
काठमाण्डौं, ६ माघ – पुनर्जन्ममा विश्वास गर्नु तिब्बती बौद्ध संस्थाको पुनर्जन्मको अस्तित्वको मूलभूत आधार हो। तर, चिनियाँ सरकारले यसमाथि विश्वास गर्दैन। चीन जो न त तिब्बती हो न त आस्तिक, उसले १४ औँ दलाई लामाको चयन प्रक्रियामा हस्तक्षेप गर्न खोजिरहेको छ। तिब्बतमा आफ्नो अधिपत्य जमाएको चीनले दलाई लामाको पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्दैन। यसैले ‘पुनर्जन्म’ शब्दको सट्टा चीन ‘उत्तराधिकारी’ शब्द प्रयोग गर्न रूचाउँछ। चीनले यस मामिलालाई धार्मिक नभएर अन्य मामिलाहरू जस्तै व्यवहार गरेर तिब्बती बौद्ध धर्मावलम्बीहरूको आस्थालाई चोट पुऱ्याउने काम गरिरहेको छ। यसैले चीनले दलाई लामाको चयनमा आफ्नो अन्तिम अधिकार भएको दाबी गर्दछ।
चीनको कट्टर राष्ट्रवादी मानिने आधिकारिक पत्रिका ग्लोबलटाइम्सले जनवरी ५ मा उद्धृत गरेको बेजिङको “१४ औं दलाई लामाको उत्तराधिकारी खोज्ने कार्य” लाई मार्गदर्शन गर्ने र यसलाई अन्तिम स्वीकृति दिने अधिकारको पुन: पुष्टि गरेको आधार पनि यही हो।
निर्वासित तिब्बती सरकारका अध्यक्ष पेन्पा त्सेरिङले चीनले दलाई लामाको उत्तराधिकारी चयन गर्ने प्रक्रियामा ह्स्तक्षेप गर्नका लागि गत १५ वर्षदेखि तयारी गरिरहेको दाबी गरेका थिए। यसै आशंकाको कारणले गर्दा नै उनको प्रशासन एउटा लोकतान्त्रिक तरिकाले उत्तराधिकारी चयन गरियोस् भन्ने चाहन्छ। त्सेरिङले भने कि १९९५ मा चीनको कम्युनिस्ट सरकारद्वारा हस्तक्षेप भएको थियो, जब पन्चेन लामाको नियुक्तिका लागि एक युवालाई चयन गरिएको थियो। तब दलाई लामाद्वारा चयन गरिएको युवालाई जनताको नजरबाट ओझेल गरिएको थियो। उनीअनुसार चीन निश्चित रूपले दलाई लामाको उत्तराधिकारीको प्रक्रियामा हस्तक्षेप गर्नेछ।
पेन्पाले थप बताए कि अहिलेका दलाई लामा जब सशरीर रहने छैनन्, तब तिब्बतीहरूका लागि यो एउटा ठुलो चुनौति हुनेछ। विशेषगरी यदि चीन-तिब्बत विवाद समाधान भएन भने चुनौति अझ बढ्नेछ। सिक्योङको उपाधि धारण गर्ने त्सेरिङले भने कि चिनियाँ सरकारले सन् २००७ मा एउटा आदेश जारी गरेको थियो जसमा सबै अवतरित लामाहरूको उत्तराधिकारीमा सामेल हुने आवश्यकताबारे बताइएको थियो। उनले भने, “यो धर्मलाई राजनीतिक औजारको रूपमा प्रयोग गर्ने उद्देश्यले गरिएको हो। दलाई लामा चयन गर्ने कुरामा चीनको कुनै भूमिका छैन वा अन्य कुनै सरकारको नै भूमिका हुनेछ।
चीनले सन् १९९५ मा हस्तक्षेप गरेको थियो जब एक युवालाई पञ्चेन लामाको रूपमा छनौट गरिएको थियो। परम पावन (दलाई लामा) ले पहिचान गरेको बालक पञ्चेन लामाको रूपमा पहिचान गरिएको उक्त युवालाई गायब गरिएको थियो र उहाँ जीवित हुनुहुन्छ वा छैन भन्ने हामीलाई अझै कुनै खबर छैन भनी तिनले बताएका छन्। चिनियाँ सरकारले उनी “सामान्य” जीवन बिताइरहेको दाबी गरे पनि तिब्बती निर्वासित र मानव अधिकार समूहहरूले उनलाई कैदीको रूपमा राखिएको विश्वास गर्छन्।
तिब्बती बौद्धहरूले विश्वास गर्छन् कि उच्च लामा वा “जीवित बुद्ध” को आत्मा उनको मृत्युपछि “सोल बोय” को रूपमा पुनर्जन्म गर्न सकिन्छ र रहस्यमय संकेतहरूको व्याख्या मार्फत पाउन सकिन्छ। “कम्युनिष्ट चीनले धर्ममा विश्वास नगरेको दाबी गर्छ, तर पनि यो विशुद्ध धार्मिक कार्यमा हस्तक्षेप गर्न चाहन्छ”। “यदि चिनियाँ सरकारले पुनर्जन्म लिने कुरामा चासो लिन्छ भने उसले तिब्बती बौद्ध धर्मको अध्ययन गर्नुपर्छ” भन्दै पेन्पा त्सेरिङले चीनमाथि कटाक्ष कसे।
उल्लेखनीय कुरा के छ भने, सन् २०११ पछि पनि तिब्बतको धार्मिक नेतृत्व दलाई लामाकै हातमा रहेको थियो तर राजनीतिक नेतृत्व निर्वासनमा रहेको तिब्बती सरकारको प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा सिक्योङलाई हस्तान्तरण गरियो। सन् १९५० मा चीनले तिब्बतमाथि हमला गर्यो् र सन् १९५९ मा यसको विरुद्धमा आन्दोलन भयो, जसलाई चीनले निर्ममतापूर्वक दमन गरेको थियो । यस घटनापछि दलाई लामा आफ्ना धेरै समर्थकहरूसँग भारतमा शरण लिन पुगे र त्यसपछि उनले लोकतान्त्रिक रूपमा निर्वाचित संसद स्थापना गरे।
वर्तमान दलाई लामाले चीनको व्यवहारप्रति रूष्ट बन्दा चिनियाँ सरकारले बुद्ध धर्मलाई नष्ट गर्न खोजेको तथ्य पनि उजागर गरेका थिए। दलाई लामाले चिनियाँ सरकारले बुद्ध धर्मलाई नष्ट गर्ने प्रयास गरिरहेको तर त्यो प्रयास सफल हुन नसक्ने बता। दलाई लामाले आफ्नो प्रवचनमा बोल्दै चीनले बुद्ध धर्मलाई विषको रूपमा मानेको र यसलाई चीनबाट बाहिर निकाल्नको लागि व्यवस्थित अभियान चलाएको आरोप लगाएका छन्।
