
डुडुवा, १४ श्रावण – डुडुवा गाउँपालिकाले स्वास्थ्य सेवाको थप प्रभावकारिता तथा गुणस्तरियता बढाउनका लागि आगामी वर्षको कार्ययोजना तथा रणनीति निर्माण गरेको छ ।
गाउँपालिका स्वास्थ्य शाखाद्धारा आज विहीबार आयोजित आर्थिक वर्ष २०७७/०७८ को वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा उक्त स्वास्थ्य सेवाको स्तरबृद्धि लगायतका विषयमा सुधार गर्न आगामी कार्ययोजना निमार्ण गरिएको हो । गाउँपालिकामा ‘जेष्ठ नागरिकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम’ सञ्चालनको कार्यक्रमलाई यस वर्षदेखि विशेष अभियानको रुपमा सञ्चालन गरिएको छ ।
गोष्ठीबाट विषेश गरि गाउँपालिकाले सञ्चालन गर्दै आएको स्वास्थ्य सेवा अभियानका कार्यक्रमलाई थप निन्तरता दिंदै, आमा सुरक्षा, सुरक्षित मातृत्व, खोप, गाउँघर तथा खोप किल्निक सुधार तथा पुर्वाधार व्यवस्थापन लगायतका विषयमा आगामी वर्षका लागि रणनीति निर्माण गरिएकोे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा अझै पनि अशिक्षित नागरिकहरुको बसोबास भएकाले स्वास्थ्थ तथा सरसफाइमा विशेष ध्यान दिंदै कार्यक्रम सञ्चालन गर्नुपर्ने देखिन्छ ।
पालिकाले आर्थिक वर्ष २०७८÷०७९ का लागि स्वास्थ्यमा करिव दुई करोड रुपैयाँ छुट्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार घरघरमा स्वास्थ्य कार्यक्रम, आमा सुरक्षा कार्यक्रम, ल्याब स्थापना र सञ्चालन, बेतहनीमा इमरजेन्सी स्वास्थ्य सेवा सञ्चालन रहेका छन् ।
गाउँपालिकाले स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखी स्वास्थ्य सेवा प्रदान गर्दै आएको र यो सेवाले यहाँका नागरिकलाई निकै मद्दत पुर्याएको अध्यक्ष चौधरीले बताउनुभयो । कार्यक्रममा गतवर्षको बार्षिक प्रगति विवरण गाउँपालिकाका ६ वटै स्वास्थ्य चौकीका इन्चार्जहरुले आ आफनो प्रस्तुतीकरण गरेका थिए । प्रस्तुतीकरणपछि छलफल गरि आगामी कार्ययोजना तथा रणनिति निर्माण गरिएको छ ।
गोष्ठीमा वडा नं. १ का अध्यक्ष पटेश्वर कुर्मी, कार्यपालिका सदस्य लिलावति यादव, रिता परियार, कमला शाही वडा सदस्यद्धय झुठुवा थारु र आमोद तिवारी, प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्यायले बोल्नु भएको थियो । गोष्ठीमा स्वास्थ्य चौकी इन्चार्ज तथा अन्य स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो ।



