नेपालगन्ज, १६ माघ – बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ४ विकासनगरमा सोमबारदेखि प्रदेशसभा सदस्य गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री धर्मबहादुर चौधरी र प्रदेश सभा सदस्य रत्न खत्रीले उद्घाटन गर्नुभयो ।
उद्घाटनमा मन्त्री चौधरीले अहिले खेलकुद पर्यटनको राम्रो सम्भावना रहेको भन्दै युवाको पनि यसमा ध्यान जान जरुरी रहेको बताउनुभयो । मन्त्री चौधरीले खेलाडी उत्पादनसँगै टिकाउन जरुरी रहेको बताउँदै सरकारले भौतिक र मानवीय विकासलाई प्राथमिकतामा राखेको दावी गर्नुभयो ।
कार्यक्रममा बाँके क्षेत्र ३ (१) बाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले युवाहरूलाई रचनात्मक क्रियाकलापमा संलग्न गराउने उद्देश्यले स्थानीय युवाहरूको प्रस्तावमा प्रतियोगिता सुरु गरिएको बताउनुभयो । प्रदेशसभा सदस्य खत्रीको उत्प्रेरणामा बानियाभार स्मार्ट युवा क्लबको आयोजनामा सुरु भएको प्रतियोगितामा विभिन्न १९ क्लबको सहभागिता रहेको छ ।
उद्घाटनमा एन्फाका केन्द्रीय सदस्य भोजराज शाही लगायतले ग्रामीण क्षेत्रमा यसखालका प्रतियोगिताले नयाँ खेलाडी पहिचानर उत्पादनमा सहयोग पुग्ने बताउनुभयो । फुटबल प्रतियोगितासँगै माघी मिलन कार्यक्रम समेत आयोजना गरिएको छ । कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुती भएको थियो ।