
काठमाडौं, असाेज ११ – आफ्नो देशको सिमाना चीनले अतिक्रमण गरेको देख्दादेख्दै पनि स्थलगत अध्ययन कार्यदलले आँखा चिम्लेको छ । हुम्लाको नाम्खा गाउँपालिकाको लिमी लाप्चादेखि हिल्सासम्म चीनसँग सीमाना जोडिएको क्षेत्रको स्थलगत अध्ययन गर्न गठित कार्यदलले गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको प्रतिवेदनमा यथार्थ कुरा लेख्न समिति सदस्यहरू डराएका छन् ।
प्रतिवेदनमा सीमालगायतका द्विपक्षीय विषयहरु संयुक्त निरीक्षण समूह, संयुक्त विज्ञ समूह र संयुक्त निरीक्षण समितिमार्फत् समाधान गर्न सुझाव प्रस्तुत गरे पनि कति भूमि चीनले मिचेको भन्ने लेख्न हात काँपेको स्रोतले जनाएको छ ।
प्रतिवेदनमा सिमानामा लगाइएको मार्कर र पिल्लरको अवस्था ठीक रहेको उल्लेख गरेको बताइन्छ । तर, हुम्लासँग जोडिएको सिमानाको १० (टेन)ं यार्डस् (दशगजा) क्षेत्रका केही ठाउँमा जाली राखेको जस्तो देखिएको संकेत गरिएको छ । त्यो जाली के हो ? कहाँ राखिएको हो ? के प्रयोजनको लागि भन्ने केही पनि नखुलाइएको मन्त्रालय स्रोतले बतायो ।
जबकि लाप्चामा चीनले भौतिक संरचना निर्माण गरेको देखिएको कांग्रेस नेता जीवनबहादुर शाहीले बाहिर ल्याएका थिए । चीनले नेपालको भूमि मिचेको भन्दै कांग्रेस उपसभापति विमलेन्द्र निधिले कुरा उठाएपछि भदौ १६ गतेको क्याबिनेट बैठकबाट कार्यदल गठन भएको थियो ।
कार्यदलले दिएको प्रतिवेदनमा सो क्षेत्रको भौगोलिक, सामाजिक, सांस्कृतिक, भौतिक पूर्वाधारलगायतका विषयलाई समेटेको तर किटानीसाथ केही पनि नबोलिएको स्रोतले बताएको छ । (मिडिया डबली)

