
काठमाण्डौ, ३ बैशाख – गृह मन्त्रालयले इसाई धर्म प्रचार/प्रसारमा संलग्न भएको आरोपमा एक दक्षिण कोरियाली नागरिकलाई निष्काशन गरेको छ। पछिल्लो पटक उनी पर्यटक भिसामा नेपाल बस्दै आएका थिए।
अध्यागमन विभागमा इसाई धर्म प्रचारमा संलग्न भएको भन्दै लीविरुद्ध उजुरी परेको थियो। लगत्तै विभागले छानविन सुरु गरेको थियो।अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले इसाई धर्म प्रचार/प्रसार गरेको पाइएपछि कोरियाली नागरिक लीलाई निष्काशन गरिएको बताए।
महानिर्देशक अधिकारीले अन्नपूर्णसँग भने, ‘ती कोरियाली नागरिकले भिसाको दुरुपयोग गरेको पाइयो। जे उद्देश्यले भिसा लिएको हो सोही बमोजिम नेपाल बस्नुपर्छ।’
गृह मन्त्रालयका सचिव विनोद प्रकाश सिंहको‘सचिवस्तरीय’ निर्णयले दक्षिण कोरियाली नागरिक युन हो लीलाई एक वर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्काशन गरेको हो। अध्यागमन विभागले लीलाई सोमबार साँझ कोरियन एयरको जहाजबाट सिओल पठाएको छ।
अध्यागमन विभागमा इसाई धर्म प्रचारमा संलग्न भएको उजुरी परेपछि लीलाई उपस्थित गराउन विभागले पर्यटक प्रहरीलाई निर्देशन दिएको थियो। पर्यटक प्रहरीले चैत ६ गते कोरियाली नागरिक लीलाई उपस्थित गराएको थियो। अध्यागमन विभागका अधिकारीहरूले लीलाई चैत ७ गते बयान लिएका थिए। बयानका क्रममा उनले आफूमाथि लागेको आरोप निराधार भएको प्रमाणित गर्न सकेनन्।
