
नेपालगन्ज, २३ असोज – घरेलु हिंसाका कारण ज्यान गुमाएका बाँकेका दुई महिलाको निम्ति न्याय माग्दै नेपालगन्जबाट हिँडेर काठमाण्डौ पुगेको टोलीलाई सरकारले वार्तामा बोलाएर कुरा सुन्नुको साटो माइतीघर धर्ना स्थलबाटै पक्राउ गरेको छ ।
माइतीघर मण्डलमा धर्ना दिइरहेका करिब १४ जनाको टोलीलाई शुक्रबार राति प्रहरीले जबर्जस्ती भ्यानमा हालेर लगेको हो । प्रहरी पक्राउ गर्न जाँदा उनीहरू कोही खाना खाँदै थिए भने कोही सुतिरहेका थिए । सुतिरहेका र खाना खाइरहेकै बेला प्रहरीले उनीहरूलाई जबर्जस्ती उठाएर लगेको थियो ।
प्रहरीले भने उनीहरूलाई पक्राउ गरेको नभएर सुरक्षाका लागि नियन्त्रणमा राखेको बताएको छ ।
‘चाडबाड बेला माइतीघरमा सुतिरहेको र त्यहाँबाट हट्न नमानेकाले सुरक्षित ठाउँमा सारिएको हो,’ जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले भने, ‘सबैलाई नगर प्रहरी कार्यालयमा राखिएको छ ।’ उनीहरूको माग के कसरी सम्बोधन गर्ने भनेर छलफल भइरहेको पनि बस्नेतले बताए ।
सुरक्षित ठाउँमा सारेको भनिए पनि माइतीघरमा धर्ना दिँदा के कति कारणले जोखिमपूर्ण थियो भन्नेबारे प्रहरीले प्रस्ट जवाफ दिएको छैन ।
बाँकेका नन्कुन्नी धोबी र निर्मला कुर्मीको हत्यामा प्रहरीले प्रभावकारी रूपले अनुसन्धान नगरेको र दोषी पत्ता लगाउन कुनै चासो नदिएको भन्दै करिब १४ जनाको टोली न्याय माग्दै नेपालगन्जबाट हिँडेरै काठमाण्डौ पुगेको थियो ।

