Tuesday, April 21सत्यम खबर
Shadow

कब्रिस्तानको पर्खाल अग्लो पारिएपछि मुस्लिम समुदायमा असुन्तष्टि

– विद्रोही
नेपालगन्ज, ३ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ सल्यानीबाग (सहाबा)मा रहेको मुस्लिम कब्रिस्तानको पर्खाल अग्लो पारिएपछि अधिकांश मुस्लिम समुदायका व्यक्तिहरुमा असुन्तष्टि रहेको छ ।
नेपालगन्जमा रहेको मुस्लिम कब्रिस्तान धेरै नै पुरानो छ । नेपालगन्ज उमनपाभित्र रहेका मुस्लिम समुदायका व्यक्तिको देहान्त हुँदा यहिँ उनीको अन्तिम संस्कार हुने गरेको छ ।


हरेक समुदायको अन्तिम संस्कार गर्ने छुट्टा छुट्टै परम्परा रहेको छ । मुस्लिम समुदायको अन्तिम संस्कार गर्न कब्रिस्तानको पर्खाल धेरै अग्लो हुँदैन यसको कारण छ कि अन्तिम संस्कार गर्ने कार्य सबैले सहज सरल ढंगले देखी यो बोध गरुन् कि एक दिन सबैलाई मर्नुपर्छ र पछि शरीरलाई जमिनमा पुरी नष्ट गरिन्छ । यसलाई सुपुर्दे खाक भनिन्छ । सल्यानी बाग नजीक रहेको मुस्लिम कब्रिस्तानको कार्य वर्षाैदेखि व्यवस्थित ढंगले चल्दै आएको थियो तर दशकौंअघि कब्रिस्तानको भौतिक अवस्था सुदृढ पार्न मुख्य सडक रहेको जमिनमा दर्जनौं शटर बनाई त्यसमा पसल संचालन गर्न भाडामा दिइयो । अहिले कुनै शटर १ हजार, कुनै शटर २ हजार कुनै शटर ३ हजारसम्मको भाडा उठी रहेको छ तर पनि कुनै विशेष प्रगति शटर भाडाबाट भएको देखिँदैन । यसबीच करीब ४–५ महिना अघि कब्रिस्तानको उत्तरतर्फको जमिन केहीहरुले प्लटिंग गरे । यो कार्य यहाँसम्म ठीक थियो तर जब प्लटिंग गर्नेको सहयोग लिई कब्रिस्तानको एल प्रकारको पर्खाल पत्काई त्यसको करीब ३ मीटर जमिन बेपत्ते पारियो र कब्रिस्तानको उत्तरतर्फको पर्खाल अति नै अग्लो पारियो अनि यस्तो कार्यबाट अधिकांश मुस्लिम समुदायका व्यक्ति आक्रोशित बनेका छन् ।
मुस्लिम समुदायको मनमा व्याप्त रहेको आक्रोशबारे यस पत्रिकाले त्यहाँ पुगी सोधपुछ गर्दा नेपाल जडीबुटी व्यवसायी संघका महासचिव रहिस हलवाईले भने, आफ्नो जमिनमा केहीहरुले प्लटिंग गरे यसप्रति मेरो असन्तुष्टि छैन असन्तुष्टि यो छ कि कब्रिस्तानको एल प्रकारको पर्खाल किन भत्काइयो र पर्खाल यति अग्लो किन उठाइयो ? कब्रिस्तान बनाउने परम्परा अनुसार कब्रिस्तानको पर्खाल धेरै अग्लो हुँदैन यो यस कारण कि सबै जना जनाजा (अन्तिम संस्कार) देखुन् र अन्तमा यसै प्रकारले सबैलाई यस संसारबाट विदा हुनुपर्छ सम्झी कोही गलत कार्य नगरुन् सबै इमान्दार बनुन् भन्ने नसिहत मिल्छ तर यहाँ होचो पर्खाललाई अग्लो पारिएको छ । यस्तो कार्य इस्लामी परम्पराको विपरीतमा छ । कब्रिस्तानमा हरामको पैसा लाग्नु हुँदैन पर्खाल अग्लो पार्दा यसमा हरामको पैसा लागेको छ यस कारण सम्बन्धितले मुस्लिम समुदायबाट चन्दा उठाएर वा कब्रिस्तानको जमिनमा बनाइएको शटर पसलबाट त्यति रकम उठाई जसले पर्खाल अग्लो पारी उठाएको छ त्यसलाई रकम फिर्ता जानुपर्छ ।


त्यस्तै नेपालगन्ज मुस्लिम समाज बाँकेका सदस्य सारिक अलीसँग यस पत्रिकाले कुराकानी गर्दा उनले भने, वडा नं. ४ सल्यानीबागमा कतिपय यस्तो स्थान छ जताबाट हिँडडुल गर्न अप्ठेरो छ उदाहरणको रुपमा लिऊँ भने टीबी अस्पतालको वरिपरिको बाटो छ यस्तो बाटोको विकास गर्ने कार्य भएको छैन तर कब्रिस्तानको उत्तरतर्फ एक्कासी पर्खाल भत्काइयो र हतार हतार गरी पर्खाल उठाइयो र अग्लो पनि पारियो यस कारण केही शंकाको उपशंका अवश्य पैदा भएको छ । कब्रिस्तानको ३ मीटर जमिन किन बेपत्ते पारियो कब्रिस्तानको उत्तरतर्फ पीसीसी सडक पनि निर्माण भयो यसको रहस्य के हो पक्कै पनि यसमा अनुचित स्वार्थहरु साधिएको छ यो सडक करीब ८–९ लाखको बजेटबाट निर्माण भएको हो तर सडक बन्दै नै एक हप्तामा नै चर्केको देखिन्छ यस्तो अनियमिततापूर्ण कार्यमा नेपालगन्ज उमनपा कार्यालयको संलिप्तता रहेको अनुमान छ किनकि पश्चिमतर्फ कल्भर्ट पनि निर्माण गरिएको छ जुन कल्भर्ट पुरानो कल्भर्टसँग हचुवा पारामा जोडी निर्माण गरिएको छ । यसरी प्लटिंग गर्ने, वडा नं. ४ समिति, कब्रिस्तान सञ्चालक समितिको एक आपसमा घाँटी जोडिएको पाइन्छ यसको वास्तविक कुरा बाहिर आउनु पर्छ ।
त्यस्तै नेपालगन्ज मुस्लिम समाजका सचिव मेराज हलवाई हिमालयले भने, हामीहरुको असन्तुष्टिहरु धेरै छ तर मुख्य असन्तुष्टि के छ भने वर्तमान समयसम्म कब्रिस्तान सञ्चालक समिति अवैधानिक तवरले चली रहेको छ यससँग कब्रिस्तानको आय व्ययको कुनै हरहिसाब छैन अहिलेसम्म कब्रिस्तानमा जति कामहरु भएको छ यो सबै आवामको चन्दाबाट भएको हो अनि शटर भाडाको रकम खोइ ? प्रतिप्रश्न गर्दै उनले भने कब्रिस्तानको जमिनमा जुन शटर कवल संचालित छ त्यसको भाडा वर्षाैंदेखि १ हजार १५ सय २ हजारभित्र चली रहेको छ । उठाइएको भाडा रकम कहाँ कुन अवस्थामा छ कति छ कसैलाई पनि जानकारी छैन । केहीहरु हजार पन्द्रह सयमा शटर भाडामा लिएका छन् तर सो शटर अर्कैलाई दिइ बढी मूल्यमा भाडा असुलेर खान्छन् यस्तो कार्य चाहिँ गलत हो कब्रिस्तानको आयश्रोत पारदर्शी हुनुपर्छ यो हाम्रो माग हो । कब्रिस्तानको सबै कार्य ठीकठाक ढंगले चलि रहेको थियो भने एक्कासी कब्रिस्तानको पर्खाल किन भत्काइयो र फेरी हतार गरी किन अग्लो पारी निर्माण गरियो, प्लटिंग गर्नेहरुसँग कब्रिस्तान संचालक समितिसँग कस्तो प्रकारको सम्झौता भयो यो कुरा अहिले खुलासा हुनु पर्छ ।
करीब ५–६ वर्ष अघि कब्रिस्तान सञ्चालक समितिले कब्रिस्तानको उत्तरतर्फको ९ का जति जमिन खरीद गरेको थियो यो जमिन खरीद गर्दा समय दर्जनौं व्यक्तिसँग १–१ लाख रकम चन्दा स्वरुप उठाई करीब १ करोड रकमबाट सो जमिन खरीद गरिएको थियो । यस खरीद कार्यमा कब्रिस्तानको जग्गामा संचालित शटर कवलबाट कुनै प्रकारको रकम लिइएको थिएन सम्पूर्ण जमिन खरीद चन्दाबाट भएको कुरा जानकारीमा आएको छ । यसरी कब्रिस्तानको शटर कवलको भाडा रकममाथि चौतर्फी प्रश्न उठ्न थालेको छ । यो कुराको वास्तविक जानकारी सबैलाई मिल्नुपर्ने मुस्लिम समुदायको अपेक्षा रहेको बुझिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *