
काभ्रे, १४ असोज – भारतीय सहयोगमा काभ्रेका विभिन्न ठाउँमा निर्माणसम्पन्न भएका ६ वटा विद्यालयको बुधबार उद्घाटन भएको छ । पूर्वसूचना तथा प्रविधिमन्त्री गोकुल बाँस्कोटा, भारतको विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–१ का सांसद गंगाबहादुर तामाङ तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुवप्रसाद शर्माले विद्यालयहरूको संयुक्त उद्घाटन गरेका हुन् ।
भारत सरकारको पुनर्निर्माण अनुदान सहयोगअन्तर्गत ६ वटा विद्यालयहरू १९ करोड ७० लाख रुपैयाँ लागतमा निर्माण भएका हुन् । उद्घाटन कार्यक्रममा भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (शिक्षा), जिल्ला आयोजना कार्यान्वयन एकाइ काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा सरोकारवालाहरू सहभागी थिए ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्डअनुरूप आजाद मावि बनेपा, भगवती मावि पाँचखाल, आजाद मावि पाँचखाल, दुग्धेश्वर मावि पाँचखाल, शारदा मावि पनौती, खाँडादेवी मावि चौरी देउरालीको भौतिक संरचना निर्माण हालै सम्पन्न भएको हो । यी सबै विद्यालयमा दुई हजारभन्दा बढी विद्यार्थीहरूले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउने भारतीय राजदूतावासले विश्वास गरेको छ ।
नेपालका आठ जिल्लामा भूकम्पले क्षति पुर्याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले पाँच करोड अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको थियो । यी विद्यालयहरू पनि यसै योजनाअन्तर्गत निर्माण भएको भारतीय राजदूतावासले जनाएको छ । यसरी लाभान्वित हुने आठ जिल्लाहरू गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ र काठमाडौं छन् । हालसम्म १४ वटा विद्यालयहरूको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको भारतीय राजदूतावासले जनाएको छ ।
कार्यक्रममा श्रीवास्तवले ६ वटा विद्यालयहरूले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तबरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए । उनले भने, ‘पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रूपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएको छ ।’
बुधबारै, काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमिपूजन कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य क्षेत्रमा १३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रूपमा रहेको छ । सात करोड ५० लाख रुपैयाँ लागतमा प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५ हजार जनसंख्यालाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरू प्रदान गर्नेछ ।
नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २५ करोड अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०,००० घरहरू, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनस्र्थापना र प्रवलीकरण भइरहेको भारतीय राजदूतावासले जनाएको छ ।

