
साहिल शेषराई (ताहिर)
जानकी, २५ भाद्र – जानकी गाउँपालिका मातहतका सम्पुर्ण विद्यालयहरु भौतिक उपस्थितिमा शुक्रबारबाट सञ्चालन भएको छ । बढ्दो कोरोना संक्रमणका कारण लामो समयदेखि बन्द भएका विद्यालयहरुलाई शुक्रबार (२५ गते) बाट भौतिक रुपबाटै पुनः सञ्चालन गर्नका लागि गाउँपालिकाले अनुमति दिएको हो ।
डिसिएमसिको बैठक अनुसार भौतिक उपस्थिति मै कक्षा सञ्चालन गर्न पाउने गरि निर्णय गरेको थियो । सोही बमोजिम गाउँपालिकाले शुक्रबारदेखि विद्यालय सञ्चालन गर्न निर्णय गरेको छ ।
मंगलबार (भाद्र २२ गते) शिक्षा समितिको बैठकको निर्णय अनुसार २५ गतेबाट विद्यालय सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय भएको र सूचना समेत सबै विद्यालयमा पठाएको शिक्षा, युवा तथा खेलकूद शाखा अधिकृत प्रतिभा ओली खड्काले बताउनु भयो ।
कोभिड-१९ को संक्रमणम दरमा कमि आएकोले स्मार्ट लकडाउन २०७८ कार्यविधी अनुसार नियमित पठनपाठन पाठ्यक्रम समायोजन ढाँचा २०७७ अनुसार सञ्चालन गर्न आवश्यक स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने शर्त राखिएको छ । विद्यालय सञ्चालन अवधिमा कक्षा कोठाको अभावका कारण मा. वि का हकमा दुई सिफ्टमा पठनपाठन सञ्चालन गर्न सकिने बिज्ञप्तिमा उल्लेख छ ।
गाउँपालिका मातहतका विभिन्न वडामा २४ वटा सामुदायिक, १४ वटा मदरसा, १ वटा गुरुकुल, १८ वटा सामुदायमा आधारित बालविकास केन्द्रहरु र ८ वटा संस्थागत विद्यालय गरी कुल ६५ वटा शिक्षण संस्था रहेका छन् । भने विद्यार्थीलाई असोज १ गतेदेखि लागू हुनेगरी सम्पुर्ण विद्यालयले (०.५) दिवा खाजा कार्यक्रमलाई पुनः कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ ।