
चन्द्रेश्वर राज त्रिपाठी
नेपालगन्ज, ७ भाद्र – समय गतिशिल हुन्छ, सोही समय अनुसार प्रत्येक कणमा परिवर्तन हुने गर्दछ । सोही अनुसार फुल्टेक्रामा समेत परिवर्तन भएको प्रत्यक्ष देख्न सकिन्छ ।
आजभन्दा ६०–७० वर्षअगाडी १०–२० घर भएको फुल्टेक्रामा हाल १३ देखि १५ सय घरधुरी रहेको तथ्यांकले देखाउँछन् । फुल्टेक्रामा धेरै नाम कमाउने व्यक्तिहरुको उत्पादन नभएको पक्कै होइन, डिआईजी, कर्नेलदेखि मन्त्रीसम्म भएका व्यक्तिहरुको बसोबास स्थान हाल फुल्टेक्रामा रहेको पाईन्छ ।
फोटोः सत्यमखबर
बेला–बेलामा यी यावत कुराहरुले गर्दा समेत फुल्टेक्रा चर्चामा आउने गरेको छ । फुल्टेक्रामा भएका सम्पदाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्छ भन्ने आवाज समेत बेला–बेलामा उठ्ने गरेको हुन्छ, समयानुसार त्यसको निकास दिन समेत फुल्टेक्राबासी आफैमा सक्षम रहेका छन् ।
फुल्टेक्राको सम्पदाको कुरा गर्नुपर्दा हाल फत्तेबाल आँखा अस्पताललाई लिन सकिन्छ । जहाँ आफ्नै देशको मात्र नभएर मित्र राष्ट्र भारतबाट समेत हजारौंको संख्यामा आँखा उपचार गर्न आउने विरामीहरुको तथ्य अस्पतालसित सुरक्षित रहेको पाईन्छ ।
फोटोः सत्यमखबर
फत्तेबाल आँखा अस्पतालको प्रबन्धक तथा अधिवक्ता कौशलकुमार बर्माको नेतृत्वमा हाल फत्तेबाल आँखा अस्पतालको स्वरुप नै परिवर्तन भएको हामी प्रत्यक्ष देख्न सक्छौं । उनको चुस्त व्यवस्थापनले हाल फत्तेबाल आँखा अस्पतालको सौन्दर्यकरण गरिएको झलक सबैले एक पटक हेर्नुपर्ने देखिन्छ ।
यसैगरी हाल ब्रेनेज अस्पताललाई लिन सकिन्छ । कानको उपचारमा नाम कमाउन तथा फुल्टेक्रालाई चिनाउन ब्रेनेजले समेत महत्वपूर्ण भूमिका खेलेको पाईन्छ ।
फोटोः सत्यमखबर
यसैगरी पर्यटकीय स्थलको रुपमा हडियाबाबा आश्रमलाई लिन सकिन्छ । बेला बखत हडियाबाबा आश्रमको समेत चर्चा हुने गरेको पाईन्छ । हाल विभिन्न श्रद्धालु भक्तजनहरुद्वारा निर्माण गरिएका मन्दिर, धर्मशालाले झन हडियाबाबाको आश्रमप्रति भक्तजनहरुको आकर्षण हुने गरेको पुजारी सोम गिरीको भनाई रहेको छ ।
वर्तमान अवस्थामा हडियाबाबा आश्रममा नागपञ्चमीमा नागपुजा, प्रसाद वितरण, कन्यापुजा, रुद्रीपुजा, भण्डार, मेला लाग्ने लगायतको गतिविधि हुने गरेको पुजारी गिरीको भनाई रहेको छ ।
फोटोः सत्यमखबर
सोही हडियाबाबा आश्रम भित्र निर्माण गरिएको श्री लक्ष्मी नारायण मन्दिरले समेत श्रद्धालूहरुको आकर्षण तानेको पाईन्छ । जहाँ विभिन्न भगवानहरुको मूर्ति प्राण प्रतिष्ठा गरी स्थापना गरिएको छ ।
यसैगरी फुल्टेक्रा माध्यमिक विद्यालयलाई लिन सकिन्छ । जहाँबाट हजारौं विद्यार्थीहरुले अध्ययन गरी आफ्नो भविष्य बनाएका छन् । आज ती विद्यार्थीहरु राम्रोभन्दा राम्रो पदमा समेत पदासिन रहेको पाईन्छ ।
यसैगरी फुल्टेक्राको अन्य धार्मिक आस्थाका मठमन्दिरहरु समेत फुल्टेक्रालाई चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् ।
फोटोः सत्यमखबर
जसमा मरिमाता माँई थान, जगननाथी थान, काली माँई थान, शिवपार्वती मन्दिर, शिव मन्दिर, विवाहमा दुल्हा घुमाउने कुँवालगायत रहेका छन् । यी सम्पदाहरुले गर्दा फुल्टेक्राबासीहरुको अस्तित्वलाई अझ सुनमा सुगन्द झै फैलाउन सहाय भएको पाईन्छ ।
यसैगरी वर्तमान अवस्थामा सबभन्दा बढी चर्चाको रुपमा फुल्टेक्राको एतिहासिक ताललाई लिन सकिन्छ । त्यस छेउछाउमा रहेका बुर्जुगहरुको भनाई अनुसार करीब १०० वर्षभन्दा बढी त्यस तालको अस्तित्व रहेका बताउँछन् । जहाँ पहिले पुरईन पात, कमलको फुल तथा छेउछाउको स्थानबाट जनावरहरु आएर घास चरन गर्ने र पानी खाने गर्दथे भने स्थानीय कुम्हार वर्गका व्यक्तिहरुले त्यहाँबाट माटो निकाली विभिन्न प्रकारका भाडाहरु निर्माण गर्ने गरेको भनाई राख्छन् ।
फोटोः सत्यमखबर
हाल केही समय अगाडी आफ्नो राजनीतिक स्वार्थको लागि त्यस ताललाई विभाजन गर्ने कार्य गरिएको थियो । जसमा कुनै एक धर्म विशेषलाई ६० कठ्ठा जग्गा छुट्टाईएकोप्रति फुल्टेक्राबासीहरुले आपत्ति जनाउँदै अदालतसम्म पुगेका छन् ।
सोही विषयमा अदालतले अन्तरीम आदेश दिंदै तालको स्वरुपमा परिवर्तन नहुने गरी संरक्षण गर्न आदेश समेत दिएको तथ्य रहेको पाईन्छ ।
हाल सोही तालमा गमक्क कमलको फुल फुलेको देखेर फुल्टेक्राबासीहरु रमाउने गरेका छन् । तालको छेउछाउमा बस्ने स्थानीयहरुको भनाई अनुसार बिहान उठ्ने बेलामा सिरसिरे उजालो भएको बेलामा फुल्टेक्राका तालको मनोरम दृश्य देख्दा हामीलाई कुनै पर्यटकीय स्थल जस्दै देखिन्छ भन्ने भनाई राख्छन् ।
फोटोः सत्यमखबर
वर्तमान अवस्थामा फुल्टेक्राका युवाहरु समेत सक्रिय भएका छन् । हाल फुल्टेक्राको चतर्फी विकासका योजनाहरुलाई लिएर स्थानीय पर्यटकीय स्थल हडियाबाबा आश्रममा चर्चा, छलफल समेत हुने गरेको दिलीप रेग्मी बताउँछन् ।
स्थानीय दिलीप रेग्मीका अनुसार फुल्टेक्राका ताललाई अदालतले दिएको निर्देशन अनुसार संरक्षण गर्नु पर्दछ र स्थानीयहरुको सुझाव अनुसार डिपिआर तयार गरी त्यसमा बच्चाहरुको लागि पार्क, बुर्जुगहरुको लागि ग्रिन पार्क, बीच भागमा ताल तथा त्यसको तारैतिरबाट बनाई बिहान सबैलाई मोर्नि· वाक गर्न मिल्नेतर्फ सम्बन्धित पक्षको ध्यान अब आउने दिनमा केन्द्रित हुनुपर्दछ भनी बताउनुभयो ।
नेपालगन्ज उपमहानगरपालिकाले त्यसको संरक्षणका लागि ईट्टा वाल लगाउने भनी छुट्टाएको बजेट ईट्टा वाल मात्र नभई चौतर्फी विकासको योजनासहित संरक्षण गर्नुपर्ने तर्क राख्छन् ।
हाल जनप्रतिनिधि निर्वाचित भई आएदेखि थप फुल्टेक्राले विकासका गति लिएको समेत स्थानीयहरुको भनाई रहेको पाईन्छ । बाटो, नाला, नाली, शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा वडाले कार्य गरेको बताउँछन् ।







