Monday, March 9सत्यम खबर
Shadow

मंगलबारसम्म निषेधाज्ञा जारी, निषेधाज्ञा तोड्ने २४ जनालाई कारवाही

नेपालगन्ज, २४ श्रावण – बाँके जिल्लामा कोभिड–१९ संक्रमितहरुको संख्यामा बृद्धि भईरहेको अवस्थालाई मध्यनजर गर्दै संक्रमणको गति र फैलावटलाई न्यूनिकरण गर्न मिति ०७७ श्रावण २७ गते मंगलबार राती १२ बजेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम बाँके जिल्ला भर ०७७ श्रावण १७ गते शनिबार राती १२ बजेदेखि मिति ०७७ श्रावण २४ गते शनिबार राती १२ बजेसम्मका लागि जारी गरिएको निषेधाज्ञालाई कोभिड–१९ संक्रमणको वर्तमान अवस्थाको समिक्षाका आधारमा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको २३ गतेको बैठकबाट ०७७ श्रावण २७ गते मंगलबार राती १२ बजेसम्म निरन्तरता दिने भनिएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाको चार किल्ला भित्रको क्षेत्रको हकमा मिति ०७७ श्रावण २४ गते राती १२ बजेदेखि ०७७ श्रावण २७ गते मंगलबार राती १२ बजेसम्म स्वास्थ्य, सुरक्षा, एम्बुलेन्स, शववाहन, दमकल बाहेकका सम्पूर्ण सवारी साधन, पसल व्यवसाय सञ्चालन र हिडडुलमा समेत पूर्णतया निषेध (एरिया सील) गरिएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
सील गरिएको एरियामा सुर्खेत रोडलाई बाहिर पारेर पुष्पलाल चोकदेखि गणेशमान चोकसम्म, गणेशमान चोकबाट चारबाहिनी चोक, पिपलचौतारा हुँदै बाँके गाउँसम्म, बाँके गाउँदेखि रिङरोड, आर्मी ब्यारेक हुँदै नहरपुरुवा चोकसम्म, नहरपुरुवा चोकदेखि बसपार्क रोड हुँदै पुष्पलाल चोकसम्मको चार किल्ला भित्रको क्षेत्रमा पूर्णतया निषेध गरिएको जारी सूचनामा जनाइएको छ । जिल्लामा कोरोना संक्रमितको संख्या पाँच सय ४७ पुगेको छ ।
यसैगरी, जिल्लामा लकडाउन उल्लंघन गर्ने १ सय ७२ सवारी साधन र मास्क नलगाउने २४ जना कारवाहीमा परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार शनिबारसम्म विभिन्न क्षेत्रबाट निर्देशनको अवज्ञा गर्नेहरूलाई कारवाही गरिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणका लागी नेपाल सरकारले गरेको निर्णय अनुसार प्रहरीले लकडाउन उल्लघङ्न गर्ने १ सय ७२ सवारी साधनबाट १७ हजार २ सय र मास्क प्रयोग नगरी हिड्ने २४ जना जना पुरुषबाट २ हजार ४ सय रूपैयाँ गरी १९ हजार ६ सय जरिवाना समेत असुल गरेको जनाएको छ ।
जिल्लामा निर्देशनको अवज्ञा गर्ने धेरै बढेपछि प्रहरीले त्यस्तालाई कारवाही गर्ने अभियान नै शुरू गरेको जनाएको छ ।
यसैगरी, बाँकेमा शुक्रवारसम्म थप चार जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । सुशील कोइराला प्रखर क्यान्सर अस्पताल आइसोलेशनबाट कोहलपुर ९ की ४१ र ४७ वर्षीया महिला तथा नेपालगन्जको आदर्शनगर आइसोलेशनबाट नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का १८ बर्षीय पुरुष र नेपालगन्ज कै वडा नम्बर ११ का ४० बर्षीय पुरुष कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
योसँगै बाँकेमा कोरोनाबाट निको भएर घर फर्कनेको संख्या ३ सय ९८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जनाएका छन् । अब आइसोलेशनमा बाँकेका ९८ जना र बाहिरी जिल्लाका ४ जना गरी १ सय २ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *