
नेपालगन्ज, २४ साउन – केही दिन अगाडी बागेश्वरी मन्दिरको पुर्वतर्फ रहेको खाली जग्गा संरक्षण गर्ने गरी बालपार्क निर्माण सुरु गरिएको कार्य आज नेपालगन्ज उपमहानगरपालिका उपमेयर कमरुद्दीन राईको निर्देशनमा रोकिएको छ ।
उक्त खाली जग्गा संरक्षण गर्न निर्माण हुन लागेको बालपार्क, रेष्टुरेन्टलगायतको कार्य उद्घाटन गरिएकै दिनदेखि लगातार रुपमा त्यसको विरोध हुँदै आईरहेको विषयमा आज दिउँसो नागरिक समाजका अगुवा, कानुन विदहरु, नेपाल शिवसेनाका प्रतिनिधि, विश्व हिन्दु परिषदका प्रतिनिधि, सञ्चारकर्मीलगायतको सहभागितामा बैठक बसी निर्माण कार्य रोकिएको छ ।

बागेश्वरी मन्दिरको पुर्वतर्फको खाली जग्गामा सि.नं. ०३५१४५००७ को कि.नं. २ मा १ कठ्ठा २ धुर र कि.नं. ३ मा ३ कठ्ठा १ धुर जग्गा रहेको छ । यसैगरी सि.नं. ०३५१४५००२ को कि.नं. २१ मा ५ कठ्ठा ९ धुर जग्गा रहेको छ ।
गत आईतबार नगर प्रमुख विष्टले शिलान्यास गरेका ५ कठ्ठा ९ धुर जमिनमा बालपार्क निर्माण हुनेछ भन्ने समाचार प्रकाशन भएदेखि सार्वजनिक सञ्चालमार्फत विरोध हुँदै आईरहेको तथा सोही विषयमा उपमेयर राईको सहभागितामा आज बैठक बसेको थियो ।
आउने दिनमा बालपार्क कसरी निर्माण गर्ने, नेपालगन्ज उपमहानगरबासीहरुलाई खुला वातावरण, हरियालीमैत्री, धार्मिक महत्व झल्कने गरी निर्माण कार्य गर्ने उपमेयर राईले बताउनुभयो ।
