
नेपालगन्ज, १६ अषाढ – शिक्षकहरुलाई पनि कोरोना विरुद्धको खोप अविलम्ब लगाइनु पर्ने माग गर्दै नेपाल शिक्षक महासंघ नेपालगन्ज नगर समितिले ज्ञापन पत्र बुझाएको छ ।
नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवल शमसेर राणा समक्ष मंगलबार नगर क्षेत्र भित्रका शिक्षक तथा उमेर पुगेका विद्यार्थीहरुलाई पनि कोरोना विरुद्धको खोपको व्यवस्था गराउन मागसहित उक्त ज्ञापन पत्र बुझाएको हो । कोरोनाको बढ्दो जोखिममा शिक्षक लगातार रहदै आएकोले पेशागत दायित्व निर्वहनमा खोपले थप बल पुग्ने बताउँदै शिक्षकहरुलाई अविलम्ब खोपको व्यवस्थाको माग गरिएको जनाइएको छ ।
नगर अध्यक्ष मनोजराजा श्रीवास्तव तथा सचिव केशवराज शर्माको संयुक्त रुपमा हस्ताक्षरित उक्त ज्ञापनपत्र बुझाउँदै सो अवसरमा महासंघ केन्द्रिय सदस्यद्वय द्रोण वली, गणेशा कार्की, प्रदेश सदस्य मीना चन्द, नेपाल शिक्षक परिषद बाँके अध्यक्ष बृजेशबहादुर सिंह, नगरसमितिका पदाधिकारी तथा सदस्यहरुको विशेष उपस्थिति रहेको थियो ।
त्यसैगरी, शिक्षक महासंघ नेपालगन्ज नगर समितिले कोरोनाका कारण देशभरबाट ज्यान गुमाउने दुई सय बढी शिक्षकहरुप्रति शोक समवेदना प्रकट गर्दै मंगलबार साँझ स्थानीय विपी चौकमा मैनबत्ती प्रज्वलित गरेको छ ।
शिक्षक महासंघको राष्ट्रिय कार्यक्रम अनुसार जारी शिक्षक आन्दोलनको चौथो चरण परिचालनका लागि नगर अध्यक्ष श्रीवास्तव कै संयोजकत्वमा १७ सदस्यीय एक आन्दोलन परिचालन समिति पनि गठन गरेको छ ।
आन्दोलनको चौथो चरण अन्तरगत असार १८ गते स्थानीय सरकार समक्ष बिहान १० बजेदेखि १ बजेसम्म धर्ना गर्ने लगायतका कार्यक्रम रहेका छन् । शिक्षकहरुको विभिन्न ३४ बुदेँ माग अझै सुनुवाइ नभएको भन्दै उनीहरु चरणबद्ध आन्दोलनको क्रममा रहेका छन् ।
