

नरैनापुर, १० फागुन- आज नेकपा एमाले नरैनापुर बाँकेले ईलाका प्रशासन कार्यालय नरैनापुरमा पुर्नस्थापना गर्ने लगायत ३ बुँदे माँग सहित प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै तत्काल माँग पुरा नभए आन्दोलन गर्न बाध्य हुने जानकारी गराएको छ ।

इलाका प्रशासन कार्यालय नरैनापुरलाई तत्काल नरैनापुरमा पुर्नस्थापना गरी नेपाली नागरिकता प्रमाणपत्र लगायतका सेवा सुबिधाहरु सरल, सुलभ तरिकाले उपलब्ध गराउन ब्यवस्था मिलाउने, नेपाली किसानहरुले भारतबाट रासायनिक मल खाद बिउ बिजन र बाली नालीमा प्रयोग गर्ने औषधी लगायतको कृषि सामग्रीहरु ल्याउंदा सिमानामा रहेका सुरक्षाकर्मीले अवरोध श्रृजना नगर्ने, सम्मान जनक ब्यवहार गर्ने तथा मल खादका साथै सवारी साधनहरु जफत नगर्ने गरी तत्काल ब्यवस्थापन गर्नुपर्ने र भारतीय नम्बर प्लेटका सवारी साधनहरु सहित नरैनापुर वासीहरुलाई नेपाली नागरिकता प्रमाण पत्रको आधारमा नरैनापुबाट नेपालगञ्ज र कोहलपुर सम्म आवत जावतमा सुरक्षाकर्मीहरु द्वारा अवरोध श्रृजना नगर्ने साथै सम्मानजनक ब्यवहार गर्ने गरी तत्काल ब्यवस्थापन गर्न मांग गर्दै जिल्ला प्रशासन कार्यालय बाँके नेपालगञ्जमा नेकपा एमाले नरैनापुर का अध्यक्ष पंचराम यादवले पार्टीको तर्फबाट ज्ञापनपत्र बुझाएका छन ।

नरैनापुर गाऊँ पालिका वडा नं.४ मा स्थापित इलाका प्रशासन कार्यालय नरैनापुर २०७२ सालमा असुरक्षाको कारण देखाई नेपालगञ्जमा बिस्थापित भएको र हाल सम्म पुर्नस्थापित नभएको कारणले इलाका प्रशासन कार्यालयबाट सहजै प्राप्त हुने सेवा सुबिधा (नागरिकता प्रमाण पत्र बनाउने लगायत) बाट नरैनापुर वासीहरु बञ्चित भएका छन वा सो सेवा लिन बढी आर्थिक भार पर्ने गरेको छ । खास गरी बृद्ध बृद्धा, अपाँङ्गहरु नेपालगञ्ज आवत जावत गर्न नसक्ने कारणले नागरिक्ता बनाउन नसकी बृद्ध÷बिधवा÷अपाँङ्ग भत्ता लगायत राज्यबाट प्राप्त हुने सेवा सुबिधाबाट बञ्चित भई राज्यबाट प्राप्त सुबिधा सस्तो सरल र सुलभ तरिकाले प्राप्त हुन सकेको छैन भनी स्थानिय वासीहरुको गुनासो रहेको छ ।
नेपाल कृर्षि प्रधान देश भएपनि सब भन्दा बढी किसान नै मर्कामा परेका छन । वढी उत्पादनको लागि आवश्यक पर्ने रासायनिक मल, खाद, बिउ, औषधिहरु राज्यले समयमा उपलब्ध गराउन नसक्नुको कारण मित्र राष्ट्र भारतबाट नरैनापुर बासीहरु ल्याउन बाध्य छन । भारतमा सुलभ रुपमा उपलब्ध रासायनिक मल नेपाल भित्रयाउंदा सिमानामा रहेका सुरक्षाकर्मीहरुले मल, खाद, साईकल, मोटर साईकल समेत जफत गर्ने वा बिभिन्न किसिमले दुःख दिने गरेका छन । जसले गर्दा उता सवारी साधन जफत हुन्छ, भने यता बाली नाली मल नपाई नष्ट हुने गर्दछ । अन्नदाताको रुपमा रहेका किसानहरु दोहरो मारमा पर्दै आएको कारण राज्य बर्षेनी अर्बौको खाद्यान्न आयात गर्न बाध्य रहेको देखिन्छ ।
यस कारण नरैनापुर बासीहरुको भारत संग रोटी बेटीको सम्बन्ध रही आएको हुनाले बिभिन्न प्रयोजनको लागि भारतमा आवत जावत गर्नु पर्ने हुँदा प्रायः भारतीय नम्बर प्लेटका मोटर साईकल प्रयोग गर्ने गर्दछन । औषधी उपचार वा राज्यलाई कर तिर्ने लगायत कार्यको लागि नरैनापुर बासीहरु नेपालगञ्ज वा कोहलपुर आउँदा जाँदा सोही सवारी साधन प्रयोग गरी बाटोमा ट्राफिक प्रहरीले बिभिन्न किसिमले दुःख दिने गरेका छन । जसले गर्दा प्रायः नरैनापुर वासीहरु नेपालगञ्ज नआई भारतीय क्षेत्र मै आवत जावत गर्न बाध्य छन भने राज्यलाई प्राप्त हुने कर समेत प्राप्त गर्न सकेको छैन । यस कारण नरैनापुर बासीहरुलाई नेपालगञ्ज कोहलपुर सम्म आवत जावतको लागि प्रशासन लचिलो हुनुपर्ने माँग रहेको छ ।
नरैनापुर वासीहरुलाई आफ्नै घर दैलोमा सेवा सुबिधा उपलब्ध गराउन र मल खाद सरल तरिकाले ल्याउन र नरैनापुर बासीहरुलाई नेपालगञ्ज कोहलपुर संग सम्बन्ध प्रगाढ बनाउन उपरोक्त सुबिधा र सहुलियत उपलब्ध गराउन नेकपा एमाले नरैनापुरले जोडदार माँग गरेको छ ।
ज्ञापनपत्र बुझाउने क्रममा बाँके जिल्ला इंचार्ज सूर्य ढकाल, राम कुमार दीक्षित, जिल्ला सदस्य सोहनलाल यादव, राजकुमार तिवारी, डुडुवा गाऊ पालिका नेकपा एमाले सचिव विनय राज त्रिपाठी, नरैनापुर वडा नं.२ का अध्यक्ष हारुन खाँ, वडा नं. ३ का अध्यक्ष ताज खाँ, गिरवर प्रसाद यादव लगायत को सहभागिता रहेको थियो ।
