Friday, April 17सत्यम खबर
Shadow

महेन्द्र पुस्तकालयको नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुको प्रमाणपत्र वितरण तथा पदस्थापन

नेपालगन्ज, २ असोज – महेन्द्र पुस्तकालयको नवनिर्वाचित कार्यसमितिको पदस्थापन सम्पन्न भएको छ । पुस्तकालयको भदौ २८ र २९ गते सम्पन्न १७ औँ अधिवेशनबाट बलराम यादवको अध्यक्षतामा निर्वाचित कार्यसमितिलाई शनिबार निर्वाचन समितिले पदस्थापन गराएको छ ।
निर्वाचन समितिले आयोजना गरेको प्रमाणपत्र वितरण, सपथ ग्रहण तथा बधाई ज्ञापन कार्यक्रममा वीच निर्वाचन समितिका संयोजक अधिवक्ता लोकबहादुर शाहले कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउँदै प्रमाण पत्र प्रदान गरे भने सदस्य पूर्णलाल चुकेले निर्वाचितहरुलाई माला लगाएका थिए ।


शाहको अध्यक्षतामा सम्पन्न पदस्थापन कार्यक्रममा उपाध्यक्षमा पंकज श्रेष्ठ, सचिव मणी अर्याल, सहसचिव ऋचा लुईँटेल, कोषध्यक्ष अजयकुमार टण्डन र सदस्यहरुले पथ तथा गोपनियतको सपथ लिएका थिए । पुस्तकालयका सदस्यहरुमा मीना सुवेदी ढकाल, ब्रिजेशबहादुर सिंह, सुनिल भण्डारी, जमिल अहमद सिद्धकी, अस्मिता शाह महतारा र वीरेन्द्र जैसी रहेका छन् ।
पदस्थापन कार्यक्रममा बोल्दै वरिष्ठ साहित्यकार एवं पुस्तकालयका पूर्व सचिव सनत रेग्मीले अब पुस्तकालयलाई सुधार गरेर लैजान नयाँ कार्यसमितिलाई आग्रह गरे । अढाई दशकसम्म अलपत्र परेको पुस्तकालयलाई नयाँ कार्यसमितिले नयाँ दिशा दिने विश्वास उनले व्यक्त गरे । पुस्तकालयमा पाठकहरुको आवागमन सुचारु, नयाँ भवन निर्माण र पठन संस्कृतिको विकास मुख्य कार्यभार रहेको उनले स्मरण गराए ।
यसैगरी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य हरि तिमिल्सेनाले पुस्तकालयलाई नयाँ स्वरुप दिन दत्तचित्त भएर लाग्न नवनिर्वाचित कार्यसमितिलाई आग्रह गरे ।
निर्वाचन समितिका सदस्य वरिष्ठ पत्रकार पूर्णलाल चुकेले पश्चिम नेपालकै ऐतिहासिक धरोहर र गौरवमय इतिहास बोकेको पुस्तकालयको प्रजातान्त्रिक पद्दति अनुसार ७६ वर्षको इतिहासमा पहिलो पटक निर्वाचन प्रक्रियाबाट निर्वाचित नयाँ कार्यसमितिले यसको संरक्षण सम्वद्र्धन र विकासको लागि काम गर्ने विश्वास व्यक्त गरे । नेपालगन्जकै सीमित व्यक्तिहरुको नेतृत्वमा रहेको, तर २६ वर्षसम्म निस्क्रिय रहेको समितिमा बाँकेका सबै क्षेत्रबाट प्रतिनिधित्व गरेको नव निर्वाचित समितिले पुस्तकालयको समुचित व्यवस्थापन र विकासका लागि योगदान दिनुपर्ने बताएका छन् ।
निर्वाचन समितिका संयोजक अधिवक्ता शाहले पुस्तकालयका लागि आर्थिक स्रोतको अभाव नभएको, तर इमान्दार नेतृत्व आवश्यक भएको बताए । सपथ ग्रहण पछि बोल्दै पुस्तकालयका अध्यक्ष बलराम यादवले आजीवन सदस्य, समुदाय, संघसंस्था र राज्यका विभिन्न निकायको सहयोग लिएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
पदस्थापन कार्यक्रम पछि लगत्तै बसेको नवनिर्वाचित कार्यसमितिले निर्वाचन सम्पन्न गराउने निर्वाचन समिति र तदर्थ समितिलाई धन्यवाद ज्ञापनका साथै उपमहानगरपालिकासँग सहकार्य गरेर नेपाल–भारत कवि गोष्ठी गर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *