Sunday, April 12सत्यम खबर
Shadow

व्यवसायीको समस्या समाधान गर्न चरणबद्ध दबावमूलक कार्यक्रम

नेपालगन्ज, ६ असोज – सम्बन्धित सरोकारवाला पक्षहरुले उद्योगी व्यवसायीहरुको समस्या समाधान गर्न ध्यान केन्द्रित गर्न व्यवसायीहरुको छाता संगठन नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी “चुन्ना” पत्रकार सम्मेलनमार्फत आग्रह गरेका छन् ।
अध्यक्ष मन्सुरीले कोरोना कालदेखि नै व्यापारीहरु मार खेप्दै आईरहेको अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा लागू गर्न लागिएको नीतिले व्यापारी झन मारमा पर्ने बताउँदै विगतदेखि नै खुला सीमानाकाले गर्दा समेत नेपालगन्जका व्यापारीहरुले सास्ती खेप्दै आईरहेको गुनासो पोखेका छन् ।


संघका प्रवक्ता टंक धामीले प्रेस विज्ञप्ती बाचन गर्दै “बैंक तथा वित्तिय संस्थाहरुले असोज १ गतेदेखि लागू हुने गरि ब्याजदरमा गरेको बृद्धिले कर्जाको ब्याजदर आकासिने हुँदा कोभिड महामारी र वित्तिय क्षेत्र असन्तुलनका कारण प्रभावित उद्यमी व्यवसायी मर्माहत भएका छौं । कारोबारको २०/२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिले साना तथा मझौला व्यवसायीहरु अपठ्यारोमा परेका छन् । यसलाई सहजीकरण गर्न नेपाल राष्ट्र बैंकसँग जोडदार माग गर्दछौं । यति मात्र होइन ऋण (साँवा/ब्याज) असुलीको नाममा बैंकहरुले अकस्मात व्यवसायीलाई ७ दिने सूचना पठाई आतंकित बनाई रहेका छन् । यसमा हाम्रो विरोध रहेको उल्लेख गरेका छन् ।”


अगाडी बाचन गर्दै “बढ्दो लागतका कारण साना तथा मझौला उद्यम बन्द गर्नुपर्ने अवस्था आएको छ भने उत्पादित सामानको मूल्य आकाशिएर आम सर्वसाधारणको जिविका पनि कष्टकर हुँदै गएको छ । उद्योगी व्यवसायीहरु एकातिर बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरको मार खेपिरहेका छन् भने अर्कोतर्फ खुल्ला सीमानाको फाइदा उठाउँदै हुने गरेको अवैध व्यापारले बैद्य व्यापार गरिरहेकालाई झनै समस्यामा पारेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघ वैद्य व्यापारको पक्षपोषण गर्छ भने स्वदेशी अर्थतन्त्रलाई धरासायी बनाउने गरी हुने अवैध व्यापारको विरोध गर्दै आएको” बताएका छन् ।
“अवैध आयातसँगै सस्तोको लोभमा सीमापारी किनमेलका लागि जाने उपभोक्ताका कारण स्वदेशी बजार ठप्प हुने अवस्था छ भने राज्यलाई करोडौको राजश्वको घाटा भइरहेको छ । स्वयं नेपालगन्ज भन्सार कार्यालयको लक्ष्य विगत केही महिनादेखि पुरा हुन नसकी ३५ प्रतिशतको हाराहारीमा कमी आउनुले अवैध व्यापारले कुन हदसम्म समस्या सिर्जना गरेको छ भन्ने प्रमाणित गर्दछ ।” भनी बताएका छन् ।
“अवैध आयात नियन्त्रण र स्वदेश मै किनमेलको वातावरण बनाउन सरोकारवाला निकायबीच सहकार्य आवश्यक छ । बैंकको चर्को ब्याजदर नियन्त्रण र खुल्ला सीमानाका कारण उत्पन्न समस्या समाधानका लागि सरोकारवाला निकायलाई गम्भीर ध्यानाकर्षण गराउन नेपालगन्ज उद्योग वाणिज्य संघले निम्न अनुसार चरणबद्ध दवावमूलक कार्यक्रम गर्ने निर्णय गरेको” पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।


चरणबद्ध आन्दोलनका कार्यक्रमहरुमा असोज ७ गते शुक्रबार बिहान १० बजे बैंकहरुको चर्को ब्याजदर बृद्धि र कारोबारको २०÷२५ प्रतिशत मात्र ऋण लगानी गर्ने नेपाल राष्ट्र बैंकको पछिल्लो नीतिको बिरोधमा नेपाल राष्ट्र बैंक नेपालगन्ज कार्यालय अगाडी एक घण्टा धर्ना एवं ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको तथा असोज ८ गते शनिबार बिहान ८ बजे अवैध आयात नियन्त्रण र स्वदेशमै किनमेलको प्रोत्साहन गर्न नेपालगन्ज भन्सार कार्यालय, जमुनाह नाकामा उपभोक्ता सचेतना एवम् दबावमूलक कार्यक्रम रहेको जनाईएका छन् ।


पत्रकार सम्मेलनमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष मन्सुरी “चुन्ना”, निवर्तमान अध्यक्ष नन्दलाल वैश्य, तयारी कपडा ब्याग तथा जुत्ता चप्पल खुद्रा व्यवसायी संघका अध्यक्ष शिवप्रसाद दहाल, नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष टंकप्रसाद शर्मा, नेपालगन्ज वितरक संघका अध्यक्ष गणेश भण्डारी, नेपालगन्ज किराना तथा खाद्य व्यवसायी संघका अध्यक्ष फणाधर भण्डारी, नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका अध्यक्ष किशोर आचार्यलगायत उद्योग व्यवसायीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव जिरञ्जीवी ओलीले गरेका थिए ।

https://www.youtube.com/watch?v=YReUTceG658

Leave a Reply

Your email address will not be published. Required fields are marked *