
मिति २०७८ भाद्र २८
विद्रोही
तालिबानी सोचका व्यक्ति मात्र अफगानिस्तानमा सीमित छैनन् बरु यो तालिबानी सोचका व्यक्तिहरु विभिन्न धर्म सम्प्रदायमा विश्वभरी नै छन् । फरक यति छ अफगानिस्तानका तालिबानीहरु खुलेआम महिलाको उत्पीडन गर्छन् अन्यहरु लुकिछिपी ढंले महिलाको उत्पीडन गर्छन् । यस्तो तालिबानी सोचका व्यक्तिहरुसँग दशकौंदेखि यहाँ नेपालगन्जमा एक जना महिला अधिकारकर्मी दैनिक रुपमा संघर्ष गर्दै आएकी छिन् । उनी महिला अधिकारकर्मी हुन् महिला अधिकार मञ्च बाँकेकी महिला अधिकारकर्मी रुबी खान ।
महिलामाथि अन्याय, अत्याचार, उत्पीडनको घटना घट्दा उनी सडकबाट संघर्ष चर्काउँछिन् र उत्पीडित महिलाहरुलाई न्याय दिलाउँछिन् हरेक समय रुबी खान यस्तै सडकमा प्लेकार्ड बोकेर हिँड्छिन् । यस्तो संघर्ष गर्दा समय उनी प्रहरीको दुव्र्यवहार पनि झेल्ने गर्छिन् । यस्तै प्रकारले प्रहरीले २७८ श्रावण महिनातर्फ अधिकारकर्मी रुबी खानसँग दुव्र्यवहार गरेको घटना पाइन्छ । बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. २ बेलभार अन्तर्गत रहेको नेवाजी गाउँ बस्ने नन्कुन्नी धोबीलाई उनीका श्रीमान राम कुमार धोबी, जेठाजु इतवारी धोबी लगायत मिलेर दाइजोको कारण उनीलाई पासो लगाई झुण्ड्याएर हत्या गरे ।

विद्रोही
उनीको उत्पीडन यहींसम्म मात्र थिएन पहिले घरबाट निकाला गरे, पछि जोगागाउँ प्रहरी चौकीको पहलमा मिलापत्र गरी घरमा बस्न लगाइयो पछि पीडकहरुले नन्कुन्नी धोबीलाई सेल्फास ट्याब्लेट खान दबाव दिँदै निर्मम ढंगले कुटपीट गरेर उनीको हत्या गरी दिए । यस समय मृतक महिलालाई न्याय दिलाउन र दोषीहरुमाथि कडा कारवाही हुनुपर्ने माग गर्दै जिल्ला प्रहरी कार्यालयमा किटानी निवेदन दर्ता गराउन महिला अधिकार मञ्चको टोली त्यहाँ पुग्यो यस समय प्रहरीले उनीको किटानी निवेदन दर्ता गरेन बरु अधिकारकर्मी रुबी खानलाई प्रहरी कार्यालयबाट धकेली बाहिर पठायो । न्याय नपाएपछि महिला अधिकार मञ्चले एक होटलमा प्रेस सम्मेलनको आयोजना गरी न्यायको लागि संचारकर्मीहरुलाई गुहा¥यो ।
अहिले भर्खरै एक जना महिला निर्मला कुर्मीको पहिले अपहरण र शरीर बन्धक गर्दै ज्यानले मारिएको घटना सार्वजनिक भएको छ । नेपालगन्ज उमनपा वडा नं. १७ परसपुरमा रहेकी विधुवा महिला निर्मला कुर्मीको अपहरण तथा शरीर बन्धक गरेपछि यस घटनाको छानबीन गर्न दोषीहरुलाई पक्राउ गरि दण्ड सजायँ दिलाउन २०७८ श्रावण ५ गते राती घरेलु हिंसाबाट पीडित महिला ज्यानबाट मारिएको मुद्दा मिति २०७८ श्रावण ६ गते ज्यान सम्बन्धीको कसुरमा मृतकका भाईले लिखित जाहेरी जिल्ला प्रहरी कार्यालयमा लिएर जाँदा एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले निवेदन दर्ता गर्न मानेनन् । यस समय पनि प्रहरीले महिला अधिकारकर्मीहरुसँग अभद्र व्यवहार गरी झूठा मुद्दामा फसाउने धम्की दिइ धपायो ।
अहिले महिला अधिकारकर्मी र पीडितका आफन्तहरु नन्कुन्नी धोबी र निर्मला कुर्मीलाई न्याय दिलाउन २०७८ भदौं १३ देखि ३ बुँदे मागसहित जिल्ला प्रहरी कार्यालयका प्रमुख श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेमाथि कारवाही हुनुपर्ने, घटनाको निष्पक्ष जाँच गरी दोषीहरुमाथि कारवाही हुनपर्ने माग गर्दै प्रत्येक दिन २ घण्टा अनिश्चितकालीन धर्नामा बस्दै आएको देखिन्छ ।
यो धर्ना कार्यक्रम शुक्रवार दिन १३ दिन पूरा गरी सकेको छ । तर तालिबानी सोच राखेकाहरुले उनीको माग तर्फ देख्ने प्रयास गरेका छैनन् । धर्ना दिइनेहरु चाहे पानी परोस् वा प्रचण्ड घाम होस् यसको पर्वाहसम्म गरेका छैनन् । एक दिन न्याय अवश्य मिल्छ । यस कुराको आशा उनीमा अझसम्म कायम छ । महिला अधिकारकर्मी रुबी खान भन्छिन्, न्याय पाउन लामो समयसम्म संघर्ष गर्नुपर्छ । असत्यको पराजय र सत्यको विजय हुन्छ, यस्तो विगत दिनदेखि हुँदै आएको छ । हामी निराश अवश्य छौं तर थाकेका छैनौं न्याय नमिलेसम्म हाम्रो संघर्ष जारी रहन्छ यसको लागि नेपालगञ्जदेखि राजधानीसम्म पैदल यात्रा गर्नु परोस् भने अवश्य जान्छौं केन्द्रमा अमरण बस्ने उनीले बताइन् ।
जिल्ला प्रहरी कार्यालय, बाँकेमा जबदेखि श्याम कृष्ण अधिकारी एसपी भई आएका छन् महिलाप्रतिको उत्पीडन बढेको छ । पासो लगाई हत्या गरिएको शरीरमा नीलडाम देखिएपनि उनी त्यस्ता घटनालाई आत्महत्या गरिएको बताउँदै किटानी निवेदनसम्म दर्ता नभई रहेकोले महिलाको उत्पीडन गर्नेहरु अहिले हौसिएका छन् । त्यता अफगानिस्तानमा महिलाले हात खुट्टाको नंग पालिस लगाउँदैमा उनीको औंला काट्ने तालिबानी राक्षसहरुले महिलाहरुलाई कोर्राले हिर्काउने अपहरण गर्ने, यौन उत्पीडन गर्ने महिलाको काम बच्चा मात्र जन्माउने हो यिनीहरु घरको पर्दामा रहनुपर्छ । यिनीहरुलाई घरबाट बाहिर निस्कन दिनु हुँदैन महिलाले खेलकूद प्रतियोगितामा भाग लिनु हुँदैन भन्दै आएका छन् । अहिले अफगान महिलाहरुले यसको विरोध गर्न सडकमा ओर्लिँदा तालिबानी राक्षसहरु धर्ना जुलुस गरेकी महिलाको घरभित्र पसी पक्राउ गर्न थालेका छन् ।
यहाँ त्यस्तो दृश्यदेखा पर्दैन तर पनि यहाँ महिलाको उत्पीडन कम भने छैन । घरेलु हिंसाको कारण तमाम महिलाको हत्या गरिएको छ यस्तो घटना अझ बढ्दै गई रहेको छ तर त्यस्ता उत्पीडित महिलालाई न्याय दिलाउने पहल कहीं कतैबाट भएको देखिँदैन । यस समय यस्तो लाग्छ कि यहाँ पनि तालिबानी सोचका व्यक्तिहरु कम भने छैनन् तर यस्तो उत्पीडनको घटनाबाट रुबी खान जस्तो महिला अधिकारकर्मीको मनोबल घटेको देखिँदैन । जति जति उत्पीडनको घटना बढ्दै गएको छ त्यति त्यति उनीमा साहस र आक्रामकता पनि बढ्दै गएको छ ।

