
नेपालगन्ज, ८ असार – नेपाली खेलकुदका कुशल प्रशासक अशोकजंग थापाले पाँच दशक अघि मोफसलका खेलाडीले राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा सहभागिता जनाउनु पर्दा गर्नुपरेको संघर्षका कथा सुनाउँदा सहभागीले निकै चासोका साथ सुने । ‘व्यक्तिव्यक्तिसँग पैसा उठाएर खेलाडीहरु प्रतियोगितामा भाग लिन जान्थे ।’ तत्कालीन भेरी अञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख थापाले सुनाए– ‘मैले अञ्चलाधिसँग कुरा गरेर व्यवस्थित गराउन पहल गरें, बजेट अलग्गै छुटिन थाल्यो, बिस्तारै खेलाडीको पहुँच राजधानीसँग सहज हुँदै गयो ।’ उमेरले असीको दशक छुन लागेका थापा बुधवार नेपालगन्जमा सम्मानित भए ।

नेपाल ओलम्पिक कमिटी अन्तर्गत स्पोर्ट्स फर अलकमिसन (लुम्बिनी प्रदेश कमिटी) ले ओलम्पिक डेका अवसरमा पहिलो पुस्ताका ११ जना अग्रज खेलकर्मीलाई सम्मान गरेको हो । सम्मानित हुनेमा थापासँगै अजितकुमार शर्मा, रतन टण्डन, सच्चिदानन्द चौवे, विश्वनाथ चौवे, बिष्णुमान श्रेष्ठ, फजल अब्बास रिज्वी, गोवद्र्धन सिंह सम्झना, गोविन्द श्रेष्ठ, राकेश श्रीवास्तव, शान्ति सिंह रहेका छन् ।
ब्याडमिन्टन, भलिबल लगायत खेलको राष्ट्रिय प्रतियोगिताहरुमा सहभागि अजितकुमार शर्मा एशियाली खेलकुदमा भलिबल तर्फ रेफ्रीको जिम्मेवारी निर्वाह गर्ने एक मात्र नेपाली हुन् । उनले सिओल एशियाड खेलाएका थिए । सम्मानित सबैजना आफ्नो समयका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सहभागि भइसकेका खेलकर्मी हुन् । स्पोर्ट्स फर अलक मिसन लुम्बिनीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एवं ओलम्पियन जन्माउन योगदान दिने अग्रजलाई सम्मान गरेको जनाएको छ । सुर्खेतरोड स्थित वेष्टर्न मलमा सम्मान कार्यक्रम आयोजना गरिएको हो ।

नेपाली सेना श्री नं. ४ वाहिनी अड्डाका बाहिनीपति सहायक रथी उत्तमकुमार बिष्ट, राष्ट्रिय खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी, लुम्बिनी खेलकुद परिषदका सदस्य नरेन्द्र थापा, निवर्तमान सदस्य सचिव भिम ओली, कृष्णप्रसाद श्रेष्ठले खादा, माला र कदरपत्रले सम्मान गरेका हुन् ।
कार्यक्रममा सम्मानित व्यक्तित्व अजितकुमार शर्माले पहिलो पुस्ताका खेलाडी सच्चिदानन्द चौवेतर्फ लक्षित गर्दै धोतीलगाएर भलिबल खेलेको संसार कै बिरलै घटना नेपालगन्जमा आफुले देखेको रोचक किस्सा सुनाए । खेलकुद कै कारण नेपालगन्जको सामाजिक सदभाव कायम रहेको पनि उनले सुनाए ।
नेपालगन्जबाट चार जना ओलम्पियन निस्केका छन् । ओलम्पियन सुरेन्द्र हमाल (भारोत्तोलन), पार्वती थापा (सुटिङ), अनिता श्रेष्ठ (सुटिङ) र सोनिया भट्ट (जुडो) नेपालगन्जबाट ओलम्पिकसम्मको यात्रा तय गर्ने खेलाडी हुन् । नेपाली खेलकुद इतिहासमा नेपालगन्जले बृहत राष्ट्रिय खेलकुदका दुई संस्करण आयोजना गर्ने एकमात्र सहरको पहिचान समेत बनाएको छ । धारा नेपालगन्ज म्याराथन र सगरमाथा सिमेन्ट पिएमकप महिला भलिबल आठ बर्षदेखि नियमित सञ्चालन हुँदै आएका राष्ट्रिय स्तरका इभेन्ट हुन् ।
ओलम्पिक डेका अवसरमा विविध कार्यक्रम गर्ने बाँके जिल्ला साइक्लिङ संघ, पौडी संघ, ब्याडमिन्टन संघ, भलिबल संघ, तेक्वान्दो डोजाङ लगायतलाई मायाको चिनो समेत प्रदान गरिएको थियो । साइक्लिङ संघका अध्यक्ष गगन थापा, ब्याडमिन्टन अध्यक्ष सञ्जय थापा, पौडी अध्यक्ष सम्झना, तेक्वान्दो प्रशिक्षक बिमला भण्डारी, भलिबलका सुमन बस्नेतले मायाको चिनो प्राप्त गरेका थिए ।
ओलम्पिक डे कार्यक्रम सम्पन्न गर्न वेष्टर्न मल, जारा प्रिन्टर्स, धारा नेपालगन्ज म्याराथन र पिएमकप आयोजकको सहयोग रहेको थियो ।
