Tuesday, April 14सत्यम खबर
Shadow

“पूर्ण साक्षर जिल्ला बनाउने अभियानमा लाग्न निर्देशन” : मन्त्री अथक

नेपालगन्ज, १ साउन – बाँकेलाई साक्षर जिल्ला घोषणा गरीएको छ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले शनिबार साक्षर घोषणा कार्यक्रममा बाँकेलाई साक्षर जिल्ला घोषणा गर्नुभएको हो । साक्षर घोषणा भएकाहरु मध्ये देशभरमा बाँके ६१औ जिल्लामा पर्दछ भने लुम्बिनी प्रदेशमा ११ औं नम्बरमा पर्दछ ।


साक्षर जिल्ला घोषणा गर्दै मन्त्री अथकले जिल्लाको साक्षरता प्रतिशत ९६.५६ रहेको बताउनुभयो । बाँकेलाई साक्षर जिल्लाका रुपमा घोषणा गर्न पाउँदा धेरै खुशी लागेको भन्दै मन्त्री अथकले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै लाग्नुपर्ने बताउनुभयो ।
“बाँकेलाई पूर्ण साक्षर जिल्ला घोषणा गर्न बाँकी छ”, उहाँले भन्नुभयो, “अझैं ३.४४ प्रतिशत साक्षर हुन बाँकी छन्, त्यसैले सम्बन्धित सबैलाई पूर्ण साक्षर अभियानमा लाग्न आग्रह गर्दछु ।” उहाँले जिल्लालाई पूर्ण साक्षर बनाउन सबै पालिकाहरुले आवश्यक बजेट विनियोजन गरी साक्षरता अभियान संचालन गर्नुपर्नेमा समेत जोड दिनुभयो ।


बाँकेका ८ वटै पालीकालाई साक्षर घोषणा गरीएसँगै जिल्लालाई साक्षर घोषणा गरीएको हो । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवका अनुसार कोहलपुर नगरपालिका ९६.४२ प्रतिशतसहित जिल्लाको पहिलो साक्षर पालिका घोषणा भएको थियो । २०७६ सालमै साक्षर घोषणा भएको कोहलपुरले पुरस्कार स्वरुप ५० लाख रुपैया प्राप्त गरेको थियो ।


त्यसैगरी खजुराले ९६.९९ प्रतिशत, जानकीले ९८.६७ प्रतिशत, राप्तीसोनारीले ९५.११ प्रतिशत, नरैनापुरले ९६.१९, बैजनाथले ९७.५ प्रतिशत, नेपालगन्जले ९८.३९ प्रतिशत र डुडुवाले ९६.२५ प्रतिशत प्राप्त गर्दै साक्षर पालिका घोषणा भएका थिए । बिभिन्न १२ वटा सूचकका आधारमा बाँकेका ८ वटा पालिकालाई साक्षर घोषणा गरीएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *