
नेपालगन्ज, ११ पाैष – प्रेस स्वतन्त्रता सेनानी स्व. राम गोपाल वैश्यलाई आईतवार छैठौं वार्षिक पुण्यतिथिमा सहभागीहरूद्वारा अश्रुपुरित श्रद्धाञ्जली अर्पण गरिएको छ ।
प्रेस स्वतन्त्रता सेनानी स्व. श्री राम गोपाल वैश्य स्मृति प्रतिष्ठान नेपालगन्ज–७, बाँकेले स्व. श्री वैश्यको रानीतलाउ शहीद दशरथचन्द मार्गस्थित निज निवास अगाडि श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको थियो ।
यो श्रद्धाञ्जली कार्यक्रम प्रतिष्ठानका उपाध्यक्ष तथा उनका छाेरा अजयकुमार गुप्ताको पहलमा भएको हो । आईतवार साँझ ५ बजे आयोजित भएको सो कार्यक्रम रानीतलाउ वडा नं. ८ मा रहेको बागेश्वरी ब्रास बैण्डका बैण्ड मास्टर नीरज वंशकारले राम धुन बजाई शुभारम्भ गरेका थिए ।
सो पछि स्व. राम गोपाल वैश्यका साईंला भाई सुरेशकुमार गुप्ताले पहिले स्व. वैश्यको फोटोमा माल्यार्पण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए । सो पछि उहाँका घनिष्ठ मित्र लालचन्द शर्मा, अवधी पत्रकार विष्णुलाल कुमाल, मधइ सिंह सरदार, पत्रकार चन्द्रेश्वरराज त्रिपाठी, रमेशचन्द्र कुमाल, बनि अमिन सल्मानी, मनोजकुमार कौशल, समीर अली, आकाश कसौंधन, जेठो छोरा रविन्द्रकुमार वैश्यलगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
स्व. श्री वैश्यको जन्म वि.सं. २००१ मा भएको थियो भने २०७४ पौष ७ गते शुक्रवारका दिन प्रोष्टेण्ट क्यान्सरबाट निधन भएको थियो । वैश्यको निधन भएको झण्डैै ६ वर्ष व्यतीत भइ सकेको छ । उहाँको स्वर्गारोहण पश्चात पत्रकार रुद्र सुवेदीको प्रयासमा जिल्ला प्रशासन कार्यालय, बाँकेबाट यो प्रतिष्ठान दर्ता भएको थियो ।
यस प्रतिष्ठानको अध्यक्ष पदमा नन्दलाल वैश्य, उपाध्यक्षमा अजयकुमार गुप्ता, सचिवमा रुद्र सुवेदी, सहसचिवमा आशा ढकाल, कोषाध्यक्षमा अछरी पोखरेल, सदस्यहरुमा क्रमशः झलक गैरे, गोविन्द शर्मा, शुक्रऋषि चौलागाई, शकील अहमद हलवाई, विश्वजीत तिवारी, अनुपकुमार गुप्ता रहेका छन् । यस्तै सल्लाहकारमा पूर्णलाल चुके, हेमन्त कर्माचार्य, टिकाजंग शाह, बलबहादुर चन्द रहेका छन् ।
प्रतिष्ठानले ६ वर्षदेखि निरन्तर रुपमा विविध सामाजिक सेवा कार्य गर्दै आएको छ । यस वर्ष उपाध्यक्ष अजयकुमार गुप्ता सिकिस्त रुपमा बिरामी परेकोले रामधुनका साथ सादगीपूर्ण ढंगले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरेको हो ।
