Tuesday, April 21सत्यम खबर
Shadow

प्रधानमन्त्री देउवासँग उपप्रमुख मगरको भेटघाट

नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले सोमबार प्रधानमन्त्री शेरवहादुर देउवासँग भेटवार्ता गर्नुभएको छ ।
प्रधानमन्त्री देउवासँग भएको भेटवार्तामा आफुले नेपालगन्जको विकास निर्माण लगायतका सम्वन्धमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उपप्रमुख थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुलुकको पछिल्लो राजनीतिक अवस्थासँगै बाँके जिल्लाको विकास निर्माणका सन्दर्भमा सम्माननीय प्रधानमन्त्रीज्यूसँग कुराकानी भएको छ, उपप्रमुख थापाले भन्नुभयो, प्रधानमन्त्रीले गम्भिरताका साथ समस्या समाधानका लागि चासो लिनुभएको पाइएको छ ।


भेटघाटमा उप–प्रमुख थापाले अहिलेको राजनीतिक अवस्था र नेपालगन्ज नगरका विभिन्न योजनाका बारेमा प्रधानमन्त्री देउवालाई जानकारी गराउनुभयो ।
थापाले विशेषगरी नेपालगन्जको रिङरोड, उप–महानगरपालिकाले संचालन गर्ने छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तरउन्नति, अन्तर्राष्ट्रिय क्रिकेट मैदान, हालै बन्दै गरेको नाथम कलेज जाने बाटो कालोपत्रे र नगरका बाँकी रहेका भित्री सडक स्तरउन्नती लगायतका योजना समेट्नु पर्ने माग प्रधानमन्त्री समक्ष राखेको बताउनुभयो ।
उप–मेयर थापाको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले आफूले पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बाँके जिल्ला र नेपालगन्जका योजनाको विषयमा आफू जानकार रहेको भन्दै सरकारले योजना कार्यान्वयन र सम्पन्न गर्नका लागि प्राथमिकता दिने आश्वासन दिनुभएको छ ।
नेपाली काँग्रेसकी नेतृ समेत रहनुभएका उपप्रमुख थापाले सरकारका अन्य मन्त्री तथा सचिवहरुसँग समेत भेटेर नेपालगन्जको विकास निर्माणका बारेमा छलफल गर्ने बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *