Saturday, April 25सत्यम खबर
Shadow

सडक दुर्घटना न्युनीकरण सम्वन्धी स्थानीय तहमा कानून बनाउनु पर्नेमा जोड

नेपालगन्ज ९ जेठ – दिगो विकासका लागि सुरक्षित सडक र सवारी भन्ने मूल अभियानलाई नेपालगन्जमा सैदान्तिक अनुमोदन गरिएको छ । लुम्विनी प्रदेशका मन्त्री, संसादहरु, नेपालगन्जका मेयर, बाँकेका प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न संघसंस्था अधिकारकर्मी लगायतको उपस्थितीमा उक्त अभियानलाई अनमोदन गरिएको हो ।


नासा नेपालको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले आईतबार आयोजना गरेको कार्यक्रममा लुम्बिनी तथा कर्णाली प्रदेशको सार्वजनिक यातायात व्यवस्थापन, सडक सुरक्षा, उपचार तथा पूर्ण स्थापना र एकताबद्ध प्रयास लगायतका विषयमा छलफल गरिएको थियो । मोटरसइक्लिंग सुरक्षाका लागि सुरक्षित हेल्मेट, सडक सुरक्षा काउन्सिल तथा मानव अधिकारको विषयमा समेत सहभागीहरुले आ–आफनो धारणा राखेका थिए ।


कार्यक्रमका सहभागिहरुले सडक दुर्घटना न्युनीकरणमा आफैबाट आफनो जिम्मेवारीबोध गरिएमा सहयोग पुग्ने र यस सम्वन्धीका कडा कानूनको निमार्ण गरि कार्यन्वयनमा जोड दिनुपर्ने माग गरेका थिए ।
कार्यक्रममा लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री सुरेन्द्रबहादुर हमालले सडक सुरक्षा नियन्त्रणका बारेमा प्रदेशस्तरबाट कानून, निति निर्माणको कार्यलाई जोड दिने भन्दै यसमा सबैको भुमिका प्रभावकारी बढाउनुपर्ने बताउनुभयो । प्रदेश सांसद आइपी खरेलले सडक सुरक्षासँग सम्वन्धित विषयमा विशेष ध्यान दिइ नागरिक स्तरबाटै सचेत हुनुपर्ने बताउनुभयो । अर्का सांसद कृष्णा केसी नमुनाले सडक दुर्घटना दिनदिनै बढदै गइरहेकाले यसको नियन्त्रणका लागि सबै जुटनुपर्ने भन्दै प्रदेश र स्थानीयस्तरबाट निर्माण हुने कानूनहरुको कार्यन्वयन गर्न प्रतिबद्धता गर्नुभयो ।


कार्यक्रममा विश्व परिषद सदस्य गाविन्द भटराईले सडक सुरक्षाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा ओर्थपेडिक सर्जन डा. प्रकाशबहादुर थापा, जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख हिमालय शाह, इन्जिनियर निमेष शर्मा, नेपाल पत्रकार महासंघ लम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई, प्लाष्टिक सर्जरी तथा सामाजिक अभियन्ता डा विनोद कर्णले छुट्टाछुट्टै प्रस्तुतीकरण गर्नुभएको थियो ।


कार्यक्रममा नेपालगन्ज मेयर प्रशान्त विष्ट, राष्ट्रिय मानव अधिकार आयोग नेपालगन्जका प्रमुख झंकर रावल, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, खेलकुद परिषदका सदस्य सुमित्रा चौधरी युवा नेता भिम ओली, अधिकारकर्मी भोला महत, सुदिप भट्टराई, बसन्त गौतम, तोजेन्द्र विक, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दिपेन्द जोशी लगायतले बोल्नुभएको थियो ।


त्यस अवसरमा सडक सुरक्षाको सचेतनामुलक सन्देश प्रवाह गर्नका लागि नेपालगन्जका १२ वटा सार्वजनिक कार्यालय तथा संस्थाहरुलाई गुणस्तर प्रमाणित हेलमेट हस्तान्तरण गरिएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सडक सुरक्षा सम्वन्धी विश्वयापी प्रतिवद्धता पत्रमा सम्पुर्ण सहभागिहरुले हस्ताक्षर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *