नेपालगन्ज, २४ श्रावण– नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न निर्माण स्थानको विवादित स्थान मध्ये एक फुल्टेक्रा चोक पनि रहेको विगतदेखि सबैलाई सर्वविदितै रहेको छ । विगत वर्षमा एडिबि परियोजना मार्फत नेपालगन्ज उपमहानगरपालिकाको विभिन्न स्थानमा बाटो, नाली, नाला निर्माण कार्यसगै फुल्टेक्रा चोकको वरिपरि समेत निर्माण कार्य सम्पन्न गरिएको थियो ।
तर चोकसम्म पुग्दा केही विवाद उत्पन्न हुदा सो स्थानमा निर्माण कार्यलाई थाती राखी विवाद समाधानपछि निर्माण कार्य गरिने एडिबिले सार्वजनिक गरिसकेको सबैलाई जानकारी भएको कुरा हो । वर्तमान अवस्थामा पुनः सोही विवादित स्थानमा एडिबिले निर्माण कार्य सञ्चालन गर्दा पुनः विवाद उत्पन्न भएको पाईन्छ । विवाद हेर्दा सामान्य जस्तै देखिएको हो तर कानुनी रुपमा कसैलाई काखा कसैलाई पाखा गर्न नमिल्ने भएको हुँदा स्थानीय वडाबासीहरुले सबैलाई एउटै मापदण्ड अनुसार निर्माण कार्यमा सहयोग गर्नु पर्ने बताउँछन् ।
वडाबासीहरुका भनाई अनुसार पुरैनी जाने बाटो तिर ११ मिटर, पुरैना जाने बाटोतिर ११ मिटरको मापदण्ड अनुसार सबैले आ–आफ्नो घर तोडी बाटो निर्माणमा सहयोग गरिसकेका छन् तर फुल्टेक्रा चोकमा २२ मिटर मापदण्ड रहेको सो अनुसार नगरि २० मिटरमा नाली निर्माण गरिसकिएको त्यस निर्माण कार्यमा हामी बाध्यतावस सहमत भएपनि २० मिटर मापदण्ड भित्र समेत फुल्टेक्रा चोकमा रहेको सन्तोष सोनी, बिपिन रेग्मी र नारायण बर्माले आ–आफ्नो घर नतोडेको हुँदा निर्माण कार्य स्थगित गर्नु परेको बताउछन् ।
यसबारे बिपिन रेग्मीले भन्नुहुन्छ– ‘म घर तोड्न तयार रहेको छु तर अगाडी केही भागमा एक वा डेढ फुट मात्र तोड्नु पर्ने भएको हुँदा सो नतोडिने सहमति गरी बाँकी भाग तोडी निर्माण कार्यमा सहयोग गर्नेछु’ बताउनु भयो ।
रेग्मीको भनाईलाई स्थानीय वडाबासीहरुले चुनौतीको रुपमा लिने गरेका छन् । वडाबासीहरुको भनाई अनुसार यदि रेग्मीको भनाई अनुसार निर्माण कार्य गर्ने हो भने नगरको विभिन्न भागमा गरिएको निर्र्माण कार्य हालसम्म समेत नहुने थियो होला । सबैले मापदण्ड अनुसार निर्माण कार्यमा सहयोग गरेको हुँदा वडा नं. ६ को मुटु मानिने फुल्टेक्रा चौकमा रहेका विवादित तीनै जनाले निर्माण कार्यमा सहयोग गर्नुपर्दछ । त्यसो नगरेको अवस्थामा उनीहरुको सरकारी सेवा विद्युत, पानी, टेलिफोन, खानेपानी, पानी निकास जस्ता सेवा सुविधा बन्द गर्नु पर्दछ भनी विरोध जनाए ।