Sunday, April 26सत्यम खबर
Shadow

साताको एक दिन ब्रत बसौं

– डा अरुणा उप्रेती

‘यसपालिको तीजमा नो ब्रत प्लिज’ गीतले धेरै बहस उत्पन्न गरायो । आफूलाई लागेको कुरा मज्जासँग राख्न पाउनु नै लोकतन्त्रको सुन्दर पक्ष हो ।
यो गीतमा धेरैले आ–आफ्नै राय दिए । तीजको ब्रतबारे बेग्लै बहस होला ।
म यहाँ आज ब्रतको मात्र कुरा गर्छु र महिला–पुरुष दुवैलाई भन्छु– हरेक साता ब्रत बसौं प्लिज ।
यो लेख गाउँका आधा पेट खाने वा एक छाक मात्र खाएर सुत्ने व्यक्तिहरूका लागि होइन । गाउँमा खेतमा काम गर्ने किसान, बन्दाबन्दीका बेलामा पनि मजदुरी गरेर घर चलाउने मजदुर परिवारका लागि पनि होइन । न गरिबीका कारण ‘स्वत’ ब्रत बस्नु पर्ने बाध्यता भएकालाई हो ।
यो तपाईं–हामी जस्तो पत्रिका पढ्ने, बन्दाबन्दी बेलामा फिल्म हेरेर समय बिताउने, सहरिया जीवनशैली भएकाहरूका लागि हो ।
विभिन्न धर्ममा ब्रतले स्थान पाएको छ । यस्ता ब्रत कसले लिने, कसले नलिने भनेर कतै खासै बहस हुँदैन । हरेक जात र विश्वासअनुसार कसैले लिन्छ, कसैले लिँदैन ।
मुस्लिम धर्म मान्नेहरू रमादानको बेलामा एक महिनासम्म सूर्य उदाएदेखि नअस्ताएसम्म केही
खाँदैनन् । अर्थात पूरा महिना रोजा (ब्रत) गर्छन् ।
हिन्दु धर्ममा ब्रत बस्ने अवसर धेरै नै छन् । एकादशीदेखि नौरथाको ब्रत, विभिन्न पूजाआजामा, श्राद्धको अघिल्लो दिन एक छाक खाने, चन्द्र ग्रहण, सूर्य ग्रहण, विवाह, व्रतबन्ध बेलामा एक छाक मात्रै अन्न खाएर बसेको पनि ब्रत नै हो । किरियापुत्री बस्दा पनि हरेकका आफ्ना चलनअनुसार खान्छन् ।
लिनेले अझ हरेक हप्ता कहिले दूध मात्र खाने, कहिले रस मात्र वा फलफूल मात्र खाने वा नुन नखाने, कतिले त शुक्रबार सन्तोषी माँको ब्रतमा गुड र चना खाने तर अमिलो नखाएर एक छाक शुद्ध तरिकाले पकाएको भात नै खान्छन् । तुलसीको पूजा गर्ने दिन हरिवोधीनी एकादशीमा ब्रत गरिन्छ । साउनमा प्रत्येक सोमबार शिवजीलाई खुसी पार्न ब्रत गरिन्छ ।
ब्रतलाई संस्कृति र धर्मसँग जोडिएपछि त्यो जीवनको अभिन्न अंग बन्न पुगेको छ । विभिन्न समयमा लिने ब्रतहरूका बारेमा खासै चर्चा नभए पनि ‘तीज ब्रत र लोग्नेको खुट्टाको पान’ पिउने कुराले अहिले धेरै चर्चा परिचर्चा पाएको छ । लोग्नेको दीर्घ आयु होस् भनेर श्रीमतीले ब्रत बस्नाले लोग्नेको आयु बढ्दैन भन्ने तथ्य सबैले बुझे पनि ‘संस्कृति’ का नाममा त्यो ब्रत लिइन्छ नै ।
ब्रत लिनु आफैंमा आपत्तिको कुरा होइन । अझ सकिन्छ भने हुने–खानेले त हरेक हप्ता अनेक बहानामा ब्रत लिए हुन्छ । स्वास्थ्य राम्रो हुन्छ ।
ब्रत बस्नु भनेको अनुशासनमा बस्नु हो । पेटलाई केही समयका लागि आराम दिनु हो । ब्रत बस्दा पानी पर्याप्त पिउनुको अर्थ शरीरमा भएका विषालु तत्व शरीर बाहिर निस्कनु हो ।
ब्रतको महिमा धेरै छ । सन् २०१६ मा एक जापानी वैज्ञानिकले ब्रत बस्दा शरीरमा कसरी विभिन्न प्रतिक्रिया भएर विषालु तत्वहरू निकाल्ने प्रक्रिया हुन्छ र यसले शरीर स्वस्थ राख्न मद्दत गर्छ भन्ने देखाए । जुन कुराका लागि ती जापानी वैज्ञानिकले नोबेल पुरस्कार पाए । त्यसको दार्शनिक पक्षलाई ध्यानमा राखेर हाम्रा पूर्खाले ब्रतलाई जीवनमा ढालेका रहेछन् ।
रमादानमा एक महिनासम्म ब्रत बस्दा कस्ता–कस्ता फाइदा हुन्छ भनेर अनेक वैज्ञानिकले गरेको अनुसन्धान देखाएका छन् । ब्रत गर्दा आन्द्रालाई आराम मिल्छ र यो बेलामा शरीरमा भएका विषादी बाहिर निकाल्न मद्दत गर्छ ।
तौल, युरिक एसिड बढी भएर खुट्टाका बुढी औंला सुन्निएर हिँड्नै नसक्ने मेरा एक परिचित हप्तामा दुई दिन आइतबार र बिहीबार २४–२४ घन्टा ब्रत बस्न थाले । त्यो दिन उनले पानी मात्र खाएर ४ महिनामा उनको तौल ६ किलो घट्यो । युरिक एसिड कम भएर दुखाइ पनि हरायो । अहिले त उनी हप्तामा एक दिन ब्रत बस्नेबाहेक आजकालको ‘१६ घन्टा नखाने’ ब्रत पनि बस्छन् । कहिले कहिले फलफूल मात्र खान्छन् । कहिले दूध खान्छन् । उनको स्वास्थ्य राम्रो भएको छ ।
उनले यसरी ब्रत बसेको कुनै ’भगवान’ का लागि भने होइन ।
‘त्यो भगवान चाहिँ मेरो शरीरमा नै छन् । शरीर नदुखेपछि भगवान पनि खुसी हुँदा रहेछन् । मेरो मनमा पनि शक्ति छाएको छ,’ उनी भन्छन् ।
अर्थात उनले हाम्रो हिन्दु संस्कृतिको ‘ब्रत’ बस्ने प्रक्रियालाई कुनै बन्धनमा नबाँधी आफ्नो शरीर र मन स्वस्थ रहोस् भनेर ब्रत बसेका छन् ।
पोषणविदहरू भन्छन् विभिन्न नसर्ने रोगहरूमा पनि कम खाने, ब्रत बस्ने योगासन र व्यायाम गर्ने कार्यक्रमले सघाउ पु¥याउँछ ।
कतिपय पेटसम्बन्धी समस्यालाई आयुर्वेद अस्पतालमा कार्यरत बैद्यहरूले पनि खाना कम ख्वाएर वा ब्रत गराएर विभिन्न समस्या समाधान गर्न कोशिस गर्छन् ।
बन्दाबन्दीका बेला कति व्यक्तिहरूले विभिन्न कारणले एक छाक मात्र पकाएर खाए । यसरी गर्दा त उनीहरूको तौल घटेको कुरा पनि प्रकाशमा आएको छ । ब्रत बस्न नहुने कतिपय अवस्था पनि छ । ती अवस्था बाहेक एक स्वस्थ व्यक्तिले सके हरेक हप्ता, न सके हरेक महिना ब्रत बसौं प्लिज !
स्रो.ः सेतोपाटीअनलाईनबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *