Wednesday, March 12सत्यम खबर
Shadow

हृदयेश त्रिपाठी नयाँ पार्टी खोल्दै

नेपालगन्ज, ११ भाद्र – तराई–मधेस लोकतान्त्रिक पार्टीका पूर्वनेता नेता एवम् वर्तमानमा स्वतन्त्र सांसद पूर्वमन्त्री हृदयेश त्रिपाठी नयाँ राजनीतिक दल निर्माणमा जुटेका छन् । नयाँ राजनीतिक दल निर्माणका क्रममा उनी बाँकेको नेपालगन्जमा भ्रमण गरिरहेका छन् ।
‘नयाँ राजनीतिक दल निर्माणको अन्तिम तयारीमा छु, राष्ट्रव्यापी समेट्ने गरी राजनीतिक दलको निर्माण हुनेछ’, त्रिपाठीले भने । गठन हुने पार्टीले हालको संविधानको प्रस्तावनालाई मूल आधार मान्ने र त्यसले किसान केन्द्रित वर्गीय राजनीति गर्ने उहाँले बताउनुभयो ।


अहिले क्रियाशील दलहरू राजनीतिक र सैद्धान्तिक रूपमा विचलननको बाटोमा रहेकाले नयाँ राजनीतिक दल खोल्ने आधार बनेको उहाँले बताउनुभयो । उहाँको साथमा सांसद वृजेशकुमार गुप्ता, पशुपतिदयाल मिश्रालगायत छन् । त्रिपाठी र गुप्ता दुबैजना २०७४ सालको चुनावमा स्वतन्त्र उठेका थिए । तर, एमालेसँग चुनावी तालमेल गर्दा चुनाव चिन्ह सूर्यमा चुनाव जितेका थिए । त्रिपाठीले नवलपरासी १ र गुप्ताले नवलपरासी २ बाट चुनाव जितेका थिए ।
‘मसँग स्वतन्त्र राजनीतिमा विश्वास गर्ने अरू साथीहरू पनि हुनुहुन्छ,’ उहाँले भन्नुभयो, ‘स्वतन्त्र राजनीतिक समूहमा रहेका साथीहरूलाई समेट्ने छु ।’ नयाँ पार्टी निर्माणका लागि उहाँले दस्तावेज तयार पारिसकेको जानकारी गराउनुभयो । अहिले संगठनात्मक संरचना निर्माणका लागि आफू नेपालगन्जमा रहेको बताउनुभयो ।


‘म नेपालगन्जसम्म आइपुगेको छु, पूर्व पनि जानु छ,’ उहाँले भन्नुभयो ।
त्रिपाठीले भ्रष्टाचार र आर्थिक अनियमितता विरूद्ध लड्न पनि नयाँ पार्टी गठनको आवश्यकता देखेको बताउनुभयो ।
‘सामाजिक न्याय, विभेदको अन्त्य तथा संघीयताका विषयलाई नै केन्द्रित गरेर राजनीति गर्छौं,’ उहाँले भन्नुभयो । पार्टीको नाम चयनको क्रममा पनि आफू लागिरहेको उहाँले बताउनुभयो । नयाँ पार्टीका लागि चार–पाँच वटा नाम संकलन भएको उहाँले बताउनुभयो ।
‘दल दर्ता गर्दा कम्तीमा पनि पुरानो नाम नहोस्, नामै फेर्नुपर्ने अवस्था नआओस्,’ उहाँले भन्नुभयो । यस अगावै त्रिपाठी सद्भावना पार्टीमा थिए ।


२०६२/६३ पछि मधेस आन्दोलन हुँदा महन्थ ठाकुरको नेतृत्वमा गठन भएको तराई मधेस लोकतान्त्रिक पार्टीमा त्रिपाठी सहअध्यक्ष थिए । २०७४ सालको चुनावअघि साना–साना ६ वटा पार्टी जोडेर मधेसवादी दलले राष्ट्रिय जनता पार्टी गठन भएपछि ६ जना कै अध्यक्ष मण्डल बनेको थियो । साना पार्टीका नेतृत्वकर्ता सबै अध्यक्ष मण्डलमा समेटिएका थिए ।
आफ्नो पार्टीका अध्यक्ष ठाकुर रहेकाले उनी अध्यक्ष मण्डलमा परेका थिएनन् । त्यसयता उनले तमलोपा छोडेका थिए । सूर्य चिन्हबाट चुनाव लडेपछि त्रिपाठी केपी ओली नेतृत्वको सरकारमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्यमन्त्री बनेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *