
पेरिस, १३ कात्तिक – फ्रान्सको नोट्रेडाम चर्चमा आतंकवादीले तीन जनाको हत्या गरेका छन् । नाइस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीले ट्विटरमार्फत् बिहीबार आतंकवादी हमला भएको बताएका छन् ।
उनका अनुसार हमला गर्ने व्यक्तिले आक्रमण गर्दा ’अल्लाहु अक्बर’ वाक्यांश प्रयोग गरेका थिए । पक्राउ परिसकेपछि पनि उनले सो वाक्यांश दोहो¥याइरहेका थिए । चर्च भित्रै हत्या गरिएका व्यक्ति वार्डेन भएको उनले बताए ।

‘चक्कु आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन उनीमाथि प्रहरीले गोली चलाएको थियो । उनलाई अस्पताल लगिएको छ । उनी जीवित छन्,’ एस्ट्रोसीले पत्रकारहरूसँग भनेका छन् । प्रहरीका अनुसार आक्रमणमा कयौं घाइते भएका छन् ।
समाचार संस्था रोयटर्सले प्रहरी अधिकारीलाई उद्धृत गर्दै एक महिलाको घाँटी छिनालिएको समाचार लेखेको छ । एस्ट्रोसीका अनुसार बिहीबार हत्या गरिएकी महिला चर्चबाट भाग्ने प्रयासमा थिइन् ।
१६ अक्टोबरमा विद्यार्थीहरूलाई मोहम्मदको कार्टुन देखाएर पढाउने शिक्षक स्यामुअल प्याटीको हत्या भएको थियो । उनको पनि चक्कुले घाँटी छिनालिएको थियो । सो घटनापछि फ्रान्सका राष्ट्रपति इम्यानुअल माक्रोंले त्यस्ता कार्टुन देखाउनु अभिव्यक्ति स्वतन्त्रता भएको बताएका थिए ।
माक्रोंको अभिव्यक्तिले मुस्लिम राष्ट्रहरू आक्रोशित भएका थिए । कतिपय देशमा राष्ट्रपति माक्रोंविरूद्ध प्रदर्शन भएको थियो । त्यस्तै फ्रेन्च सामानहरू बहिस्कार समेत गर्न थालिएको थियो । (एजेन्सी)
