक हो । बागेश्वरीमा बिहान र बेलुका तान्त्रिक विधिमा आरतीको परम्परा छ । हरेक सोमबार महाआरती भइरहेको छ । नेपालगन्जमा सम्पन्न दोस्रो वेष्टर्न ट्राभल मार्टको अवसर पारेर बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाको आयोजना तथा नाट्टा बाँके च्याप्टरको समन्वयमा १५ माघ २०७९ मा बागेश्वरी तलाउको पूर्वी किनार स्थित पार्कमा महाआरतीको शुभारम्भ भएको थियो । त्यसयता बागेश्वरी गुठीले हरेक साता महाआरती गर्दै आएको छ । हामीले ८ पुस २०८१ मा महाआरतीको १००औं श्रृङ्खला भव्यताका साथ मनाएका थियौं । श्रावणमास विशेष महाआरतीको रुपमा आगामी १९ मा १३२ औं र र २६ साउनमा १३३ औं श्रृङ्खला भव्य रुपमा मनाउन गइरहेको कुरा सुनाउन पाउँदा हामी निकै हर्षित छौं” उल्लेख गरिएको छ ।

यसैगरी “साउन ५ र १२ गतेको महाआरती भव्यतापूर्वक सम्पन्न भयो । साउन महिनाका बाँकी रहेका दुई वटा सोमबारलाई अझ भव्य बनाउने हाम्रो तयारी छ । साउन विशेषका महाआरती कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर हामीले धार्मिक संघसंस्था र महाआरतीका साझेदारबीच शनिबार सुझाव लिएका थियौं । जसका आधारमा हामी श्रावणमास विशेष महाआरती बनाउने तयारी गरिरहेका छौं । यो महाआरतीमा बाँके र बर्दियाका विभिन्न मठमन्दिरमा मठाधीश, सन्त, महन्तका साथै छिमेकी भारत उत्तरप्रदेशका शक्तिपीठ र मठमन्दिरका महन्तलाई आमन्त्रण गर्ने तयारी गरिरहेका छौं । नाट्टा बाँके च्याप्टरको संयोजनमा महाआरतीसँगै सात लाख दिप प्रज्वलन (लक्ष्यवर्ती) प्रज्जवल गरिनेछ । अन्तिम महाआरतीमा रुद्राभिषेक गरेर हरेक भक्तलाई रुद्राक्ष प्रसाद उपलब्ध गराउने तयारी छ । महाआरती स्थलमा खुशियाली सहित शान्त र सौम्य आतिसबाजी पनि गरिने” बताईएको छ ।

यसैगरी, “नेपालगन्ज उपमहानगरपालिकाले मुख्य प्रबर्धकको रुपमा शुभारम्भदेखि सहयोग गरेर महाआरतीको आर्थिक स्रोत सुनिश्चित गरेर ठूलो गुन लगाएको छ । कोहलपुर नगरपालिका, राप्तीसोनारी र बैजनाथ गाउँपालिकाले पनि संस्थागत रुपमा महाआरतीको प्रबर्धकको रुपमा सहयोग गरिरहेका छन् । जिल्लाका सबै स्थानीय तहलाई हामी प्रबर्धकको रुपमा जोड्न चाहन्छौं । गुल्मेली समाज सेवा समिति बाँके र वैदिक सनातन भजन टोलीले नियमित रुपमा भजनकीर्तनमा साथ दिएर महाआरतीमा रौनकता थपेका छन् । गुठी समितिका सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २ का निवर्तमान वडाध्यक्ष सुनिलसिंह हमालको संयोजक रहेको बागेश्वरी महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमिति निरन्तर क्रियाशील रहेको कुरा सर्वविदितै छ । श्रावणमास विशेष महाआरतीलाई अझ भव्य बनाउन हामीले विभिन्न उपसमिति गठन गरेर काम गरिरहेका छौं । बागेश्वरीको सिको गर्दै बाँके बर्दियाका आधा दर्जन बढी धार्मिक स्थल, नदी वा जलाशय क्षेत्रमा महाआरती विस्तार भइरहेको छ । जसले हिन्दु धर्ममा आस्था राख्नेहरुमा आध्यात्मिक जागरण ल्याएको छ । महाआरतीमा हिन्दु धर्ममा आस्था राख्ने सबै समुदायका व्यक्ति सहभागी हुन्छन् । यसले बहुजाति, बहुभाषी, बहुसंस्कृतिका व्यक्तिबिच प्रेम, सद्भाव र भाइचारा वृद्धि गरिरहेको छ । महाआरतीका बेला भक्तजनले गर्ने दानबाट मन्दिरको आम्दानी पनि बढिरहेको छ । अन्त्यमा, शक्तिपीठ बागेश्वरीमा सुरु भएको महाआरती हिन्दु धर्ममा आस्था राख्ने भक्तका लागि एउटा पवित्र धार्मिक अनुष्ठान हो । यसले धार्मिक पर्यटनलाई बढावा दिएको छ । व्यवस्थापनका कमिकमजोरीलाई सुधार गर्दै सभ्य, भव्य र धार्मिक उत्सवको रुपमा हामी महाआरतीको १३२ र १३३औं श्रृङ्खला अझ बढी भव्य बनाउन बढीभन्दा बढी भक्तजनको सहभागिताका लागि हार्दिक आमन्त्रण गर्दछौं” भनिएको छ ।
भिडियो हेर्न तलको लिंकमा क्लीक गर्नुहोस् ।
