Tuesday, October 22सत्यम खबर
Shadow

अमेरिका चर्चा: डा. देब जोशी

मिति: २०७९ जेष्ठ १४ गते, शनिबार
मानिसहरु अमेरिकाको बारेमा कुरा गर्दछन् । आज नेपालको गाउँ-गाउँमा अमेरिकाको चर्चा छ, र यो अकारण छैन । यो यसकारण पनि महत्वपूर्ण छ कि मैले पहिले लेख्ने कोसिस गरेको महाशाक्तिहरुको नयाँ दिग्विजयको दुन्दुभी अन्तर्गत भै-रहेको छ । यो निसन्देह: इतिहासको पुन: अन्त्यको कोसिस र भाष्य सिर्जनाको शृंखला अन्तर्गत भैरहेको छ । तर, मेरा अमेरिका सम्झनाहरु भने सरल छन् – मलाई नेपाली कथानक चलचित्र ‘ट्रक-ड्राइवर’को धूमिल सम्झना भै-रहेछ। त्यसका एक जना रक्स्याहा पात्र – सम्भवत: मदनकृष्ण श्रेष्ठ – ले कुनै मदिरालयमा आफ्ना लाहुरका सम्झनाका पोयाहरु ऊधिन्नु भएको एक दृश्य छ। त्यो बिश्व-युद्दको कुनै मोर्चामा कसरी एक बहादुर नेपालीले प्रतिकूलता सामना गर्यो, परिस्थिति माथि बिजयी भयो भन्नेसँग सम्बन्धित छ। र आजको यथार्थ यो छ कि नेपालको जनसंख्याको ठूलो हिस्साले अमेरिका प्रबासको बाटो रोजेको छ । र, यो यथार्थको दुर्भाग्य यो छ कि नेपालीहरुको पाताल प्रबास ‘ट्रक-ड्राइवर’ चलचित्रका रक्स्याहा पात्रको स्मृति सिबाय अन्य कुनै उच्च तहमा आबर्तित भै-रहेको छैन।

फेरि पनि तथा कथित बौद्दिक संभ्रान्तहरुले (अथवा आधुनिक सुपठित रक्स्याहाहरुले) त्यही लाहुरको हिङ्ग भएको टालो देखाएर नेपालीहरुलाई रैतीमा नै परिणत गरि रहने दुस्साहस गरि-रहनु भएको छ – तथा कथित बौद्दिकताको आवरणको आडमा । अन्तर्यमा यसमा कुनै भिन्नता छैन – ती चलचित्रका रक्स्याहा र यी बास्तबिक जीबनका सम्भ्रान्तहरु बीच तर, जति सुकै शुष्कताबीच समाज र राष्ट्रले आशाको संजीवनीको आविष्कार गर्दो रहेछ । साम्पाङ्ग/बालेन/तथा हमालहरुको बिजयमा सबै किसिमका रक्स्याहाका छद्म भाष्यहरुलाई चिर्दै एक नूतन भबिष्यको अनावरणको सत्बीज छर्ने सम्भावनालाई उजिल्याएको छ – एक नितान्त जैबीक गोरेटोको सम्भावना सहित । म अपेक्षा राख्दछु, यो लामो सप्ताहान्तको प्रारम्भमा – त्यो आशा र सम्भावनालाई नयाँ पुस्ताले अक्षुण्ण राख्न सकोस् भबिष्यका पानाहरुमा किनकि आजको बिश्व-ब्यबस्थामा साना मुलुकहरुको सार्बभौमिक तथा सग्लो अस्तित्व एक गहन प्रश्न बनेर उभिएको छ – खास गरी अहिले जारी युक्रेन प्रकरण पश्चात । त्यो आशा नै यो सम्प्ताहंतको पहिलो संदेश होस्। त्यही अपेक्षा सहित यो सानो टिपोटको बिट मार्न चाहन्छु । क्षमा याचना सहित । अस्तु ।
(लेखक हाल अमेरिकामा अन्तरीक्ष बैज्ञानिक हुनुहुन्छ )

Leave a Reply

Your email address will not be published. Required fields are marked *