
काठमाण्डौं, ३ साउन – युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक)ले निर्माणाधिन मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको अनुगमन गर्नु भएको छ । निरिक्षणका लागि सोमबार बिहान मुलपानी पुग्नु भएका मन्त्री अथकले निर्माणाधिन रंगशालाको निर्माण कार्य युद्धस्तरमा अघि बढाउन निर्देशन दिनु भएको छ ।

आगामी २ वर्ष भित्रै सम्पन्न हुने गरी निर्माण कार्य अगाडी बढाउन निर्देशन दिदैं मन्त्री अथकले गुणस्तरियताका लागि प्राविधिक पाटोलाई समेत ख्याल गर्नुपर्ने बताउनुभयो ।
मन्त्रालयका सचिव डा. दामोदर रेग्मी र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङसहित रंगशालाको निरिक्षणमा पुग्नु भएका मन्त्री अथकले खेलकुदलाई उद्योगको रुपमा विकास गर्नुपर्ने बताउँदै त्यसका लागि सबै खेलप्रेमीको इमान्दार प्रयासको आवश्यकता रहेको बताउनु भएको थियो ।

अनुगमन तथा निरक्षणका क्रममा मन्त्री अथकले त्यहाँ अभ्यासरत खेलाडीहरुसँग भेटघाट गरी उनीहरुको हौसला समेत बढाउनु भएको थियो ।
